नेत्र जुनकिरी द फायरफ्लाई

अफबिट


  • बी० पी० बजगाईं, सिलगडी, भारत

अप्रिल २०१५ मा हङकङमा बिमोचन गरिएको उनको तस्वीर तथा कविता सङ्ग्रह ‘जुनकिरीको मन’ ले अहिलेसम्म उचित चर्चा नपाउनु हाम्रो कला-साहित्यको दयनीय अवस्था हो।


 

उसले समयको गतिलाई आफ्नो क्यामेरामा कैद गर्छ…खच्याक्क, अनि उसको फोटोले त्यसको पार्श्वकथा भनिरहेको हुन्छ। एकजना दक्ष फोटोग्राफरले सदैव प्रकृतिको कला पक्षलाई देखिरहेको हुन्छ। उसको तर्जनी औंला शटर रिलिज बटनमा अचानक पुगेको हुन्छ जब उसले प्रकृतिले लेखेको सुन्दर दृश्य कविता पढ़छ, जब उसले दृश्यमा खुशी भेट्छ, अथवा सांसारिक माया, मोह, विषयवासना आदिले उत्पन्न विभिन्न टाइम फ्रेमहरू देख्छ।

 

एउटा फोटो कुनै स्थिति बताउनको निम्ति हजार शब्द भन्दा सक्षम बनेको हुन्छ। कविताको एउटा बिम्बले मात्र पनि एउटा आख्यान बोक्नसके झैं एउटा फोटोले पनि सिङ्गो आख्यान बोकेर उभिएको हुन्छ। कविता आफैमा एउटा उचाई हो चेतनाको अनि दक्ष फोटोग्राफरको फोटो त्यस्तै अर्को उचाई हो। यी दुई उचाईहरू सिङ्गो उभिँदा जे बन्छ त्यसको नाम हो ‘नेत्र जुनकिरी द फायरफ्लाई’।

 

उनको वास्तविक नाम नेत्र प्रकाश थापा हो। सबैले मनपराएको छोटो नाम ‘जुनकिरी’। पेशाले फोटोग्राफर हुन् अनि उनले लेखेका कविताहरूले उनकै फोटोहरूसँग संवाद गरिरहेका हुन्छन्।

यसै त फोटोग्राफी उनको पहिलो सिर्जनात्मक आकर्षण हो अनि कविता दोस्रो। तर जब कविताले फोटोको सामिप्यता पाउँछ, त्यो धेरै अग्लिएको हुन्छ उनको फोटो-कविता मिश्रणमा।

 

उनलाई एवं उनको फोटोग्राफी कलालाई नजिकबाट नियालेर हेर्दा थाहा हुन्छ, उनका आँखाहरूले दिन-रात, साँझ-बिहान कुनै पनि समयको प्रकाशको स्रोत अनि त्यसको तीव्रतालाई आकलन गरिरहेको हुन्छ। उनको आँखाले शुटिंग टार्गेटको स्थिरता अथवा गतिको अध्ययन गरिरहेको हुन्छ। उनको त्यही आकलनले तय गरेको एपर्चर अनि शटर स्पीडले अन्धकारको फोटो समेत धेरै शब्द बोकेर उभिन सक्षम हुन्छ।

 

मानौं, उनका आँखाहरू प्रकाश र स्पीड नाप्ने यन्त्रहरू हुन्। फोटोग्राफीमा एउटा नियम हुन्छ, जसलाई ‘ल अफ थर्ड’ भनिन्छ। यसमा फ्रेमलाई कल्पनामा ठाडो अनि तेर्सो रेखा कोरेर तीन भागमा बाँड्छ अनि रेखाको ‘क्रसिङ पोइन्ट’ -मा लक्ष्यको मुख्य तत्व राखिन्छ। उनका अधिकांश फोटाहरू यस नियमभित्र बसेका उत्कृष्ट उदाहरणहरू हुन्।

 

नेत्र जुनकिरीसँग एउटा अनौठो तर मिठो अनुभव छ। उनले त्यो अनुभव गफै गफमा मसँग शेयर गरेका थिए। उनको शिक्षा-दीक्षाले उनलाई अङ्ग्रेजीमा लेख्ने प्रेरणा दियो। तर जब उनी हङकङ पुगे, त्यहाँ उनको झुकाउ मातृभाषाप्रति भयो। उनलाई त्यहाँ आफ्नो मातृभाषाप्रति प्रेरणा दिने कुनै नेपालीभाषी थिएनन्, यो अनौठो अनुभव हो उनको। जब उनले त्यहाँ जापानिज्, चाइनिज, ब्रिटिस अनि जर्मनसँग सँगै काम गर्न थाले, तब उनले देखे ती सबै विकसित भनिने जातिहरूले जहिल्यै आ-आफ्नै भाषालाई महत्व दिईरहेका हुन्थे। उनीहरूको आफ्नो भाषाप्रतिको मोहले दार्जीलिङे ठिटो नेत्रको मनलाई निचोऱ्यो अनि उनले ठाने- अब नेपालीमा लेख्छु।

 

जब उनलाई नेपालीमा लेख्न मन लाग्यो तब उनलाई कम्प्युटरमा नेपालीमा टाइप गर्न आउँदैन थियो। त्यसबेला उनले दार्जीलिङबाट सञ्चालित एउटा ब्लग ‘हावाघर’ -मा उनले अपलोड गरेको पेज सम्झे।

 

यो घटना दार्जीलिङ पहाडमा इन्टरनेटको शुरुवाती दिनहरूको हो। ती दिनहरूमा उनको त्यस ब्लगमा भएको पेज ‘म अल्मलिएको क्षणहरू जुनकिरी पलहरू’ मा उनले नेपालीमा टाइप गर्न नजानेकोले रोमन अङ्ग्रेजीमा लेखेको बताउँछन्। यसरी अङ्ग्रेजी वर्णमालामा रोमनमा नेपाली लेखेर उनको मातृभाषा प्रेम शुरू भएको चाखलाग्दो घटना ‘म त नेपाली जान्दिन’ भन्ने नेपाली भाषीहरूको निम्ति झक्झकाउने चटयाङ हो। धेरै पछि हङकङमा जेबी पुनज्यूको सुझाव र सल्लाहमा रबिन बान्तवा खाहोङ राईले उनलाई नेपालीमा टाइप गर्न सिकाएको कुरा उनी बताउँछन्। यसरी उनले गफै गफमा विदेशमा अलग-अलग भूगोलबाट गएको भए तापनि आफ्नो मातृभाषाको निम्ति नेपालीभाषीहरूको एका-अर्काप्रतिको सहयोगको भावना रहेको बयान गर्छन्। त्यो भावना आज हाम्रो मूल भूमिमा भने मृत्युशैयामा सुतेको छ।

एक ताका दार्जीलिङ पहाडमा युवाहरू हङकङ जाने लहर चलेको बताउँछन् उनी, त्यसै लहरले उनलाई हङकङ पुऱ्यायो। जे होस् उनलाई त्यस लहरले आफ्नो माटोबाट टाडा पुऱ्याएपनि मातृभाषा अनि मातृभूमिको निम्ति उभिन त्यस विदेशी माटोले अनि विदेशी अनुहारहरूले सिकाएछ। दार्जीलिङलाई यस्ता थुप्रै लहरहरूको खाँचो अहिले पनि छ, जसले आफ्नो माटो, भाषा अनि समाजको माया गर्न सिकाओस्।

 

दार्जीलिङे राजनीति अनि माथिल्लो सत्ताको एका-अर्कामा फुट ल्याउने खेलबाट बिरक्तिएर उनले आफ्नो कविता ‘रात र कारागार’ –मा लेखेका छन्:

“तँ डराएको रात
अनि म हराएको
दाजुभाइ माझ
काटाकाट् होस् भन्ने बिचारले
कसैले सुराएको रात

बस् गहिरो भिषण कालो रात
बस् रात रात रात रात रात रात रात …..”

 

यस कविताको बयान गर्ने उनको कारागारको ब्ल्याक एण्ड व्हाइट फोटो ‘ल अफ थर्ड’ – राम्रो नमुना हो। दार्जीलिङ पहाड अनि यहाँको राजनीति सन्दर्भमा उनी निकै गम्भीर देखिन्छन्। एउटा प्याजको कालो सेतो फोटो खिच्छन् अनि हाम्रो पहाडको चरित्रलाई व्यङ्ग्य कस्दै भन्छन्,

“जाबो प्याजले त …
आफ्नो रङ र जात गुमाएन…”

 

प्याजको सँधै प्याजीमात्रै बन्दैन, प्याजलाई हेरेर सोच पनि बनाउन सकिन्छ भन्ने सोच समेत उनले क्यामेरामार्फत नै दिने गरेका छन्।

जुनकिरीले गौंथलीको समूह फोटो खिच्छन्, गुरुप्रसाद मैनालीको परालको आगोभित्रबाट बिम्ब टिप्छन्, अनि भन्छन्, “हिजोआज शायद  दुःखी, गरीब र उद्धेश्यहिन भयो होला तिम्रो यो असहाय चामे, र सुन्छु हरेक मोडहरूमा तिम्रा उडानका मनदुःख्ने कथाहरू ….।” उनका यस्ता उद्गारहरूले हाम्रो समाजको विपन्न अर्थनीतिलाई चिहाएर भित्रैसम्म हेरेको पाइन्छ। उनले खिचेका फोटाहरू अनि उनले लेखेका छोटा कविताहरू हेर्दा/पढ्दा साधारण देखिन्छन्, तर गम्भीर सन्देश बोकेर उभिएका हुन्छन्।

 

हाम्रो देशमा आर्ट डिस्पलेयिङ्ग भेन्युजहरूको गहिरो अभाव छ। एउटा फोटोग्राफरलाई त्यस अभावले सताएको हुन्छ नै…। उनी भन्छन्, “हिजोआज म साथीहरूबीच दुवै विधामा चिनिन पुगेको छु। वास्तवमा फाईन आर्टले कला साहित्यको सबै विधामा अन्तरसम्बन्ध राख्छ। मिडियम मात्र फरक। “जूनकिरी पलहरू” मेरो प्रथम एकल फोटो-कविता प्रदर्शनी हो। 2011 सालतिर साथीहरूको व्यापक सहयोगले सफल भएको। विडम्बनाको कुरो चाँहि हामीसित कुनै ग्यालरीहरू छैनन्। प्रदर्शनी वास्तवमा धेरै दिनको लागि हुन जरुरी छ। सरकारी भवनहरू उपलब्ध गराइन्छ। बिचरा उहाँहरूले पनि नाईं भन्न सक्नुहुन्न। भविष्यमा शायद यस्ता आर्ट डिस्पलेयिङ्ग भेन्युजहरू बनिन्छन् होला।” साँच्चै अब हाम्रो समाजले यस दिशामा सोच्नुपर्छ। यस क्षेत्रमा पनि युवाहरूले भविष्य खोज्नसक्छन्। सत्ता र सरकारको आशा गरेर बस्नु भनेको हाम्रो देश र भेकमा जुनी काट्नु हो।

 

फोटोमा राजनीति उतार्नु सम्भव छ कि छैन भन्दा उनी भन्छन्, “फोटोग्राफीको माध्यमबाट राजनीति मात्र नभएर प्राय सबै सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक एवम् आध्यात्मिक पक्षहरू सबै समेटिएका हुन्छन्। यी सबै पक्षहरू कुनैपनि फाइनआर्ट मिडियममा लुकेको पाउँछौं। फरक दर्शकहरूका दृष्टिमा हुनसक्छन्, वहाँहरूका दर्शनमा हुनसक्छन्। प्रदर्शनी हलभित्र छिर्न लागेको मान्छे र हेरेर निक्लनुलागेको मान्छेमा केही फरक त हुनैपर्छ। यदि भएन भने त्यो प्रदर्शनी सफल भएन भन्दा हुन्छ रे।”

 

म उनकै उपनाम उनकै अघि राखेर प्रश्न गर्छु,- “फायरफ्लाई भनेको जुनकिरी अर्थात् सँगै आगो बोकेर अथवा उज्यालो बोकेर हिँड्ने भनेको हो। तपाईंभित्र वर्तमान दार्जीलिङ पहाडमा देखापरेको अस्वस्थ्यकर राजनैतिक परिवेशले आगो जन्माएको छ कि छैन? त्यस परिवेशलाई उज्यालो दिन पनि फोटो कविताले कुनै दिन भूमिका खेल्छ कि खेल्दैन?”

फायरफ्लाई नेत्र भन्छन, “दार्जीलिङको वर्तमान राजनैतिक परिवेशले साहित्य अनि कलामा डुबेका समस्त फेकल्टीलाई कहींकतै अवश्य आगो बालेको छ नै…। साहित्य अनि कला सम्बद्ध व्यक्तिहरूले सधैं एउटा आदर्श समाजको परिकल्पना गरेका हुन्छन् अनि दार्जीलिङे पहाडको वास्तविकता भने ठीक विपरित उभिएको छ। हामी समाजलाई केही कन्ट्रिब्युट गर्ने कोशिश हरदम गरिरहेकै हुन्छौं। अहिलेसम्म एउटा सुन्दर समाजको आशा केवल आशा मात्र भएर रहेकोछ। यस्तै कारणहरूले वर्तमानमा धेरै कलाकारहरू फ्रस्टेसनको शिकार बन्दै गएको पनि देखिन्छ।”- यसो भनेर उनले अप्रत्यक्ष रूपमा उनको फोटो कविताले अस्वस्थ्यकर राजनैतिक परिवेशलाई सम्बोधन गरिरहेको बताए।

 

उनले एउटा यस्तो पुस्तक प्रकाशित गरे जसमा उनले खिचेका प्रत्येक तस्वीरसँग उनको कविताले पाठकलाई अनौठो अनुभूति दिएको छ। अप्रिल २०१५ मा हङकङमा बिमोचन गरिएको उनको तस्वीर तथा कविता सङ्ग्रह ‘जुनकिरीको मन’ ले अहिलेसम्म उचित चर्चा नपाउनु हाम्रो कला-साहित्यको दयनीय अवस्था हो। हुन त यस प्रकारको पुस्तक पहिले पनि एउटा निस्किएको हो। अबीर वाई हकले २०१३ -मा ‘द लंग वे होम’ नाममा ट्रयाभल फोटोग्राफ अनि कविताको सङ्कलन निकालेकी थिइन्। त्यसलाई उनले कफी टेबल बुकको रूपमा प्रस्तुत गरेकी थिइन्। अमेरिकामा यसले ठूलै चर्चा पाएको थियो। फायरफ्लाईले आगो बोकेकै हुन्छ, तर हाम्रो समाजमा क्रिएटिभिटीको चर्चा नहुनु खेदको विषय हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया