टालाकटिलिक कवि

मैले चिनेको


  • मिलन बान्तवा

सानो उमेरको एउटा नपत्याउँदो केटोले यसरी प्रश्न गरिदिँदा गुमानसिंह चामलिङ अरकच्च परेका थिए। त्यस समयका प्रखर समालोचक गुमानसिंह चामलिङले आफूलाई बचाउन ‘टङ स्लिप’-को बहाना बनाउनुपरेको थियो।

 

गीतसित बाँचेको सम्झना

मेरो जन्मस्थान मालीधुरा। भातकभर चियाकमानको एउटा सानो गाउँ। सिंहमारीदेखि हिँड़ेर ओह्रालै ओह्रालो लागेपछि लगभग 40 मिनटमा पुगिन्छ त्यो मेरो रमणीय गाउँ। मेरो गाउँदेखि फुबसेरिङ चियाकमान पारितिर पर्छ। फुबसेरिङको कुनै पनि गाउँमा माइक बज्न थालेपछि हामी बसेको त्यो मालीधुरा गाउँमा छर्लङ्ग सुनिन्थ्यो। कुनै एक दिन, फुबसेरिङ चियाकमानको त्यो अज्ञात गाउँमा बजेको माइकको आवाज हावाले हुत्याएर मेरो गाउँसम्म आइरहेको थियो। हावाले बोकेर ल्याएको माइकको आवाजमा एउटा सुमधुर तर दुखिरहेको घाउको पीड़ापूर्ण गीत गुन्जिरहेको थियो। त्यो दुखेको घाउ कसको थियो भन्ने कुरो त्यसबेलासम्म मलाई थाहा थिएन।

त्यतिखेरै किरण दाजुले मलाई प्रश्न गरे, ‘‘भन त, यो गीत कसको हो?’’ शायद घरमा साहित्यिक वातावरण भएको कारणले हुनसक्छ, कुनै पनि गीतका गायक अनि सङ्गीतकारलाई भन्दा बढ़ी गीतकारलाई महत्त्व दिइन्थ्यो।

किरण दाजुको प्रश्नले म अवाक् भएँ। प्रायःजसो यस्तो समय मसित यस्तै हुने गथ्र्यो। गीतहरू सुनिए तापनि गीतकारको नाम उस्तो थाहा हुँदैनथ्यो। दाजुहरू धेरै अध्ययन गर्थे। जीवन दाजु अनि किरण दाजु दुवैले नेपाली गीतकारका नामहरू मुखस्थ गरेका हुन्थे। म अरकच्च परेको देखेर किरण दाजुले खुलाउँदै भने, ‘‘यो गीत फलानोको हो। उनी मेरा साथी हुन्। उनीसित मेरो राम्रै सम्बन्ध छ।’’

आफ्नै सहोदर दाजु यति ठूला कविका साथी रहेको थाहा पाएपछि मेरो मनले गतिलै हर्कबढ़ाइ मनाइसकेको थियो।

हुन पनि यस्ता घागड़ान कविसित कसैको पनि परिचय हुनु उत्तिखेर मेरो निम्ति ठूलै कुरो थियो। उनका खण्डकाव्य ‘खण्ड-अखण्ड’ अनि कविता सङ्ग्रह ‘केवलय’-बारे घरमा धेरैचोटि चर्चा सुनिसकेको थिएँ। सन् 1987 मा सन्त जोसेफ्स कलेजमा एघारौँ श्रेणीमा भर्ना भएर जाँदा उनले नै हामी नयाँ भाइ-बहिनीहरूलाई कलेजको सबभन्दा ठूलो श्रेणीकक्ष 306 मा निम्त्याएर स्वागत सम्बोधन गरेका थिए। उनले त्यतिखेर के-के बोले भन्ने कुरो धेरै पछिसम्म स्मरणमा थियो। कसैसँग कुराकानी गर्दा उनको प्रसङ्ग निस्किहाले उनले भनेका उक्त कुराहरू निकालिहाल्थेँ। तर समय साह्रै बलवान् हुँदोरहेछ। त्यतिखेर उनले बोलेका शब्दहरू मेरो मुटुमा अमिट छाप बनेर बसेको छ भन्ने भ्रम अहिले टुटिसकेको छ। कति कोशिश गर्दा पनि उनले बोलेका शब्दहरू मेरो स्मरणमा आउनै मानेका छैनन्। ती कुराहरू यहाँ लेख्न नपाएर मनभित्र ठूलो थकथकी लागिरहेको छ।

तिनताक उदय-मनिलाका गीतहरू सुनेर सपना सजाइन्थ्यो। दुखेका घाउहरू सुमसुम्याइन्थ्यो। कहिलेकाहीँ एकान्तमा आँसु पनि झारिन्थ्यो। त्यसको एउटा बेग्लै अध्याय छ। त्यसबारे पछि वृत्तान्त कुरा गरौँला।

म सम्झनाका तरेलीहरूमा डुबिरहेको बेला किरण दाजुले चाहिँ भनिरहेका थिए, ‘‘उनी राम्रा कवि हुन्। गीतकार पनि उस्तै बेजोड़। उनको अर्को एउटा मीठो गीत पनि उदय-मनिलाले नै गाएका छन्।’’ यति भनिसकेपछि उनले त्यो गीत गुनगुनाउन थाले। त्यो गीत थियो, ‘‘मेरो हाल नसोध्नू, म सधैँ झैँ बेहाल छु…’’ अनि माइकमा बजिरहेको गीतले चाहिँ ‘‘कहाँ पोखिन्छ आँसु जबसम्म दुख्दैन घाउ…’’ भन्दै थियो।

 

नाङ्गोपनको आनन्द

यस्ता अब्बल कविसित मेरो पहिलोचोटि कहाँ भेट भयो भन्ने कुरोको पनि सुद्धी रहेन। म मेरो आफ्नै जीवनका महत्त्वपूर्ण घटनाहरू पनि साह्रै छिटो भुल्दोरहेछु। कवि मनु मन्जिलको प्रथम कविता सङ्ग्रह ‘आँधीको आवेग’-मा आफ्नो उद्गार पोख्दै कवि कृष्णभूषण बलले लेखेका छन्, ‘‘…आफूलाई मन पर्ने पुस्तकको नाम घाँटीमा अड़्किएर भन्न नसक्दाका पीड़ाहरू मन पर्छन्…।’’ तर यहाँ त कुरो अर्कै छ। अनि अप्ठेरो पनि छ। उनीसितका अनेकौँ महत्त्वूपर्ण बिताइहरू मेरो स्मरणबाट सधैँभरिका निम्ति हराइसकेका छन्। यहाँसम्म कि उनीसितका प्रथम भेटको पनि मसित सम्झना छैन। बरू घाँटीसम्म मात्रै भए तापनि ती कुराहरू आएर अड़्किदिएका भए म चित्त बुझाउँथेँ। तर त्यसो हुन सकेन। मैले चित्त बुझाउने मौका नै पाइनँ। जे होस्, यस्ता प्रतिभाशाली कविसित पछिबाट मेरो राम्रै चिनजान भयो। उनीसित उठबस भयो। उनले आफ्ना जीवनका तीता-मीठा कुराहरू मसित साझा गरे। मैले पनि मेलै मारेर आफ्ना कुराहरू उनीसित भन्न भ्याएँ। उनी जसरी मेरो निम्ति खुल्ला किताब भए, उसरी नै म पनि उनको निम्ति त्यस्तै भइदिएँ। उनको त्यही खुल्ला किताबलाई पाठकसामु राख्ने मन बनाएँ। अर्काको जिन्दगीको नाङ्गो पाना पढ़्न मानिसहरू रूचाउँछन्। त्यही नाङ्गो पानाको स्वाद पाठकले पनि चाख्न पाऊन् भन्ने मेरो आन्तरिक इच्छा। तर उनलाई जति नङ्ग्याइन्छ उति नै सुन्दर, अति सुन्दर प्याजका पत्रहरूजस्तै एकपछि अर्को गरी पत्र-पत्र उनीहरू, उनीभित्रबाट निस्कँदै जानेछन्। अनि पाठकहरू पत्र-पत्र उनलाई श्रद्धा नगरी रहन सक्ने छैनन्। यो मेरो विश्वास!

 

न्यानो अँगालोहरू

उनले एक दिन भने, ‘‘ओ भाइ सुन्यौ? ‘खण्ड-अखण्ड’ लेखिसकेपछि दिवाकर दाइलाई खबर गरेँ। उनी तिनताक उत्तर बंगाल विश्वविद्यालयमा शोधार्थी थिए। ‘खण्ड-अखण्ड’-को पाण्डुलिपि उनलाई देखाउन उत्तर बंगाल विश्वविद्यालय पुग्नुपर्ने भयो। समय मिलाएर पुगेँ। पुग्नेबित्तिकै उनलाई भेटिहालेँ अनि पाण्डुलिपि दिन खोजेँ। तर के अचम्म! उनले त लापरवाहीसाथ ‘ऐले राख्दै गर्’ पो भने। म हिस्रिक्क परेँ। भित्रैदेखि मन दुखेर आयो। फर्किहालौँ कि भन्ने झोँक चल्यो। तर के मन आएर हो, म उतै बसेँ। दिनभरि नै मन बेरमाइलो भइरह्यो। बेलुकीपख उनले आफ्ना मित्रगणलाई बोलाए। उनका मित्र मण्डलीमा थिए डा. भरत राई, डा. रवीन्द्र छेत्री, डा. रवीन छेत्री, डा. खेमराज शर्मा, डा. ज्ञानचन्द्र सुब्बा, प्रो. रामकुमार थापा, डा. धनबहादुर खवास, प्रो. ज्योतिप्रकाश लामा, डा. हर्कबहादुर छेत्री आदि। उनीहरू सबै तिनताक आ-आफ्ना विषयका शोधार्थी थिए। अब भने मैले कविता वाचन गर्नुपर्ने भयो। मैले जतिजति कविता वाचन गर्दै गएँ उतिउति दिवाकर दाइलगायत उनका मित्र मण्डली उत्साहित बन्दै गए। उनीहरूले मेरो कवित्वको भरपूर सराहना गरे। यतिकैमा ‘मित्र मण्डली प्रकाशन’-समेत गठन गरिहाले। पछि उनीहरूले नै मेरो ‘खण्ड-अखण्ड’ छापिदिए। अहिले त्यो मित्र मण्डली प्रकाशन कहाँ पुग्यो कुन्नि!’’ भनेर उनी घत मानेर हाँसे।

उनको कवितायात्रामा डा. दिवाकर प्रधानको ठूलो हात रहेको कुरो कवि स्वयम् सहर्ष स्विकार्छन्। उनी डा. दिवाकर प्रधानलाई प्रेरक अनि मार्गदर्शकमात्र होइन, गुरु नै ठान्छन्। यसबाहेक सन्त रोबटर््स् स्कूल पढ़ेका उनलाई आफ्ना स्कूलका गुरुहरू डा. जगत छेत्री, वीरविक्रम गुरुङ अनि दलसिंह ‘अकेला’-ले साहित्य लेखनतिर अग्रसर गराएका हुन्। यी गुरुहरूले उनलाई विभिन्न कार्यक्रमहरूमा अंशग्रहण गराउनको निम्ति हात समाएर ल्याएका कुरा देख्नेहरूले अझ पनि गर्छन्।

 

उनी आत्मविश्वासी हुन् कि फुर्के?

‘‘मेरा कतिपय कविताहरू स्वच्छन्दतावादी होलान्। तर तपाईंले कसरी मलाई मूलतः स्वच्छन्दतावादी कवि हुन् भनेर भन्नुभयो? यो ‘मूलतः’ शब्दलाई तपाईंले किन प्रयोग गर्नुभयो?’’ भनेर टिनेजर कविले तिनताकका वरिष्ठ समालोचक आदित्यविक्रम गुमानसिंह चामलिङलाई ठाड़ै सोधेका थिए। कविको पहिलो काव्यकृति ‘खण्ड-अखण्ड’-को विमोचन कार्यक्रममा गुमानसिंह चामलिङले विमोचित पुस्तकमाथि बोल्दाबोल्दै यसो भनिपठाएका थिए। सानो उमेरको एउटा नपत्याउँदो केटोले यसरी प्रश्न गरिदिँदा गुमानसिंह चामलिङ अरकच्च परेका थिए। त्यस समयका प्रखर समालोचक गुमानसिंह चामलिङले आफूलाई बचाउन ‘टङ स्लिप’-को बहाना बनाउनुपरेको थियो।

त्यतिका कलिलै उमेरमा कविता रचनामात्र होइन तर कविताका सिद्धान्त र संरचनासम्बन्धी पनि उत्तिकै अख्तियार राख्ने उनका कविताहरू पढ़ेर हाँचका हाँच कविहरू जन्मेका हुन्। ‘काम लाग्यो भाँड़ो, काम सकियो अफाल् तेरो ठाँड़ो’ भनेजस्तो उनका पाइलाछापहरूलाई पछ्याउँदै अघि पुगेका कविहरूले अहिलेघरी कविताको चर्चा गरिँदा उनको नाम चटक्कै बिर्सिने गरेको कुरोले मन खिन्न हुन्छ। यद्यपि, उनलाई भारतीय नेपाली कविता साहित्यबाट जति नै उच्छेद गर्न खोजे तापनि उनको नाम उति टड्कारो भएर अघि आइरहनेछ। किनकि उनले आफ्ना कविताहरूलाई यति जीवन्त पारेका छन् कि उनका कविताहरूलाई खाड़लभित्रै पुर्न खोजे तापनि त्यहाँबाट पनि उनका कविताहरूले आफ्नो अस्तित्वको दावी गर्न सक्नेछन्।

अर्को घटना यस्तो पनि छ। एउटा अन्तर्विद्यालय कविता वाचन प्रतियोगिता कार्यक्रममा क्रमैले उनी, सागर अनुप्रास, विनोद प्रधान अनि म स्वयम्लाई निर्णायकको जिम्मेवारी दिइएको थियो। कविता वाचन सिद्धिएपछि निर्णायकको पक्षमा उनले वक्तव्य राख्दै थिए। त्यसैबेला कुनै एक विशेष विद्यालयका विद्यार्थीहरूले हल्ला गरिदिएर उनको वक्तव्यमा खलल सृजना गरिदिए। त्यो देखेर उनी रिसले आगो भए। स्टेजबाटै विद्यार्थीहरूलाई हपार्नुसम्म हपारे। सबैजना स्तब्ध बने। उनले आफ्नो वक्तव्य पूरा गरेनन्। स्टेजबाट ओर्लेपछि पनि उनको रिस मरेको थिएन। बाहिर हामी त्यही विद्यालयका शिक्षकसित गफिइरहेका थियौँ। उनले त्यहीँनेर आएर हामीसित निर्धक्क गफिइरहेका शिक्षकलाई पनि पूरै पाठ पढ़ाए। बिचरा शिक्षक अरकच्च परे। त्यसपछि उनी कार्यक्रमस्थलबाट फुइकिँदै घरतिर लागे।

कवि मनोज बोगटीले एक दिन उनको ‘सिस्नुको झ्याङ’ कविता यति झुर पाराले वाचन गरिदिए कि मलाई त रिस उठ्यो। मनोजले आफ्ना कविताहरूलाई धेरै माया गरेर वाचन गर्छन्। श्रोतासामु जतिसक्दो प्रभावकारी बनाउने प्रयास गर्छन्। तर उनको कवितालाई यति हेला गरेर किन उनले वाचन गरेका होलान् जस्तो मलाई लाग्यो। उनले भन्दा त म धेरै राम्ररी यो कवितालाई प्रस्तुत गर्न सक्थेँ भन्ने लाग्यो। त्यहाँ ‘कविता र विचार’ कार्यक्रम भइरहेको थियो। उनी पनि सहभागी कवि थिए। उनको पालो आउन बाँकी नै थियो। मैले भनेँ, ‘‘दाजु तपाईंले त्यही कविता वाचन गरेर देखाइदिनुहोस् है।’’ तर उनले टेरेनन्।

उनले ‘भाइचन्द पुरस्कार’ प्राप्त गरेको अवसरमा ‘लाग्यो परदेश सान्कान्छोको बाबु’ वाचन गरेर सुनाए। दार्जीलिङ टुरिष्ट लजमा यो कविता सुनेर म कवि नीर सेरमाको कविता सङ्ग्रहको विमोचन कार्यक्रम नसकी रूँदै घर फर्केको थिएँ। कालेबुङको टाउन हलमा फेरि यो कविता सुनेर मेरो आँखाबाट दोस्रोचोटि आँसु खस्यो। कार्यक्रम सकिएपछि सबैले उनको यो कविताको चर्चा गरे। उनले मलाई बाटोमा भने, ‘‘यो कविता म 500 पल्टसम्म सुनाउँछु।’’ फेरि 8 नोभेम्बर 2015, उनको कविता सुन्ने सौभाग्य प्राप्त भयो पुष्कर सिंगरको रूबाइ सङ्ग्रह ‘फूलको थप्पड़’-को विमोचन कार्यक्रममा। मैले बाटोमा जाँदै गर्दा भनेँ, ‘‘दाजु, ‘लाग्यो परदेश सान्कान्छोको बाबु’ सुनाउनुहोस् है। उनले फेरि पनि मलाई टेरेनन्। उनले त्यहाँ त ‘सिस्नुको झ्याङ’ पो सुनाए। उनले वाचन गरेर सुनाएपछि ‘सिस्नुको झ्याङ’ कविताको महत्त्व मेरो निम्ति दुई गुणा बढ़ेर गयो। यो कुरो लेखेर मैले यहाँ उनको स्वभाव र कविता वाचन क्षमता बताउने कोशिश गरेको हुँ।

 

टालाकटिलिक कवि

आजभोलि लेखिँदै गरिएका कविताहरूलाई उँभो उकास्ने काम केले गरेको छ? प्रश्न उठ्नसक्छ। उत्तरमा म भन्छु, स्थानीय जातगत मिथ अनि झर्रा नेपाली शब्दहरूको प्रयोग। यी दुईवटा कुराहरूलाई आजका कविहरूले प्रमुखता दिँदै आएका छन् अनि आफ्ना कविताहरूलाई चम्काएका छन्। तर उनले भने आजभन्दा दुई दशकअघि नै कवितामा स्थानीय जातगत मिथ र झर्रा शब्दहरूको महत्त्वलाई राम्रैसित बुझेका थिए। उनले आफ्नो खण्डकाव्य ‘खण्ड-अखण्ड’-मा साङ्गेरिङ्गा, टेनडोङ, प्रज्ञा पारमिता, पेमेमा, इदग्गी थुवा, स्वाङसन गेम्पो, तम्बा, रिम्फोचे आदि अनि ‘महाकाल’ कवितामा सुम्निमा, पारुहाङ, जितेदास्ती आदिजस्ता जातगत मिथक पात्रहरू चलाइसकेका थिए। यद्यपि, उनले नै यस्ता मिथहरू पहिलोचोटि चलाएका हुन् भन्ने आशयचाहिँ होइन। उनीभन्दा अघि पनि काजीमान कन्दङ्बा, वैरागी काइँला, मनप्रसाद सुब्बाहरूले खूबै दक्षतापूर्वक यस्ता मिथहरूको प्रयोग आफ्ना कविताहरूमा गरिसकेका हुन्। यतिचाहिँ भन्न सकिन्छ, उनले पनि जातगत मिथहरूलाई उत्तिकै होशियारीपूर्वक अनि सफलतापूर्वक आफ्ना कविताहरूमा 90 को दशकमै प्रयोग गरिसकेका हुन्।

एक दिन जण्डा युवा समालोचक तथा कथाकार निमा निची शेर्पासित गफिँदै थिएँ। त्यति नै बेला उनी हामीमाझ आइपुगे। भलाकुसारी भयो अनि उनी हामीसित छु़िट्टइहाले। निमा निची शेर्पाले भने- ‘टालाकटिलिक कवि!’ उनले सकारात्मक कि नकारात्मक टिप्पणी गरेका हुन् उत्तिखेरै मैले बुझ्न सकिनँ। यो कुरोले मलाई धेरै दिनसम्म रन्थनाइरह्यो। पछिबाट मैले निमा निची शेर्पाले भनेका कुरोको निष्कर्ष निकालेँ। हो त, उनले कवितालाई यति धेर खिप्छन् कि कहिलेकाहीँ त उनका कविताहरू आफूलाई मेकअप गरेर पूरै रङ्गाउन चाहने नक्कली केटीजस्तो पो लाग्छ। हुन त नक्कल पारेर आफूलाई राम्री देखाउन सक्नु पनि कला नै हो। यसमा नराम्रो केही छैन। यद्यपि, प्राकृतिक सौन्दर्यको पनि कुनै स्थान त होला नै भन्ने कुरोतिर निमा निची शेर्पाले इङ्गित गरेका हुन् कि!

 

यी गीतहरू कसैले नबजाइदियोस् जस्तो लाग्छ

एक दिन कवि विनोद प्रधानसित उनी मेरो वासस्थान बतासे आइपुगेका थिए। फर्किंदा बतासेदेखि उकालै-उकालो लागेर माथिल्लो बाटो गान्धी रोड हुँदै हामी जापानीज टेम्पल निस्केर बजारतिर लाग्यौँ। त्यसरी हिँड़्दै जाँदा अनायास मैले उनको गीतबारे सोधेँ। उदय-मनिलाले गाएका उनका गीतहरू ‘कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाउ’ अनि ‘मेरो हाल नसोध्नू, म सधैँ झैँ बेहाल छु’-को चर्चा निस्क्यो। उनले भावुक हुँदै भने- ‘‘भाइ! यी गीतहरू साँच्चै दुःखेर नै लेखिएका हुन्। यसैले त यी गीतहरू यति जीवन्त छन्। अहिले पनि यी गीतहरू सुन्दा उत्ति नै दुख्छु। यी गीतहरू कसैले नबजाइदियोस् जस्तो लाग्छ।’’

तर म भन्छु, यी गीतहरू नेपाली जनमानस रहुन्जेलसम्म बजिरहनेछन्। हामी सधैँभरि नै सन्चो सुविधा नसोधिएर दुःखिरहेका छौँ। तर उनले जस्तो शब्दहरूमा हाम्रा यी पीड़ाहरूलाई पोख्न नसकेका मात्र हौँ। यो चराचर जगत् रहुन्जेलसम्म गुन्जिरहनेछन् प्रतिभाशाली कविको गीतका हृदयस्पर्शी शब्दहरू- …म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न…।

 

जीवन जिउन सिकाउने कवि

उनलाई पत्र-पत्र देखाइदिन्छु भनेर मैले वाचा गरेको थिएँ। तर मैले त्यसो चाहिँ गरिहालिनँ। जीवनभरि पनि गर्ने छुइनँ। पाठकले त्यस्तो आशा नराखेकै असल। किनभने म कपटी छु। स्वार्थी पनि उत्तिकै। उनी मेरा प्रिय कवि मात्र होइनन्। उनी मलाई अगाध माया गर्ने एकजना दाजु पनि हुन्। उनी मेरा अभिभावक हुन्। अभिभावकले दिएका अमूल्य उपहारहरू म कसैसित साझा गर्न चाहन्नँ। उनले मलाई दुःखमा हाँस्न सिकाएका हुन्। उनैले मलाई मायाबिना पनि बेफिक्री बाँच्न सिकाएका हुन्। सबभन्दा बढ़ी उनले मलाई जीवन जिउने कला सिकाएका हुन्। उनले दिएको त्यो अमूल्य उपहार मलाई मेरै जीवनको निम्ति चाहिन्छ।

हुन त म त्यति स्वार्थी पनि छुइनँ, जति अरूले सम्झिरहेका होलान्। ‘खण्ड-अखण्ड’, ‘केवलय’, ‘आँखेझरी’ नभए ‘घर’ काव्यकृतिहरू पल्टाएर हेरे त्यहाँ उनले सिकाएका जीवन जिउने कलाहरू अवश्व भेटिनेछन्। यति हो स्वस्थ विचार र स्वच्छ मनचाहिँ खोज्नेहरूसित हुनैपर्छ। अहिलेलाई यति सङ्केत दिइराखेँ।

अन्तमा बुझ्नेले बुझिसके, मैले कसको बारेमा यतिका गन्थन गरिरहेको छु भनेर। यसर्थ म यहाँ कविको नाम लेख्न चाहन्नँ। कविको नाम यहाँ लेखिदिएर पाठकहरूलाई अन्डरएस्टिमेड गर्ने मेरो कुनै अधिकार छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया