आज प्रेमचन्द जयन्तीः जीवनी र जीवनकथा

हिसाबमा कमजोर प्रेमचन्दको जीवन हिसाब

भीम राणा


मृत्युको दशकौँपछि पनि आफ्ना कठिन साधनाबाट जन्मिएका महान् कृतिहरूका कारण सधैँ जीवित रहन्छन्– प्रेमचन्द। विशेषत: उपन्यास लेखन र शिल्पमा उनी कहिल्यै बिर्सिइँदैनन्। झन्डै दर्जन उपन्यासबाट भारतीय साहित्यलाई उनले छुट्टै उचाइ दिए। त्यसैले उनलाई भनिन्छ– ‘भारतीय उपन्यास सम्राट’। उनको वास्तविक नाम धनपत राय हो । तर, ‘प्रेमचन्द्र’ नामले उनी स्थापित मात्रै होइन, विश्वविख्यात बने ।
३१ जुलाई १८८० मा भारतको वाराणसीदेखि चारमाइल टाढाको लमही गाउँको पाण्डेपुरको एक निर्धन परिवारमा बुबा अजायवलाल र आमा आनन्दीदेवीको सन्तानका रूपमा जन्मेका प्रेमचन्दको परिवार ठूलो थियो, सम्पत्तिको नाउँमा ६ बिघा जमिन । उनको परिवार बाबुको हुलाकको खरिदारको जागिरले जेनतेन चलेको थियो । प्रेमचन्दले गाउँको स्कुलबाटै प्रारम्भिक शिक्षा आर्जन गरेका थिए । आर्थिक स्थिति कमजोर भएकाले बाल्यकालमा बडो दु:खी थियो । राम्रो लाउनु र मीठो खानु कल्पनामा मात्रै सीमित हुन्थ्यो । स्कुलमा पनि उनी कमजोर विद्यार्थी थिए, गणितमा त झनै कमजोर । स्कुलमा उनी गणितको कक्षा बंक गर्थे । सानोमा बरालिएर बिग्रनुसम्म बिग्रेका थिए । एकदमै चकचके स्वभाव थियो । पढ्नमा होइन, खेल्नमा जोड दिन्थे । त्यही उमेरमा उनले साथीभाइको खराब संगतबाट चुरोट, बिँडी खान सिके । नराम्रोसँग बिग्रिए । आवारा, लफंगा बने ।
जुनबेला उनी खराब साथीभाइका संगतले जीवनको नराम्रो मार्गमा थिए, त्यही बेला एकजना किताब पसलेसँग उनको चिनजान भयो । त्यही सामान्य चिनजानले उनको जिन्दगीको लय नै बदलिदियो । भएको के थियो भने प्रेमचन्दका बाबुको हुलाकी जागिरेको क्रममा गोरखपुरमा सरुवा भयो । त्यतिखेर उनी १३औँ वसन्तमा हिँड्दै थिए । त्यहीको एक किताब पसलेसँग उनको जानपहिचान भएको थियो । फुर्सदको समय उनी त्यही बुद्धिलालको किताब पसलमा पुग्थे । त्यहाँ जाँदाजाँदै उपन्यास पढ्ने बानी बस्यो । सुरुमा उनलाई उर्दुमा लेखिएको उपन्यासले ध्यान तान्यो । पछि हिन्दीमा लेखिएका कैयौँ उपन्यास, काल्पनिक, जादुगरी तिलस्मी कथाहरू पढ्न थाले । उनमा एकप्रकारको पढ्ने लत नै बस्यो । उनले लेख्न सुरु गरे । सन् १८९७ अर्थात् १७ वर्षको उमेरदेखि निरन्तर लेख्न थाले । बीएसम्म अध्ययन गरेका प्रेमचन्द्रले सुरुमा उर्दु, फारसी र अंग्रेजी भाषा अध्ययन गरे ।
बनारसको क्विन्स कलेजमा पढिरहँदा उनको पन्ध्र वर्षको कलिलै उमेरमा एकजना राम्री युवतीसँग बिहे भयो । युवती राम्री भए पनि शीलस्वभाव, बानी व्यहोरा खराब थियो । प्राय: प्रेमचन्दसँग झगडा गरिरहन्थिन् । यसैकारण उनको वैवाहिक जीवन सफल हुन सकेन । बिहे गरेको दुई वर्षपछि आमा गुमाएका प्रेमचन्दले केही समयपछि बाबु पनि गुमाए । वैवाहिक जीवन असफल हुनु, बाबुआमाले सदाका लागि छोडेर जानुले उनी टुहुरो भए । जीवन–हिसाब बडो कष्टपूर्ण गतिमा हिँड्यो । पढाइ जारी राख्न धौधौ भयो । बाँच्नका लागि ट्युसन पढाउन थाले । जिन्दगी त अझै पनि कष्टपूर्ण नै थियो । खर्चले कहिल्यै पुगेन । हुँदाहुँदा बाँच्नका लागि आफ्ना महँगा पुस्तकहरू बेच्नुपर्ने स्थिति पनि आयो । त्यसमाथि ऋण लाग्यो । जस्तोसुकै कठोर स्थितिमा पनि साहित्य अध्ययन र लेखन छोडेनन् ।
प्रेमचन्द गान्धीजीको असहयोग आन्दोलनबाट निकै प्रभावित थिए । उनी रूढीवादी र कट्टरवादीको कडा शब्दमा विरोध गर्थे र मौलिक सुधारको वकालत गर्थे । उनले अंग्रेज साम्राज्यवादविरुद्ध जनमत तयार गर्ने काम सुरु गरे ।
पहिलो विवाह असफल भएपछि उनले दोस्रो विवाह शिवरानी नामक विधवा महिलासँग गरे । त्यतिखेर विधवालाई पत्नी स्विकार्नु ठूलो साहसिक कदम थियो, एउटा सामाजिक विद्रोह । उनीहरूको वैवाहिक जीवन सुमुधुर भयो । शिवरानीले प्रेमचन्दलाई प्रत्येक सुखदु:खमा साथ दिइन् । प्रेमचन्दले आफ्नी पत्नी शिवरानीलाई कति माया गर्थे भने उनले लेखेको यो पत्र साक्षी छ :
प्रिय रानी,
म तिमीलाई छोडेर काशी आएँ तर यहाँ तिमीविना शून्य लागिरहेको छ । के भनूँ ? तिम्री बहिनीको कुरा कसरी नमान्नु ? नमान्दा तिमीलाई नराम्रो पनि लाग्ने थियो । जतिबेला तिमीलाई उनीहरूले रोके, तब म तनाबयुक्त बनेँ । तिमी त आफ्नी बहिनीसँग बसेर त्यहाँ खुसी छौ होला तर म यहाँ चिन्तित छु, जस्तो एउटा गुँडमा दुइटा पक्षी बसेका हुन् र तीमध्ये एउटा नहुँदा दोस्रो चिन्तित भएको छ । तिम्रो यही न्याय हो, तिमी त्यहाँ मोज गर म तिम्रो नामको माला जप्नेछु । तिमी मसँग भएको भए म भरसक कतै जाने नाम लिने थिइनँ । तिमी आउने नामै लिँदिनौ । मलाई १५ तारिखमा प्रयोग प्रयाग युनिभर्सिटीमा बोलाइएको छ । यसैकारणले म अहिलेसम्म आउन सकिरहेको छैन नत्र अहिलेसम्म म एक्लै बस्ने नै थिइनँ, पहिल्यै आइसक्ने थिएँ । यसैले म पर्खेर बसेको छु । अब तिमी १५ गते आउनका लागि तयार भएर बस्नू । साँच्चै भनिरहेको छु, घरले मलाई खाइरहेको छ । कहिलेकाहीँ यो सोच्ने गर्छु, यो सबैले यसरी नै चिन्ता गर्ने गर्छन् या मैल मात्र हो ? तिमी भएको ठाउँसम्म रुपियाँ पुगिसक्यो होला । तिम्री बहिनीलाई मेरो नमस्ते सुनाइदिनू । बच्चालाई माया । कतै यो पत्रसँग म आइपुग्न पनि सक्छु । जवाफ छिट्टै लेख्नू ।
– धनपत
जिन्दगीभर साहित्य सिर्जनामा समर्पित प्रेमचन्दको पहिलो उपन्यास मन्दिरको रहस्य (आसरारे अवीद्) थियो । त्यो उपन्यास सन् १९०३ मा उर्दु साप्ताहिक पत्रिका ‘आवाजे खल्के’ मा धारावाहिक रूपमा प्रकाशित भएको थियो । यसैगरी, उनको दोस्रो उपन्यास ‘प्रेम’ हिन्दी साहित्यमा प्रकाशित भएको थियो । सन् १९०५ मा राजनीतितिर आकर्षित भएर ‘जमाना’ नामक पत्रिकामा राजनीतिक लेखहरू लेख्न थालेका थिए । साहित्यमा आफ्नो लेखन निखार्दै उनले ‘सेवासदन’ नामक उपन्यास निकाले । त्यो उपन्यासले भारतमा हल्लीखल्ली नै मच्चायो । सन् १९२४ मा उनले ‘रंगभूमि’ जस्तो चर्चित उपन्यास लेखेर श्रमिकको आवाजलाई बुलन्द पारे । यस उपन्यासले उनलाई चर्चाको शिखरमै पुर्‍यायो । उनलाई भारतमा ‘उपन्यास सम्राट’को पदवीले विभूषित गरियो ।
उनले सन् १९३१ मा गवन, सन् १९३२ मा कर्मभूमि र सन् १९३६ मा बहुचर्चित उपन्यास गोदान प्रकाशित गरेका थिए । उनको मंगलसूत्र उपन्यास अधुरै रह्यो । त्यसैले गोदान नै उनको अन्तिम र बहुचर्चित उपन्यास हुन पुग्यो । यसो त गोदानभन्दा अघि सेवासदन, निर्मला, प्रतिज्ञा, वरदान, कायाकल्प र प्रेमाश्रमजस्ता चर्चित उपन्यास पनि लेखेका थिए । प्रेमचन्दले नाटक क्षेत्रमा पनि उत्तिकै सशक्त कलम चलाएका छन् । उनका प्रख्यात नाटकहरूमा प्रेमको कैदी, कविता, संग्राम र मजदुर हुन् । झन्डै तीन सयजति कथा लेखेका प्रेमचन्दका उल्लेख्य कथाहरूमा नवनिधि, द्वादशी, प्रेमपूर्णिमा, पञ्चप्रसून, सप्तसुमन, प्रेमपच्चिसी, सप्तसरोवर, प्रेम आदि पर्दछन् । उनले चेखब, टल्सटाय, डिकेन्स, गोर्कीका कृतिको अनुवाद पनि गरेका थिए ।
मुन्सी प्रेमचन्दका अधिकांश उपन्यासमा किसान र जमिन्दारबीचको युद्ध, श्रमिक र मालिकबीचको लडाइँ, छुवाछूतको विरोध तथा मानवताको मूल्यका कथा छन् । उनलाई विश्वचर्चित बनाउने उपन्यास भने ‘गोदान’ नै हो । उनले यस उपन्यासमा ‘मेहता’ पात्रमार्फत आदर्श वाक्य बोलका छन्, ‘मसँग यस्ताहरूप्रति कुनै सहानुभूति छैन, जो कम्युनिस्टहरू भैँm कुरा गर्छन् र राजकुमारहरूभैँm जीवन व्यतीत गर्छन् ।’
स्वतन्त्रता र न्यायका पक्षपाती प्रेमचन्द आफ्नो जिन्दगीको उत्तरार्धमा विभिन्न रोगले ग्रस्त भएर थलिए । उनलाई सन् १९३२ देखि ग्यास्ट्रिक, अल्सर र ड्रप्सीजस्ता रोगले समातेर ओछ्यानमा परे । ५६ वर्षमा ८ अक्टोबर १९३६ मा यस धर्तीबाट उनी बिदा भए ।

(सौर्य दैनिक)

 

भगवान् भरोसा

प्रेमचन्द


मेरो जीवन सपाट, समतल मैदानजस्तै छ । यसमा कहीँकहीँ सामान्य खाल्टाखुल्टी त छन् तर घना जंगल, पर्वत, खण्डहरलगायतको कुनै स्थान छैन । जो मान्छे पहाड घुम्ने रहर गर्छ तिनीहरू त मलाई देखेर निराश हुन्छन् । मेरो जन्म सन् १८८० मा बनारस सहरबाट ४ मिल टाढा लमही गाउँमा भयो । पिता हुलाकमा सामान्य ‘क्लर्क’ थिए । आमा दीर्घरोगी, एउटी दिदी पनि थिइन् । त्यसबेला पिताजीको मासिक आम्दानी २० रुपैयाँ थियो । तलब ४० रुपैयाँ पुग्दानपुग्दै उनको निधन भयो । त्यसो त उनी साह्रै विचारशील, जीवनपथमा आँखा हेरेर हिँड्नेखालका व्यक्ति थिए । तर, अन्तिम दिनतिर एउटा नराम्रो चोट खाए । उक्त चोटबाट आफू त लडे नै साथमा मलाई पनि लडाइदिए । जम्मा १५ वर्षको उमेरमा मेरो विवाह गरिदिए । विहा गरेको वर्ष दिन पनि नपुग्दै आफू भने कहिल्यै नफर्किने गरी गए ।

त्यसबेला म नौ कक्षामा पढ्थेँ । घरमा पत्नीका साथै हामी पाँच जना थियौँ, आम्दानी फुटेको कौडी थिएन । घरमा अलिअलि भएको पैसा पनि पिताजी छ महिना विरामी हुँदा र निधनपछि क्रियाकर्ममा खर्च भइसकेको थियो । मेरो सपना थियो एमए पास गर्ने र वकिल बन्ने । त्यस समय पनि जागिर अहिले जस्तै दुष्प्राप्य नै थियो । मेरो खुट्टामा फलाममात्र होइन अष्टधातु बाँधिएको थियो, तर म चढ्न चाहन्थेँ अग्लो पहाड !

खुट्टामा जुत्ता थिएन, शरीरमा सद्दे कपडा थिएन । स्कुल साढे तीन बजे छुट्टी हुन्थ्यो । म काँसीको क्विन्स कलेजमा पढ्थेँ । हेडमास्टरले मासिक शुल्क मिनाहा गरिदिएका थिए । परीक्षा आँगनमै आइसकेको थियो । र, म एक जना केटोलाई पढाउन जान्थेँ । जाडोको दिन थियो । चार बजे पुग्थेँ, ६ बजे निस्कन्थेँ । त्यहाँबाट मेरो घर पाँच मिल टाढा थियो । जति तेज हिँडे पनि घर पुग्दा ८ बजिहाल्थ्यो । भोलिपल्ट बिहान पुनः ८ बजे घरबाट हिँड्नु परिहाल्थ्यो । राति खाना खाएर टुकीमा पढ्थेँ, कुनबेला निद्रा आउँथ्यो पत्तै पाउँदैनथेँ । तर पनि मैले हिम्मत हारेको थिइनँ ।

म्याट्रिकुलेस त जसोतसो पास गरेँ, दोस्रो श्रेणीमा । क्विन्स कलेजमा पढ्ने आशा मरिसकेको थियो । मासिक शुल्क मिनाहा हुन राम्रो नम्बर ल्याउनुपथ्र्यो । संयोग, त्यही वर्ष हिन्दु कलेज खुल्यो, त्यही नयाँ कलेजमा पढ्ने सोच बनाएँ । त्यहाँका प्रिन्सिपल थिए– मिस्टर रिचर्डसन । म उनको घर गएँ । उनी कुर्ता र धोतीमा थिए, पूरै हिन्दु पहिरन । मेरो आधा प्रार्थना सुनेर उनले भने– म कलेजको कुरा घरमा  सुन्दिनँ, कलेजमै आऊ । म कलेजमै गएँ, तर मेरो शुल्क मिनाहा भएन । कुनै विशिष्ट व्यक्तिको सिफारिस लैजान सक्दामात्र मिनाहा हुने देखियो । म एउटा गाउँले युवक, कसरी विशिष्ट व्यक्ति चिन्नु र सिफारिस पाउनु !
केही दिनको मेहनतपछि मलाई एउटा सिफारिस मिल्यो । ठाकुर इन्द्रनारायण सिंह हिन्दु कलेजको प्रबन्धकारिणी सभामा थिए । म उनीछेउ गएर रोएँ । सायद उनलाई मप्रति दया लाग्यो, सिफारिस दिए । खुसी हुँदै म घर फर्कें । अर्को दिन उक्त सिफारिस प्रिन्सिपललाई बुझाउने इच्छा थियो । तर, घर पुग्दानपुग्दै मलाई बेस्सरी ज्वरो आयो । दुई सातासम्म त हलचल नै गर्न सकिनँ । विभिन्न जडिबुटी खाएर एक महिनामा निको भएर उनै प्रिन्सिपल रिचर्डसनलाई सिफरिसपत्र बुझाउन गएँ ।

रिचर्डसनले ठूलो आँखा पार्दै मलाई सोधे– यतिका दिन कहाँ थियौ ?

बिरामी भएँ सर ।

कस्तो बिरामी ? उनले पुनः सोधे ।

म यो प्रश्नको उत्तर दिन तयार थिइनँ । ज्वरो आयो भनुँ भने मैले झुटो बोलेको ठहरिन सक्छ । मलाई ज्वरो भनेको सामान्य बिरामी लाग्थ्यो, जुन ठीक हुन यति लामो समय लाग्दैनथ्यो । अब के भन्ने ! मलाई अन्य रोगको नामै याद भएन । सिफारिस लिन जाँदा ठाकुर इन्द्रनारायणले मुटुकको धड्कनको रोगबारे चर्चा गरेको सुनेको थिएँ, मैले पनि त्यही रोग लाग्यो भन्दिएँ ।

प्रिन्सिपल मतिर हेर्न थाले । अब त तिम्लाई ठीक छ नि ? उनले मसँग सोधे ।
ठीक छु सर ।

ल जाऊ प्रवेशपत्र भरेर ल्याऊ ।

उनले मेरो योग्यता परीक्षा लिन आदेश दिए ।

मेरा निम्ति फेरि नयाँ समस्या जन्म्यो । मलाई अंग्रेजीबाहेक कुनै पनि विषयमा पास हुने आशा थिएन । बीजगणित र ज्यामिति भनेपछि मेरो शरीरको रौँ पनि काँप्थे । म भाग्यमाथि विश्वास गर्दै कक्षामा गएँ । बंगाली प्राध्यापक कक्षामा अंग्रेजी पढाइरहेका थिए, वासिङ्टन इर्विनको ‘रिपभान विंकिल’बारे बोलिरहेका थिए । मैले आफ्नो फर्म उनलाई देखाएँ र पछिल्लो सिटमा गएर बसेँ । एकदमै कुशल शिक्षक उनले उक्त पाठबारे मलाई थुप्रै प्रश्न सोधे । मेरो फर्ममा उनले ‘सन्तोषजनक’ भनी लेखिदिए ।

अर्को पिरियड बीजगणितको थियो । त्यसका शिक्षक पनि बंगाली नै थियो । मैले आफ्नो फर्म देखाएँ । नयाँ कलेज भएका कारण कक्षामा अयोग्य विद्यार्थीको भीड नै थियो । प्राध्यापकले मेरो परीक्षा लिए, म फेल भएँ । ‘असन्तोषजनक’ लेखिदिए । म उक्त फर्म लिएर प्रिन्सिपलकहाँ जान सकिनँ, सीधै घर फर्कें । गणित भन्नु मेरा लागि गौरीशंकर हिमालको चुचुरो नै थियो । इन्टरमिडियटमा दुई पटक गणितमा फेल भएपछि मैले परीक्षा दिन छाडेँ । दस–एघार सालपछि मैले अर्कै विषय लिएर सजिलोसँग पास गरेँ । त्यस समयमा यस्तै अनिच्छित विषय पढ्नुपर्दा कैयाँै विद्यार्थीले पढ्न छाडे होलान् !

मलाई भने जसरी पनि अगाडि पढ्ने इच्छा भइरहन्थ्यो । घर बसेर के गर्नु ? बरु गणित विषयमा मेहनत नै गरुँ, पुनः कलेज भर्ना होऊँ भन्ने लाग्थ्यो । यसका निम्ति सहर पस्नु आवश्यक थियो । संयोगबस एक जना वकिलका पुत्रलाई पढाउने मौका मिल्यो, तलब पाँच रुपैयाँ तोकियो । दुई रुपौँया आफूलाई र बाँकी घरमा दिने निश्चय गरेँ । सहरमा उनै वकिल बस्ने ठाउँमा सानो कच्ची कोठा थियो, म त्यहीँ बस्न थालेँ । म दैनिक काम सकेर गणित पढ्नका लागि लाइब्रेरी जान्थेँ । गणितमा ध्यान जाँदैनथ्यो, उपन्यासलगायतका साहित्य पढ्थेँ ।

वकिलको सालो मसँगै म्याट्रिकुलेसनमा पढ्थ्यो । तिनैले मलाई पढाउने अवसर जुटाइदिएका थिए । उनीसँग मित्रता भयो, पैसा आवश्यक पर्दा तिनैसँग सापटी माग्थेँ । जुन दिन पसलमा उधारो लिन संकोच लाग्थ्यो, त्यस दिन म भोकै हुन्थेँ । चार–पाँच महिना यसैगरी बित्यो । एक जना पसलेसँग दुईअढाइ रुपैयाँको कपडा उधारो लिएको थिएँ । दुई–तीन महिनासम्म पनि उसको पैसा तिर्न नसक्दा म पसलको बाटो हिँड्नै छाडेँ । त्यो पैसा तिर्न मलाई तीन वर्ष लाग्यो ।

जाडोका दिन थियो, साथमा एक पैसा थिएन । पसलेले उधारो दिन बन्द गरिदिएको थियो । साँझको बत्ती बलिसकेको थियो । म एउटा पुस्तक पसलमा किताब बेच्न गएको थिएँ । चक्रवर्ती गणितको कुञ्जी थियो मसँग, दुई वर्षअघि किनेको । म निराश हुँदै उक्त पुस्तक बेच्ने निर्णयमा पुगेको थिएँ । म एक रुपैयाँमा किताब बेचेर फर्कंदै थिएँ । अचानक एक जना लामो जुँगा भएको मान्छेले मलाई भन्यो– तिमी कहाँ पढ्छौ ?

मैले भनेँ– पढ्न त हाल कहीँ पनि पढ्दिनँ, तर कतै पढूँ भन्नेचाहिँ लाग्छ ।

‘म्याट्रिकुलेसन पास ग¥या छौँ ?’

‘छ ।’

‘कतै जागिर खाने त इच्छा छैन होला !’

‘कहाँ पाइन्छ र जागिर ?’

यी मान्छे एक हाइस्कुलका हेडमास्टर रहेछन् । उनलाई एक जना सहकारी अध्यापक चाहिएको रहेछ । १८ रुपैयाँ तलब रहेछ । मैले स्वीकारेँ त्यो जागिर । उक्त पैसा त्यस समय मेरा निम्ति भरपूर थियो, मेरो कल्पनाभन्दा अधिक । १८९९ को कुरा थियो यो । जुन दिन मैले १८ रुपैयाँ तलब पाउने जागिर पाएँ, त्यस दिन मेरो खुट्टा जमिनमा थिएन । यस्तो लाग्थ्यो, गणित कमजोर नहुँदो हो त म अवश्य अघि बढ्थेँ, तर विश्वविद्यालयमा विद्यार्थीको मनोविज्ञान कहाँ बुझ्ने काम हुन्थ्यो र !

मैले सुरुका दिनमा गल्प लेख्न थालेँ । रविन्द्रनाथ टैगोरको गल्प अंग्रेजीमा थुप्रै पढेको थिएँ र तिनको उर्दु अनुवाद गरेर पत्रपत्रिकामा छपाएको पनि थिएँ । उपन्यास पनि मैले १९०१ मा लेख्न सुरु गरेको हुँ । एउटा उपन्यास १९०२ मा निक्ल्यो, दोस्रोचाहिँ १९०४ मा । मेरो पहिलो कथाको शीर्षक थियो– ‘संसारका सबसे अनमोल रत्न’ । त्यो कथा १९०७ मा ‘जमाना’ पत्रिकामा छापियो । पाँच वटा कथा राखेर संग्रह निकालेँ १९०९ मा ‘सोजे वतन’ शीर्षकमा । पाँचैवटा कथा देशप्रेममा केन्द्रित थिए । त्यसबेला ‘बंग–भंग’ आन्दोलन चलिरहेको थियो । कांग्रेस पार्टी स्थापना भएर बलियो बन्न थालिसकेको थियो ।

त्यसबेला म हमिरपुर जिल्लास्थित शिक्षा विभागमा डिप्टी इन्सपेक्टर थिएँ । कथासंग्रह निस्केको ६ महिना भइसकेको थियो । एक दिन राति जिल्लाधीशले मलाई बोलाए । ३०–४० मिल पर रहेको उनी भएको ठाउँमा पुगेँ । उनले आफ्नो अघिल्तिर मेरो कथासंग्रह राखेका थिए । म त्यो देखेर झसंग भएँ । त्यसबेला म आफ्नो वास्तविक नाममा नलेखेर ‘नवावराय’ नामबाट लेख्थेँ । मैले थाहा पाइसकेको थिएँ, गुप्तचर प्रहरी यो पुस्तक लेखकको खोजी गरिरहेका थिए । मलाई लाग्यो, जिल्लाधीशले यो कुरा थाहा पाए अनि यसबारे सोध्न मलाई बोलाए ।

‘यो पुस्तक तिम्ले लेख्या हो ?’

मैले स्वीकार गरेँ ।

उनले मसँग पाँचैवटा कथाको आशय सोधे । र, मुख बिगार्दै भने– तिमी अंग्रेजको जागिर खाएर आफ्नो भाग्य चम्काइरहेका छौ । तर पनि यस्तो कथा लेख्छौ ! मुगलकालमा भएको भए तिम्रो दुइटै हात काटिन्थ्यो । तिम्रा कथाहरू एकांगी छन् । अंग्रेज सरकारलाई गालि गरेका छौ।

उनका कुरा सुनेर मलाई यस्तो लाग्यो– संग्रहका सबै प्रति सरकारको जिम्मा लगाइदिऊँ र जिल्लाधीशको अनुमतिबिना केही पनि नलेखूँ । हजार प्रति निस्केको उक्त पुस्तक जम्माजम्मी तीन सय बिकेको थियो, मैले बाँकी प्रति जिल्लाधीशलाई बुझाइदिएँ ।

संकट टरेको महसुस भयो मलाई केहीछिन त । तर, सरकारी अधिकारीहरू यत्तिमै सन्तुष्ट भएका थिएनन् । मैले लेखेका गल्पहरूको अर्थ खोज्न थालियो । पुलिसहरू मलाई खतरनाक मान्छे देख्न थाले । डिप्टी इन्सपेक्टर भने मलाई खुब स्नेह गर्थे । उनले मेरो कलममात्र उग्र रहेको, तर विचारधारा त्यस्तो नरहेको बताइदिए । उनको कुरा नचाहेरै पनि सबैले स्वीकार गरे ।

म हमिरपुरमै थिएँ । पेटमा गडबडी हुन थाल्यो । गर्मीको महिना खानपानमा अलिकति तलमाथि भयो कि पेट दुख्न थाल्थ्यो । मलाई लाग्थ्यो बुन्देलखण्डको हावापानी नै यस्तो, जसले मेरो दुर्बल पाचनशक्तिलाई झनै कमजोर पारिदियो । तातोपानी भरिएको बोतलले पेट सेकेँ, विभिन्न घरेलु उपचार पनि गरेँ तर ठीक भएन ।

खानपानमा ध्यान दिन थालेँ । तर पनि पेटमा गडबडी भई नै रहन्थ्यो । थुप्रै पटक कानपुर पुगेर औषधिउपचार पनि गराएँ । डाक्टरी र आयुर्वेदिक दुवैखाले उपचारले पनि ठीक भएन । मलाई लाग्यो, अब जागिरको अफिस सार्नुपर्छ । म रोहेलखण्डस्थित नेपालको तराईसँग नजिक रहेको गयाको वस्ती जिल्लामा पुगेँ । सौभाग्यबस त्यहाँ मेरो परिचय पण्डित मन्नन द्विवेदीसँग भयो । उनीसँग साहित्यिक चर्चा हुन थाल्यो । त्यहाँ पनि मेरो पेटको रोग घटेन । लखनउ गएर उपचार गराएँ, तर पनि ठीक भएन । त्यसपछि मैले जागिर छाडेँ र वस्तीको एउटा हाइस्कुलमा पढाउन थालेँ । त्यहाँबाट पनि सरुवा भएर गोरखपुर पुगेँ ।
मैले वस्ती जिल्लामै रहँदा ‘सरस्वती’ पत्रिकामा थुप्रै गल्प छपाएको थिएँ । गोरखपुरका साहित्यकर्मीहरूको प्रेरणामा ‘सेवा सदन’ नामक उपन्यास लेखेँ । यो उपन्यासको सफलताले मलाई ‘प्रेमाश्रम’ लेखेँ, साथै गल्पहरू पनि लेखिरहेँ । साहित्यमा सक्रिया रहँदारहँदै मलाई पेटको गडबडीले साह्रै दुःख दिन्थ्यो । मेरो पेट बढ्न थालेको थियो, मलाई सामान्य हिँडडुल गर्न पनि गाह्रो हुन थाल्यो । मलाई लाग्न थाल्यो– अब धेरै दिन म बाँच्दिनँ ।

एक दिन साँझपख उर्दुबजारमा दशरथप्रसादजी द्विवेदी (सम्पादक ‘स्वेदश’) सँग मेरो भेट भयो । कहिलेकाहीँ उनीसँग साहित्य चर्चा हुन्थ्यो नै । उनले मेरो पहेँलो अनुहार देखेर भने– तपाईंको अनुहार पूरै पहेँलो भइसकेको छ, राम्ररी उपचार गराउनुस् ।

मलाई आफ्नो बिरामीबारे गरिएको कुराकानी नराम्रो लाग्थ्यो । म बिर्सन चाहन्थेँ, आफ्नो बिरामी । जब जिन्दगी नै दुई–चार महिनाको छ भने किन हाँसीखुसी नबाँच्ने ?

मैले उनलाई रिसाएर जवाफ दिएँ– मर्ने नै त हो, त्योभन्दा बढी अरु केही हुने त होइन ! म मृत्युलाई स्वागत गरेर बसेको छु ।

विचरा द्विवेदी मेरो जवाफ सुनेर लज्जित भए । मलाई पनि आफ्नो उग्रताप्रति खेद उत्पन्न भयो । यो १९२० को घटना थियो ।

देशमा असहयोग आन्दोलन बलियो भइरहेको थियो । जलियाँवाला बाग हत्याकाण्ड भइसकेको थियो । त्यसैताका महात्मा गान्धी गोरखपुर भ्रमणमा थिए । गाजिमिया मैदानमा अग्लो प्लेटफर्म तयार गरिएको थियो । दुई लाखभन्दा बढी मान्छे उपस्थित थिए । सहर, गाउँ सबैतिरबाट मान्छे आएका थिए । मैले जीवनमा एकैपटक यति धेरै मान्छे समारोहमा उपस्थित भएको देखेको थिइनँ । महात्मा गान्धीको दर्शन गर्न मान्छे आतुर थिए । उनको यो प्रतापले मजस्तो मरेको मान्छेको पनि चेतना बिउँझिएको थियो । त्यसको दुई–चार दिनमा मैले २० वर्षदेखि गर्दै आएको नोकरीबाट राजिनामा दिएँ ।

गाउँमा गएर केही प्रचार गर्ने चाहना भयो । एक जना मित्र (पोद्दार)को गाउँमा घर थियो । हामी त्यहीँ गएर चर्खा बनाउन थाल्यौँ । गाउँ फर्किएको केही समयपछि नै मेरो पेटको रोग कम हुन थाल्यो । त्यसपछि म पुनः काँसी फर्किएँ र आफ्नै गाउँमा बसेर चर्खा प्रचारका साथै साहित्यलेखनमा लागेर आफ्नो जीवन सार्थक पार्नतिर लागेँ । नोकरी नामको गुलामीबाट छाडेपछि नै नौ वर्षभन्दा लामो समयदेखि मैले भोग्दै आएको पेटको रोगबाट पनि मुक्ति मिल्यो ।

यो अनुभवले मलाई कट्टर भाग्यवादी बनाइदिएको छ । अब मेरो दृढ विश्वास के भएको छ भने, भगवान्को जे इच्छा हुन्छ त्यही हामीले भोग्नुपर्छ । मनुष्यको उद्योग पनि भगवान्को इच्छाबिना सफल हुँदैन ।

(कथासम्राट प्रेमचन्दले आफ्नो जीवनबारे लेखेको र १९३२ मा ‘हंस’ पत्रिकाको आत्मकथा अंकमा प्रकाशित भएको रचनाको सम्पादित अंश (नागरिक दैनिक)।

(अनुवादः राजेन्द्र पराजुली)

 

प्रेमचन्द भन्छन्

  • बनिसकेको कुरा पालना गर्न सहज छ, तर बिग्रेको कुरा सपार्न निकै कठिन हुन्छ (रंगभूमि)
  • क्रियापछिको प्रतिक्रिया नैसर्गिक नियम हो । (मानसरोवर– सवासेर गेहुँ)
  • सुख्खा रोटी चाँदीको थालमा दिए पनि त्यो खान लायक हुँदैन । (सेवासदन)
  • कसैका निम्ति तिमी आफ्नो जीवन नै खराब गर, तर अप्ठेरो समयमा त्यो मान्छेले काम दिँदैन । (रंगभूमि)
  • चोर पक्रन विरलै मान्छे तयार हुन्छन्, तर पक्राउ परिसकेको चोरलाई दुई–चार लात हान्न जोकोही तयार हुन्छ । (रंगभूमि)
  • सूर्य जलाउँछ पनि, उज्यालो दिन्छ पनि । (कायाकल्प)
  • सोझो मान्छेको मुख कुकुरले चाटिदिन्छ । (कायाकल्प)
  • पारस छुँदा फलाम सुन बन्छ, तर पारस फलाम कहिल्यै बन्दैन । (मानसरोवर– मन्दिर)
  • मासु खानु तिमीलाई राम्रो लाग्छ भने खुलेआम खाऊ । नराम्रो लाग्छ भने नखाऊ । नराम्रो पनि भन्छौ, तर लुकेर खान्छौ भने त्यो सरासर कायरता हो । यस्तो व्यवहार मलाई बिल्कुल मन पर्दैन, यो धूर्तता पनि हो ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया