मङ्गलसिंह, तेरो आगोको जिब्रो खै?

 

राजा पुनियानी

 

 


मङ्गलसिंह
तेरो तन्नेरी शरीरको
सयवर्षे बूढ़ो आगो देखेर
माइलाले आफ्नो हकको पिसाब फेर्दैछ।

मङ्गलसिंह
तेरो जिब्रोभरि आगै आगो छ
तेरो आगोभरि जिब्रै जिब्रो छ

तेरो आगोको देश कुन हो?
मङ्गलसिंह, तेरो आगोको चप्पल कुन मार्काको?
मङ्गलसिंह, तेरो जिब्रोभरि आगो छ
मङ्गलसिंह, तेरो आगोको जिब्रो खै?

त्यसको आगोको नाम के हो? –
सोध्छ कर्पोरेटहरूको कचल्टिएको देशले।
उपनिवेशवादी रामराज्यमा मङ्गलसिंह
तेरो आगोको दाम
तैंले जीऊमा खन्याएको तेलको दामभन्दा सस्तो छ।
तेरो आगोको अनुहारमा
एउटा सपनाको सरकारी करङ झुण्डिन्छ।
तेरो आगोको मुखैमा ढेसिएको छ
रिसाहा एउटा हुरीको गीत।

मङ्गलसिंह, यसपालि तँलाई देखेर
बुद्धले एउटा कूवाको नक्शा बनाउँदैछ
हिटलरको हातबाट हैकमको कारतुस खसेको छ।
मङ्गलसिंह
तैंले एक धक्का ठेलिदिएको थिइस्
नकोरिएको मानचित्रमा एउटा ढुङ्गे फाटकको नक्सा।
तेरो चीत्कार सुनेर यसपालि
टिस्टाले रगतसरि हुने गरी कन्यायो
पुरानो भूगोल-लुतो।

मङ्गलसिंह, तेरो आगोको जिब्रो खै?
माकुराले मुतेको तेरो सारङ्गी भुँड़ीमा
रेटिइबस्छ तेरो थेत्तर आवाज। सुन्दैछस्?

मङ्गलसिंह, तेरो आगोको हातले
पक्रिएको छ
तेरो इतिहासको गाउँ खाने कथाको छट्टु पुच्छर।
तेरो आगोका खुट्टाले पछ्याएको गोहो
मृगतृष्णाको हो कि मुक्तिको?

मङ्गलसिंह, तेरो आगोको जिब्रो खै?

गुल्चे गर्भधारणको खेल-खबरलाई
चाटिदे तेरो आगोको जिब्रोले
दिल्ली जाने रेलको टिटीईले माग्दैछ
तेरो आगोको भोटर आईडी
मङ्गलसिंह, अब खोलिदे तेरो आगोको कवच

मङ्गलसिंह, तेरो आगोको जिब्रो खै?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया