केन्द्रले गोर्खाल्याण्डको कुरा उठान होइन सुरक्षा बल पठाएर दबाउने प्रयास गरिरहेको छ: छेत्री

विज्ञापन

कालेबुङः गोर्खाल्याण्ड मागलाई लिएर केन्द्र सरकारले साँधेको मौनता देखेर जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आश्चर्य प्रकट गरेका छन्। एकातिर केन्द्र सरकारले मनसुन सेसनमा आशा राखे बमोजिम गोर्खाल्याण्डको माग उठान नगरेको अनि अर्कोतिर राज्य सरकारलाई थप सुरक्षा बल पठाएर गोर्खाल्याण्ड आन्दोलन दबाउने प्रयास गरिरहेको छेत्रीले बताएका छन्।

‘मनसुन सेसनमा हामीले आशा राखेका थियौं सांसद आहलुवालियाले गोर्खाल्याण्डको कुरा उठान गर्छन् भनेर तर काङ्ग्रेसका सांसद ज्योतिरादित्य सिन्धियाले दार्जीलिङ र गोर्खाल्याण्डबारे कुरा उठाएको देखिए पनि सांसद आहलुवालियाले अझसम्म  कुरा उठाएका छैनन्,’ उनले भने, ‘जसरी केन्द्रले राज्यलाई सुरक्षा बल पठाएर यो आन्दोलन दबाउने प्रयास गरिरहेको छ अनि यो आन्दोलन केवल कानून व्यवस्थाको मात्रै आन्दोलन देखाएर संवैधानिक आन्दोलन होइन, प्रजातान्त्रिक र अलग राज्यको आन्दोलन होइन भनेजस्तो सन्देश दिइरहेको छ यसको हामी घोर भर्त्सना गर्दछौं।’

केन्द्र अनि राज्यले गोर्खाल्याण्ड मागलाई लिएर अप्नाइरहेको नीतिलाई मध्यनजर राखेर आन्दोलनकारीहरू सजग रहनुपर्ने सुझाव पनि उनले राखेका छन्। सरकारले अहिले आन्दोलनकारीहरूको हरेक कार्यक्रमबाट एउटा नकारात्मक कुरा निकाल्ने कोशिष गरिरहेको पनि छेत्रीले बताए।

‘अहिलेसम्म हाम्रो 9 जना शहिद भइसकेका छन् तर दोष केवल आन्दोलनकारीलाई अनि विशेष एउटा राजनैतिक दललाई दिने काम भइरहेको छ,’ छेत्रीले भने, ‘दोष लगाउनु अघि ती व्यक्तिहरू जो जिम्मेवार छन् उनीहरूलाई पक्राउ गर्नुपऱ्यो, उनीहरूलाई चिह्नित गर्नुपऱ्यो अन्त मात्र कुनै एउटा दललाई दोष दिनु उचित हुन्छ।’

आफूले यस कुराको अघिबाटै कोलकातामा गएर विरोध जनाइसकेको अनि यहाँको स्पष्ट चित्र बताउइसकेको दाबी पनि छेत्रीले गरे। तोडफोडको घटनालाई हिंसा बताउने सरकारले आफै भने तोडफोडको कार्य रोक्न अनि सुरक्षा गर्ने कार्य भने नगरेको आरोप पनि उनले लगाए। यद्यपि यस्ता कुराहरूमा आन्दोलनकारीहरू पनि सचेत बन्नुपर्ने आह्वान उनले गरे।

‘जन आन्दोलन हो त्यहाँ आन्दोलन कारी मात्र होइन त्यहाँभित्र असामाजिक तत्त्वहरू पनि हुन सक्छन्। जे होस् यस्ता तोडफोडको घटनाबाट सरकारले एउटा हतियार पाउँदैछ यो आन्दोलनलाई हिंसात्मक आन्दोलन हो भन्ने, यो आन्दोलनलाई आतङ्कवादसित जोड्ने मौका पाइरहेको छ,’ छेत्रीले भने,

‘म  अनुरोध गर्न चाहन्छु यो घटनाहरू जति बढ्दै जान्छ अलग राज्यको माग तल झरेर त्यो माग केवल कानून व्यवस्थाको माग बनिन्छ अनि सरकारले त्यसलाई दबाउने मौका पाउँछ।  त्यसर्थ हामीले यी घटनाहरू सक्दो नियन्त्रणमा राखेर यी घटनाहरू हुनदेखि जोगिनु पर्छ। होइन भने यत्तिका मानिसहरूको यत्ति पुरानो मागमा फेरि एकपल्ट सरकारको दमनतन्त्रमा परेर यो त्यत्तिकै सकिन्छ।’

आगामी १ अगस्तको दिन दिल्लीमा हुने गोर्खाल्याण्ड कोअर्डिनेसन कमिटीको बैठकमा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने कुनै ठोष कार्यक्रम बनिनेछ भन्ने आशा छेत्रीले राखेका छन्। लामो समयसम्म आन्दोलनलाई निरन्तरता दिने अनि जतिसक्दो आम जीवनलाई असुविधा नहुने प्रकारको रणनीति जीएमसीसीले तयार गर्नेछ भन्ने आशा उनले व्यक्त गरे। ‘जीएमसीसीबाट राम्रो र दीर्घ मियादी कार्यक्रम होस्’ – उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया