लोग्ने खोज्न हिँडेकी मनिकालाई पुलिसले लगायो मुद्दाः मासुमले भन्यो-यो पुलिसको अत्याचार हो

विज्ञापन

दार्जीलिङः मासुम (मानव अधिकार सुरक्षा मन्च)-ले पनि दार्जीलिङ पहाड़मा गोर्खाल्यान्ड समर्थकहरुमाथि पुलिस प्रशासनले अत्याचार गरेको ठहर गऱ्यो। जसको रिपोर्ट तयार पारेर मासुमले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष पनि पेश गरेको छ। यसैको जानकारी गराउँदै मासुमका दार्जीलिङ जिल्ला मानव अधिकार मोनिटर आशिष छेत्री, टीम लिडर करण सुब्बा र कार्यकर्ता अजय लामाले भने-दार्जीलिङ पहाड़मा चलिरहेको गोर्खाल्यान्ड आन्दोलनको क्रममा गत 17 जूनको दिन यहाँको सिंहमारीमा तीनजना गोर्खाल्यान्ड समर्थकहरुको विभत्य मृत्यु भएको थियो भने धेरैजना घाइते भएका छन् अनि धेरै घाइतेहरुलाई पछिल्तिरबाट गोली लागेको छ।

यसबाट पुलिसले पछि फर्किसकेका वा भागिरहेका गोर्खाल्यान्ड समर्थकहरुमाथि गोली चलाएको स्पष्ट भएको छ। यदि पुलिसमाथि आक्रमण गर्न आउनेहरुलाई पुलिसले गोली चलाएको भए उनीहरुको शरीरको अघिल्लो भागमा गोली लाग्न पर्थ्यो, तर उनीहरुको शरीरको पछिल्लो भागमा गोली लाग्नुबाट सोझै पुलिसले भागिरहेका आन्दोलनकारीहरुमाथि गोली चलाएको प्रमाणित हुन्छ। यति मात्रै होइन, दार्जीलिङ पुलिसले धेरैजना निर्दोष मानिसहरुलाई पनि पक्राउ गरेर विभिन्न मुद्दाहरु दर्ता गर्न कार्य गरेको छ।

जसको प्रत्यक्ष प्रमाण मनिका थामी साथै अन्यहरु हुन्। 8 जुलाईको दिन दार्जीलिङ शहरमा भएको गोलीकाण्डमा परेर एकजनाको मृत्यु भएको थियो भने सिंहमारीमा पनि अझै एकजनाको मृत्यु भएको थियो। उक्त घट्ना सुनेपछि मनिका थामी आफ्ना पतिलाई खोज्नको दार्जीलिङ शहर आएकी थिइन्, तर पुलिसले उनलाई पक्राउ गरेर उनी विरूद्ध विभिन्न मुद्दाहरु लगाएको छ। यति मात्रै होइन, गोर्खा जनमुक्ति नारी मोर्चाकी सदस्या 68 वर्षीया धनमाया तामाङलाई पनि पुलिसले रातीको समय पक्राउ गरेको छ।

कानूनअनुसार, कुनै पनि महिलालाई पुलिसले रातीको समय पक्राउ गर्नसक्ने प्रावधान छैन अनि कुनै महिलालाई पक्राउ गर्दा महिला पुलिसको उपस्थिति अनिवार्य हुन्छ। तर धनमाया तामाङलाई पक्राउ गर्दा यसप्रकारका कानूनी प्रावधानहरु उल्लंघन गरिएको पनि स्पष्ट रहेको आशिष छेत्री र करण सुब्बाले बताए। यी सम्पूर्ण विषयहरुलाई सामेल गरेर यस मानव अधिकार टोलीले आफ्नो अभिभावक संगठनसमक्ष रिपोर्ट पेश गरेको बताएको छ। यसरीनै मासुमले दार्जीलिङ पहाड़मा भएका यी घट्नाहरुको जाँच बंगाल पुलिसको अधीनमा हुन दिन नहुने पनि माग गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया