‘पहल’-ले कलकत्तालाई बुझायो गोर्खाल्याण्ड : आन्दोलनका नेतृत्वहरूलाई पनि गऱ्यो खबरदारी

प्रज्ज्वल छेत्री

कालेबुङ:  पहल(सांस्कृतिक अभियान) को 13 सदस्यीय टोलीले कलकत्तालाई गोर्खाल्याण्ड आन्दोलन र आवश्यकताबारे बुझाएर फर्किएको छ। पहल टोलीले जाधवपूर विश्वविद्यालय, नदिया जिल्ला, हुगली जिल्ला आदि ठाउँहरूमा गोर्खाल्याण्ड अनि यसको औचित्यमाथि कार्यक्रम गरेर फर्किएको हो। 22 देखि 24 जुलाईसम्म भएको कार्यक्रममा टोलीले गोर्खाल्याण्ड गठनको औचित्यबारे बुझाउँदै गोर्खाल्याण्ड राज्य गठनलाई लिएर कलकत्ताका मानवअधिकारवादी एवं गणतान्त्रिक शक्तिहरूको विचार पनि बुझेर फर्किएको छ।

‘अलग राज्यको माग कसरी जनताको राजनैतिक आकांक्षा हो, किन गणतान्त्रिक सङ्ग्राम हो अनि किन गणतन्त्रका पक्षधरहरूले यसलाई सहयोग पुऱ्याउनु जरूरी छ भन्ने विषयमा अन्तर्क्रिया गऱ्यौँ’-टोलीका प्रमुख टीका भाईले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘कलकत्ताका मानवअधिकावादी एवं प्रगतीशिल बामपन्थीहरू गोर्खाल्याण्डलाई लिएर सकारात्मक मात्र छैनन् तर उनीहरूको समर्थन पनि रहेछ।’

उनका अनुसार सरकार प्रायोजित मिडियाहरूले गोर्खाल्याण्ड आन्दोलनलाई अपव्याख्या गरिरहेका छन्। कलकत्ताका धेरै मानिसहरू अलग राज्यको आन्दोलन एउटा दलमाथि भ्रष्टचारको प्रश्न उठ्ने सम्भावनाको कारण उठेको हुनसक्ने संशयमा थिएछन्। पहलको पक्षबाट उनीहरूलाई गोर्खाल्याण्ड आन्दोलनको वास्तविकताबारे बुझाउने कार्य भएको टीका भाईले बताए।

‘कलकत्ताका धेरै बुद्धिवीजि, राजनैतिक-सांस्कृतिक कर्मीहरूले कलकत्तामा कार्यक्रम आयोजना गर्ने, उनीहरूको क्षमता अनुरूप साथ दिने भएका छन्’-टीका भाईले भने, ‘गोर्खाल्याण्डको समर्थनमा बङ्गाली समाजका गणतन्त्रप्रेमी वुद्धीजीवि, राजनैतिक-सांस्कृतिक कर्मीहरूको हस्ताक्षरसहितको पर्चा-पत्र तयार गरेर कलकत्ताको आम नागरिकहरूमा पुऱ्याउने जस्ता कार्यहरूका निम्ति उनीहरूले सहमति व्यक्त गरेका छन्।’

कलकत्ताका धेरैवटा सङ्गठन एवं व्यक्तिविशेष गोर्खाल्याण्डको समर्थनमा अनि राज्य आतङ्कको विरूद्धमा रहेको कुरा बुझेर फर्किएका पहल टोलीलाई अब गोर्खाल्याण्डका निम्ति देशभरिका गणतान्त्रिक शक्तिहरूको समर्थन जुटाउन जरूरी रहेको छ भन्ने लागेको छ। यसैले अब कलकत्तापछि दिल्लीमा कार्यक्रम गर्ने पहलको योजना छ।

‘यदि अलग राज्यको सङ्ग्रामलाई क्षेत्रीय स्तरदेखि राष्ट्रिय स्वरूपमा विकास गर्ने हो भने भारतवर्षका समग्र गोर्खा जनता लगायत सबै जातीक समूहका गणतन्त्रप्रेमी मानिसलाई यस सङ्ग्रामको समर्थनको निम्ति प्ररित गर्नु पर्दछ’-टिका भाईले भने, ‘गोर्खा जातिले आफ्नो आत्मनिर्णयको अधिकारको सवाललाई उग्र जातिवादी आवेगदेखि मुक्त गणतान्त्रिक सङ्ग्राम बनाएर अघि लैजानु जरूरी छ।’

उनले भत्काउने अनि जलाउने काम गरिनु भनेको आन्दोलनप्रतिको निराशा रहेको बुझिने भन्दै आन्दोलनलाई विध्वंशात्मक होइन तर सृजनात्मक बनाउन आह्वान गरेका छन्।

एकातिर पहलले गोर्खाल्याण्डको निम्ति सांस्कृतिक अभियान चलाइरहेको छ भने अर्कोतिर गोर्खाल्याण्डका नेतृत्वहरूलाई पनि खबरदारी गरेको छ।

‘कुनै पनि राजनैतिक दलले पोलिटिकल माइलेजको निम्ति राजनीति नगरोस्, जनताको त्याग अनि बलिदानको सम्मान होस्’- टीका भाईले सुझाउ दिँदै भने, ‘आपसी मदभेद र सन्देहको साटो वृहतर एकता निर्माण गर्न सामुहिक बाटो र मिल्नसक्ने, सँगै हिँड्न वा सङ्घर्ष गर्नसक्ने, अनुकूल अवस्था सृजना गर्नमा ध्यान केन्द्रित होस्।’

पहल टोलीले वर्तमान आन्दोलनमा राजनैतिक दलहरूले साझा बाटो आत्मसात गर्न आ-आफ्नो झण्डाको साटो साझा सहमतिमा कुनै साझा झण्डा समातेर अघि बढ्न सुझाएको छ। पहलले पश्चिम बङ्गाल सरकारले दमन नीति अप्नाइरहेको भन्दै मानव अधिकार, खाद्यान्न अधिकार, जीवनको अधिकार आदिको हनन गरिरहेको भन्दै भर्त्सना पनि जनाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन