आ-आफ्नै शहिद दिवसः क्लब साइडमा गोरामुमोः चौकबजारमा गोजमुमोः फुटबारे दुवै दलले के भने त?

मोहन लामा

दार्जीलिङः गोरामुमो र गोजमुमोले आज पनि एकसाथ शहीद दिवस पालन गरेन। गोजमुमोले यहाँको चौकबजारमा शहीद दिवस पालन गर्‍यो भने गोरामुमोले यहाँको क्लब साइड परिसरमा 31औं शहीद दिवस पालन गर्‍यो। जसलाई गोरामुमोले एक शक्ति प्रदर्शन रूप दिएको पनि स्पष्ट थियो।

गोरामुमोले चौकबजारमा शहीद दिवस पालन गर्ने पुलिस प्रशासनबाट अनुमति पनि लिएको थियो, तर हिजो अचानक गोजमुमोले पनि चौकबजारमानै शहीद दिवस पालन गर्ने घोषणा गरेपछि गोरामुमोले शहीद दिवस पालन गर्ने स्थलनै सार्नपरेको थियो। तर गोर्खाल्यान्डको मागमा एकवद्ध बनेर अघि बढिरहेका गोरामुमो र गोजमुमोले एकैसाथ आज चौकबजारमा शहीद दिवस पालन गरेको भए उत्तम हुने थिएन?

यसले गोर्खाल्यान्ड माग्ने पार्टीहरुमा एकता रहेको पनि सन्देश सर्वत्र जानेथियो भन्ने प्रश्‍न गर्दा यसमाथि केही भन्न नसकिने गोर्खा राष्ट्रिय युवा मोर्चा अध्यक्ष सुरज छेत्रीले बताए।

शहीद दिवसकै अवसर पारेर गोरायुमोका लगभग 60 जना युवा कार्यकर्ताहरुले पार्टी केन्द्रिय कार्यालयबाट एक खाली खुट्टे यात्रा पनि गरेका थिए, जुन यात्रा शहरका विभिन्न स्थानहरूको परिक्रमा गरेपछि शहीद दिवस समारोह स्थलमा आएर टुङ्गिएको थियो। जहाँ गोर्खा राष्ट्रिय युवा मोर्चाको तत्वावधानमा 31औं शहीद दिवस पालन गरिएको थियो।

यसैबीच, सोधिएको एक प्रश्‍नको उत्तरमा गोरायुमो अध्यक्ष सुरज छेत्रीले भने-सन् 1986 देखि अहिलेसम्म सयौं गोर्खाल्यान्ड समर्थकहरुले अलग राज्य गोर्खाल्यान्डको लागि आफ्नो प्राणको बलिदान दिइसकेका छन्, उनीहरुप्रति श्रद्धार्पण गर्नको लागिनै आज गोरायुमो कार्यकर्ताहरुले खाली खुट्टा पदयात्रा गरेका हुन्। उनले अझै अघि भने-शहीदको सपना अनि बलिदान अलग राज्य गोर्खाल्यान्डको लागि हो र गोरामुमो वा गोरायुमो यसको लागि प्रतिवद्ध छ। यसैले गोरामुमोले आज केन्द्रियरूपमा  शहीद दिवस पालन गरेको हो।

गत वर्ष गोरामुमोले समष्टि स्तरमा शहीद दिवस पालन गरेको थियो भने 2007 पछि प्रथमपल्ट गोरामुमोले यति ठूलो रूपमा शहीद दिवस पालन गरेको छ। जसमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक क्षेत्रका गोरामुमो समर्थकहरुको उपस्थिति रहेको थियो। गोरामुमो अध्यक्ष मन घिसिङ, महासचिव महेन्द्र छेत्री साथै अन्य पुराना पार्टी नेताहरुको उपस्थितिमा आयोजित यस शहीद दिवस समारोहबीचै पार्टी अध्यक्ष मन घिसिङले शहीद वेदीमा खदार्पण अनि दीप प्रज्जवल गरेका थिए। चौकबजारबाट गोरामुमोले किन शहीद दिवस सार्न पर्‍यो?

भन्ने प्रश्‍न गर्दा गोरायुमो अध्यक्ष सुरज छेत्रीले भने-गोजमुमोले चौकबजारमा शहीद दिवस पालन गर्ने भएको कारण हामीले गोजमुमोलाईनै ठाउँ छोड़िदिएका हौं। किनभने, शहीद दिवस कुनै एउटा पार्टीको कार्यक्रम होइन, सबै पार्टीले यो कार्यक्रम गर्न पाउनुपर्छ, यसैले गोरामुमोले क्लब साइडमा आफ्नो कार्यक्रम सारेको हो।

यसैबीच, गोर्खा जनमुक्ति युवा मोर्चा दार्जीलिङ टाउन कमिटीका अध्यक्ष तिलक छेत्रीले शहीद दिवस एकै स्थानमा एउटै शहीद वेदी राखेर गरिएको भए उत्तम हुनेथियो भन्ने बताउँदै गोर्खाल्यान्डको लागि जीवन बलिदान गर्नेहरुको शहीद वेदी दुइ स्थानमा बनिएकोमा दुःख लागेको बताए। उनले भने-मुद्दा एउटा, एउटै मुद्दाको लागि शहीद, तर कार्यक्रम किन अलग-अलग? यदि एकै स्थानमा एउटै शहीद वेदी राखेर आज शहीद दिवस पालन गरिएको भए धेरै राम्रो हुनेथियो। यद्यपि, गोरामुमो र गोजमुमोले आज शहीद दिवस कार्यक्रम पनि अलग-अलग गरेपछि यी दुइ पार्टीमाझ अझैसम्म पनि आन्तरिक मनमुटाउ मेटिएको छैन भन्ने स्पष्ट भएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन