राज्य विरूद्ध सङ्ग्रह भयो मुष्टिदानः सिलगढीबाट दार्जीलिङ दिएको छैन राशन

दार्जीलिङःगोर्खा जनमुक्ति मोर्चाले आजदेखि पहाड़भरि मुष्टिदान सङ्ग्रह शुरू गऱ्यो। जुन सङ्ग्रहित मुष्टिदान भोलिदेखि जिल्लापाल, महकुमा अधिकारी अनि खण्ड विकास अधिकारी कार्यालयमा प्रदान गरिने भएको छ। राज्य सरकारको निर्देशमा सिलगढीबाट दार्जीलिङ पहाड़ आउने राशिन, औषधि साथै अन्य आवश्यक सामग्रीहरु पहाड़ छिर्न नदिइएको विरोधमानै गोजमुमोले राज्य सरकारको नीतिको विरोधमानै यसप्रकारको कार्यक्रम शुरू गरेको छ।

जुन कार्यक्रम आगामी 3 अगस्तसम्म जारी राख्ने पनि पार्टीले योजना बनाएको छ। यसबारे गोजमुमो सहसचिव ज्योतिकुमार राईले भने-अलग राज्य गोर्खाल्यान्डको माग गर्दा गोर्खा जाति वा पहाड़वासी जनताको राशिन पाउने अधिकारसम्म खोस्ने राज्य सरकारलाई पहाड़का भोको जनताले राशिन उठाएरनै दिनेछ। संविधानको आधारमानै गोर्खा जातिले अलग राज्य गोर्खाल्यान्डको माग उठाउँदा राज्यको तृणमूल कंग्रेस सरकारले गोर्खाल्यान्ड समर्थकहरुमाथि गोली ठोक्ने कार्य गरिरहेको छ, शान्तिपूर्ण ढङ्गमा निकालिएको जुलूसमाथि टीयर ग्यास छोड्ने, गोर्खाल्यान्ड समर्थकहरुमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्ने जस्ता कार्य मात्रै होइन, पहाड़का जनताको राशिनसम्म सिलगढीबाट दार्जीलिङ छिर्न दिइएको छैन।

राज्य सरकारको यस्तो अमानवीय नीतिको विरोध गर्नको लागिनै आजदेखि पहाड़का जनताले मुष्टिदान संग्रह गर्न थालेका हुन्, जुन मुष्टिदान राज्य सरकारले पहाड़बाट लैजाओस् अनि आफ्नो भोको पेट भरोस्। यहाँको रेलवे स्टेशनबाट सधैं सरह आज पनि गोजमुमो समर्थकहरुले विराटरूपमा जुलूस निकालेका थिए अनि बंगाल सरकार विरूद्ध नाराबाजी गर्दै यहाँको चौकबजारमा भेला भएर मुष्टिदान सङ्ग्रह गरेका थिए। हजारौंको संख्यामा भेला भएका गोजमुमोका यी समर्थकहरुले आ-आफ्नो घरबाट एक-एक मुट्ठी चामल लिएर आएका थिए, जुन चामल यहाँको चौकबजारमा संग्रह गरिएको थियो। यो चामल भोलि गोजमुमोले दार्जीलिङको जिल्लापाल कार्यालयमा जिम्मा दिने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares