कालेबुङले सम्झियो शहीदलाई, सरकार मौन बस्नु सबैभन्दा ठूलो अन्याय-सरिता राई

 प्रज्ज्वल छेत्री

कालेबुङः अलग राज्य गोर्खाल्याण्डको निम्ति प्राण दिने शहीदहरूलाई सम्झँदै आज कालेबुङमा पनि शहीद दिवस पालन गरियो। यहाँको 11 माईलमा अवस्थित शहीद वेदीमा खदा-माला अर्पण गर्दै शहीदहरूलाई ऋद्धाञ्जली जनाइएको थियो। 1986 को गोर्खाल्याण्ड आन्दोलनपछि 27 जुलाईका दिन प्रत्येक वर्ष शहीद दिवस पालन गरिने गरेको छ। 27 जुलाई 1986 का दिन भारत-नेपाली मैत्री सन्धि जलाउने कार्यक्रमअवधि कालेबुङमा सीआरपीएफले चलाएको गोली लागेर दर्जनौँ आन्दोलनकारीको मृत्यु भएपछि उक्त दिनलाई दार्जीलिङ पहाडभरि नै शहीद दिवसको रूपमा पालन गरिने गरेको छ।

हाल गोर्खाल्याण्ड आन्दोलन चलिरहेको कारण आजको शहीद दिवस विशेष महत्त्वका साथ पालन गरियो। यस अवसरमा धेरै वर्षपछि विभिन्न राजनैतिक दलहरूले संयुक्त रूपमा शहीदलाई ऋद्धाञ्जली अर्पण गरेका थिए। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटीका प्रतिनिधिहरू, शहीदका परिवार एवं विभिन्न सङ्घ-संस्थाका पदाधिकारीहरू आदिले शहीद वेदीमा खदा-माला अर्पण गर्दै ऋद्धाञ्जली अर्पण गरे। कार्यक्रममा हिन्दु, बौद्ध, मुस्लिम एवं ख्रिष्ट्रिय धर्मवालम्बी परम्परा अनुसार सर्वधर्म प्रार्थना पनि राखिएको थियो। यस कार्यक्रममा गोजमुमोसितै क्रामाकपा, गोर्खालीग, कङ्ग्रेस आदिका प्रतिनिधिहरू उपस्थित थिए।

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङकी विधायिका सरिता राईले हाल चलिरहेको आन्दोलनबारे अवगत गराउँदै सरकार मौन रहेकोमा आपत्ति जनाइन्। ‘अहिलो पहाड आन्दोलित त, अहिलेको आन्दोलनमा पनि धेरैले प्राणको उत्सर्ग दिइरहेका छन्’-विधायिका राईले भनिन्, ‘यत्रो ठूलो आन्दोलन भइरहँदा समेत सरकार मौन बस्नु हाम्रो निम्ति सबैभन्दा ठूलो अन्याय हो।’ उनले गोर्खाल्याण्ड आन्दोलनको क्रममा धेरैले आफ्नो प्राणको आहुती दिइरहेको भए पनि सरकारले कुनै पहल नगरेको भन्दै केन्द्र सरकारले गोर्खाल्याण्डको निम्ति सकारात्मक सोच राख्न आह्वान गरिन्।

यस क्रममा उनले आफ्नै सासंद एसएस अहलुवालिया पनि मौन रहेको भन्दै सासंद समेत साथमा नहुँदा तीतो अनुभव गरेको बताइन्। गोर्खाल्याण्डका निम्ति सबैलाई एक बन्ने आह्वानसितै गोर्खाल्याण्डको भावी कार्यक्रम जीएमसीसीको माध्मयबाट जनतालाई अवगत गराइने पनि जनाइन्। अर्कोतिर कार्यक्रमलाई क्रामाकपा आञ्चलिक अध्यक्ष किशोर प्रधानले पनि सम्बोधन गरेका थिए। यसरी नै जन आन्दोलन पार्टीले पनि दलीय कार्यालयमा एक कार्यक्रममाझ शहीद दिवस पालन गर्दै शहीदहरूलाई ऋद्धाञ्जली अर्पण गऱ्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया