दिल्लीले गऱ्यो जीएमसीसीलाई प्रश्नः के यो बाँच्छ?- जीएमसीसीकै प्रतिनिधिहरूले उत्तर दिए- गोजमुमोले आफ्नै कार्यक्रम फ्याँक्ने हो भने जीएमसीसी चल्दैन

विज्ञापन

दिल्लीः 6 वटा बैठक गरेर पनि कुनै प्रभावकारी कार्यक्रम दिन नसक्ने गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीलाई दिल्लीले सोध्यो, के यो कमिटी बाँच्छ?

सातौं बैठक गर्न दिल्ली पुगेका जीएमसीसीका प्रतिनिधिहरूले यसको उत्तर त दिए, तर उनीहरूले वास्तवमा प्रश्न नै बुझेनन्। वास्तावमा यो प्रश्न बोक्नुपर्ने जिम्मेवारी र यसमाथि जनताले गरेको भरोसाको विपरीत कुदिरहेको जीएमसीसीको सुस्ततामाथिकै प्रश्न थियो।

प्रश्नकर्ताहरू सोध्न चाहान्थे, के यस्तो केटाकेटीपनाले जीएमसीसी चल्छ? अर्थात जीएमसीसीको असक्षमता यसका प्रतिनिधिहरूलाई बताउन चाहान्थे तर प्रतिनिधिहरूले यसलाई सामान्य प्रश्न मात्र बुझिरहेका थिए।

दिल्लीमा विभिन्न राज्यका गोर्खाहरूले जुन कार्यक्रम गरिरहेका छन्, त्यो जीएमसीसीले दिएको कार्यक्रम होइन। आज विश्वभरिकै गोर्खाहरूले सडक उत्रिएर जुन गोर्खा एकता देखाए त्यो जीएमसीसीको कार्यक्रम थिएन। जुन अनिश्चितकालीन बन्द चलिरहेको छ, त्यो पनि जीएमसीसीले बनाएको कार्यक्रम होइन।

जीएमसीसीले न त केन्द्रका प्रतिनिधिहरूलाई भेट्ने, गोर्खाल्याण्डको औचित्य बुझाउने कार्यक्रम बनाइरहेको छ न त आन्दोलनलाई दिगो र प्रभावकारी बनाउने कुनै योजना नै सार्वजनिक गरेको छ। जनता सोधिरहेका छन्, ‘जीएमसीसी के तारिक पे तारिक, तारिक पे तारिक’ भन्ने डायलग भट्याउन मात्र गठन गरिएको हो?

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका आरबी राई आमरण अनशन बस्छु भन्ने बित्तिकै जीएमसीसीले किन आमरण अनशनकै कार्यक्रम फिर्ता गऱ्यो? हरेक मिटिङमा किन गोर्खा जनमुक्ति मोर्चाको दबदबा देखियो?

किन जीएमसीसीलाई कार्यक्रम बनाउने वातावरण मोर्चाले दिएन?  सर्वदलीय समितिका हरेक निर्णय किन मोर्चाका नेताहरूले सुनाए? किन जीएमसीसीको बैठकमा मोर्चाका नेताहरूले भाषण मात्र सुनाए अनि उनीहरूले नै तय गरेको कार्यक्रममा सहमति जुटाए? किन मोर्चाका कार्यक्रमको कारण शहिद बनेकाहरूलाई श्रद्धाञ्जली दिने सङ्गठन मात्र बन्यो जीएमसीसी?

के यो गठन हुँदा सर्वदलीय बहस भयो?  यसका अधिकार किन मोर्चाको नियन्त्रणमा राखियो? यसको क्षमतालाई किन खुम्च्याइयो? किन जीएमसीसीले कुनै रणनीति बनाएन? जीएमसीसीको बैठकमा दिल्लीमा मोर्चाले चढाएको मेमोरेण्डम किन सार्वजनिक गरिएन? अथवा जीएमसीसी आफैले किन मेमोरेण्डम बनाएन? मानिसमा यस्ता जुन हजारौँ प्रश्नहरू छन्, त्यसैको निचोड प्रश्न आज दिल्लीमा उठ्यो।

त्रिलोक देवानले यसरी जीएमसीसी चल्छ चल्दैन भनेर प्रश्न सोध्नु आन्दोलनको भविष्यबारे प्रश्न  गर्नु रहेको भन्दै जीएमसीसी बाँचे आन्दोलन बाँच्ने बताए। ‘तर यसमा पार्टीका शीर्ष नेताहरू पनि हुनुपर्छ,’ उनले भने, ‘सबै मिलेर यसलाई बँचाएर प्रभावकारी आन्दोलन गर्नुपर्छ।’

सुखमन मोक्तानले भने संयुक्तरूपमा बनाइएको सामुहिक कार्यक्रमलाई लिएर अघि बढेमात्र जीएमसीसीको भविष्य रहने किटान गरे।

सीके श्रेष्ठको कुरा पनि उस्तै थियो। ‘हामी सबै चल्यौं भने जीएमसीसी पनि चल्छ, हामीमध्ये केही चलेनौं भने जीएमसीसी पनि चल्दैन’, श्रेष्ठले भने। दावा पाखरिनले  कुरा अझ स्पष्ट पारिदिए। ‘गोजमुमोले आफ्नै कार्यक्रम फ्याँक्ने हो भने जीएमसीसी चल्दैन,’ पाखरिनले भने।

क्रामाकपाका गोबिन छेत्रीले भने जीएमसीसी चल्नु नचल्नु जनताको हातमा रहेको बताए। ‘जनताले चाहे यो चल्छ,’ छेत्रीले थपे।

जीएमसीसीले दिल्लीका जनतासित आन्दोलनबारे अन्तरक्रिया गर्न खोजेको थियो, तर प्रश्न जीएमसीसीको औचित्यमाथि नै उठ्यो।

गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष कीरण बिकेले पनि धेरै प्रश्न उठाए। जीएमसीसीलाई मोर्चाले चलाउँछ? उनको प्रश्नको आशय यस्तो थियो।

कल्याण देवान, जो जीएमसीसीका संयोजक पनि हुन्, उनले जीएमसीसी स्वतन्त्र रहेको त बताए तर जीएमसीसीको क्षमताबारे भने प्रभावकारीरूपले बोलेनन्। सांसद भाजपाको मन्त्री भएको नबोलेका हुन् कि भन्ने आशयमा देवानले बीट मारे। यद्धपि सीके श्रेष्ठले सांसदको अनुपस्थिति खट्किएको बताए।

धेरैबेरसम्म चलेको अन्तरक्रियाबाट दिल्लीले जीएमसीसीमाथि गरेको शङ्का जीएमसीसी प्रतिनिधिहरूले सबै हटाउन त सकेनन् तर उप्रान्त जीएमसीसीलाई बलियो पार्ने विश्वास भने दिलाए। तर जीएमसीसी कति बलियो हुनेछ, भोलिको बैठकले स्पष्ट भइहाल्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया