अनशनकारीहरू भन्दैछन्, ‘मर्न तयार छौँ तर सम्झौता हुनु हुँदैन’

प्रज्ज्वल छेत्री

कालेबुङ: ‘मर्न तयार छौँ, तर सम्झौता हुनु हुँदैन’-पिसाबबाट रगत जान थालिसकेको अवस्थामा पुगिसकेका 38 वर्षीय राजु विश्वकर्मले भने, ‘जबसम्म सरकारले न्याय दिँदैन तबसम्म आन्दोलन जारी राख्नुपर्छ।’

38 वर्षीय राजु विश्वकर्मको पिसाबबाट रगत जान थालेको छ। पिसाबबाट रगत जान थालेपछि उनको स्वास्थ्य झनै बिग्रँदै गएको हो। डाक्टरले औषधी लिन सुझाएको भए पनि उनले पानी समेत पिउन अस्वीकार गरिरहेका छन्। आमरण अनशनले 6 दिन पूरा गरिसक्दा कालेबुङ डम्बरचोकमा बसेका तीन अनशनकारीहरू राजु विश्वर्म, सागर दियाली र अजीत रोकाको अवस्था दिनोदिन झनै बिग्रँदै गइरहेको छ। उनीहरूमध्ये अजीत रोका(42) को अवस्था चिन्ताजनक छ। यद्यपि उनीहरूले पानी समेत लिन अस्वीकार गर्दै आइरहेका छन् भने गोर्खाल्याण्डका निम्ति मर्न समेत तयार रहेको कुरा दोहोऱ्याइरहेका छन्।

‘हामी गोर्खाल्याण्डको निम्ति मर्न तयार छौँ, सरकारले गोर्खाहरूको राष्ट्रिय परिचयको निम्ति गोर्खाल्याण्ड गठन गर्नुपर्छ’-छोटो कुराकानीमा राजु विश्वकर्मले भने, ‘जबसम्म सरकारले गोर्खाहरूलाई न्याय दिँदैन तबसम्म आन्दोलन जारी राख्नुपर्छ।’

गोर्खाल्याण्ड निर्माणको निम्ति अन्तिम श्वास रहेसम्म आमरण अनशन जारी राख्ने उनको प्रतिबद्धता छ।

‘हामीलाई राष्ट्रिय परिचयको आवश्यकता छ, त्यो राष्ट्रिय परिचय केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र पुरा गर्नसक्छ’-विश्वकर्मले भने, ‘हामी देशको रक्षा गर्नेहरूलाई अब देशले न्याय दिनुपर्छ, न्यायको निम्ति हामी प्राण त्यागेर शहीद  बन्न पछि हट्दैनौँ।’

तीन अनशनकारीहरूमध्ये सबैभन्दा चिन्ताजनक अवस्थामा रहेका अजीत रोकाले पनि डाक्टरले दबाई लिने आग्रह गरेको भए पनि पानी समेत नलिने बताए।

‘हामीलाई दवाई होइन गोर्खाल्याण्ड चाहिएको छ’-रोकाले भने, ‘सरकारले हाम्रो माग के हो भन्ने बुझेर झट्ट निर्णय गर्नुपर्नेछ।’

अबको आन्दोलनले राज्य प्राप्त गर्नैपर्ने बताउँदै उनले सम्झौताहिन आन्दोलनले लक्ष्य प्राप्त गरेर शहीद बने मात्र आत्माले पनि शान्ति पाउने बताए।

अर्का अनशनकारी सागर दियालीले पनि छुट्टै राज्य प्राप्त नभएसम्म आन्दोलनलाई अघि बढाउने आह्वान गर्दै अन्तिम श्वास रहेसम्म आमरण अनशनलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरे।

गोर्खा जनमुक्ति युवा मोर्चाले अलग राज्य गोर्खाल्याण्डको मागमा गत 21 जुलाईदेखि आमरण अनशन शुरू गरेको हो। दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा तीन-तीन जना गरी मोठ 12 जना युवा कार्यकर्ताहरूले शुरू गरेको आमरण अनशनले आज छैटौँ दिन पुरा गरिसकेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन