‘कविता विचारको भारी बोक्ने बाहन होइन’

Girl in a jacket

 आरके अदीप्त गिरी/बातचित


भारतीय नेपाली कवि मनप्रसाद सुब्बा ‘किनारीय लेखन’का अभियन्ता हुन् । लेखनमा पाँच दशकदेखि सक्रिय सुब्बाको काव्यकारिता प्रयोगशील छ । सन् १९९८ मा ‘आदिम बस्ती’ कवितासंग्रहका लागि ‘साहित्य अकादमी पुरस्कार’ पाएका उनको ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’ (१९९७), ‘बुख्याँचाहरूको देशमा’ (१९८३), ‘आदिम बस्ती’ (१९९५), ‘ऋतु–क्यानभस्मा रेखाहरू’ (२००१) कवितासंग्रह चर्चित् छन् । दार्जिलिङलाई मूल थलो बनाई हिन्दी, अंग्रेजी र मैथली भाषामा समेत कविता लेख्ने सुब्बा विश्वविद्यालयमा अंग्रेजी साहित्य पढाउँछन् । दार्जिलिङ बिजनबारीमा आरके अदीप्त गिरीले सुब्बासँग गरेको कुराकानीः

कविता लेखन कुनै सिद्घान्त, वादको साध–सिमानाभित्र रहन्छ/रहँदैन ?

– कविता लेख्नलाई सैद्धान्तिक मेजमा बस्नुपर्छ भन्ने क्यै छैन । कविहरू स्वभावैले नबाँधिई बस्नमै रमाउँछन् । कुनै एउटा धारणा समातेर बसिरहने अनि त्यसैको वरिपरिमात्र आफ्नो लेखनलाई घुमाइरहने कवि बन्न सकिनँ म ।

भारतीय नेपाली साहित्यको प्रभाव नेपालमा व्यापक छ । २०२० सालमा यहीँबाट निस्किएको ‘तेस्रो आयाम’ होस् या ‘लीलालेखन’ जस्ता वाद/प्रवृत्तिहरूले नेपालको लेखन परम्परामा पनि ठूलो हलचल ल्याए । खासखास समयमा यी प्रवृत्तिले युगको अभिलेख कायम गर्‍यो । त्यो ऊ बेलाको प्रभाव यता चाहिँ कस्तो रह्यो ?

– गत शताब्दी सन् ६० को दशकमा आएको आयामिक भुइँचालोको उत्केन्द्र दार्जिलिङ थियो । त्यसबेलाको स्वाच्छन्दिक भावुकतावादी लेखनको थलथले धरातललाई त्यो भुइँचालोले बेस्सरी हल्लाएको थियो । त्यसरी आएको आयामिक लेखन आन्दोलनबाट सुरु भयो यहाँ आधुनिकतावादी साहित्य ।

तर अगमसिंह गिरीले मृत्युपर्यन्त (सन् १९७१) भारतमा नेपाली जातिको राष्ट्रिय दुःखलाई कोमल पदावलीहरूमा मार्मिक अभिव्यक्ति दिन छोडेनन् भने ओकिउयामा ग्वाइनले स्वाच्छन्दिक शैलीमै तर गम्भीर जीवन–दर्शनलाई काव्यिक रूप दिइरहेका थिए अनि कवि वीरेन्द्रले चाहिँ माक्र्सीय प्रभावलाई प्रभावशाली ढंगमा कवितामा चित्रित गरिरहेका थिए ।

आयामेली सिद्धान्तलाई आलोचनाको सिर्कुना लाउने त्यस समयका प्रखर युवा गुमानसिंह चाम्लिङले पछि आफ्नो पछिल्लो कविता संग्रह ‘कारागारभित्रको प्रतीक्षा’मा आयामेली ढाँचाकै आधुनिकतावादी कविता दिएर हलचल मच्चाए । उनकै दौंतरी खडगसिंह राई ‘काँढा’ अनि उनीहरूभन्दा पछिका नरदेन रुम्बा र नरेशचन्द्र खातीहरूमा आयामिक लेखनको छाया परेको स्पष्ट देखिन्छ । तर लीला लेखनबाट प्रभावित हुनेहरू यता उस्तो देखिएका छैनन् । उत्तरआधुनिकतावादी लेखनबाट प्रभावित कवि–कथाकारहरू यता केही देखिए तापनि आइबी सरको लीलावादीय परिपाटीका भने देखिन्नन् ।

 तपाईं आफुलाई कुन वाद वा दर्शनको नजिक ठान्नु हुन्छ ?

– म आफूलाई इक्लेक्टिक ठान्छु । सर्वास्तिवादी अनि बहुलतावादी पनि भन्न रुचाउँछु । यद्यपि बौद्ध दर्शन बढी मनपर्छ मलाई ।

 समकालीन भारतीय साहित्यमा (राजा पुनियानी, मनोज बोगटी, नीमा शेर्पा, लेखनाथ क्षेत्री आदि) केही युवा कविहरू नयाँ धार प्रचलनमा ल्याउने जमर्कोमा लागिपरेका छन् । जसलाई ‘हस्तक्षेप’ नाम दिइएको छ । अघिल्लो वर्ष उनीहरूले घोषणापत्र पनि जारी गरे । यस धाराप्रति तपाईंको धारणा के छ ?

– यी भाइहरू अहिलेका राम्रा कविता लेख्ने एक–डेढ दर्जन जति कविहरूभित्र पर्छन् । उनीहरूले प्रचलनमा ल्याउन खोजेका ‘नयाँ’ धारका अधिकतर कुराहरू हामीले सन् २००८ मै किनारीय लेखनमार्फत प्रस्तुत गरिसकेको कुराभन्दा फरक देखिँदैन । तिनै कुरामा उनीहरूले चाहिँ माक्र्सीय मूल्यबोधलाई निकै टड्कारो गरी मिलाएको (जोडेको) देखिन्छ । ‘किनाराका आवाजहरू’ (सन् २००८) –को मेरो लामो भूमिका, ‘किनारा विमर्श’ (सन् २०११) मा संकलित किनारीकरण लेखनसम्बन्धी लेखहरू अनि पछिल्लो कवितासंग्रह ‘भुइँफुट्टा शब्दहरू’का भूमिका साथै केही समयअघि अन्नपूर्ण पोस्ट्को फुर्सदमा प्रकाशित मेरो लेख ‘किनारीय लेखन’ राम्ररी अध्ययन गर्ने आग्रह गर्छु तपाईंलाई ।

कविता लेख्नु कत्तिको कठिन काम हो ?

– सूक्ष्म संवेदन, सूक्ष्म दृष्टिबाट उद्भुत भावानुभूतिलाई शब्दमा अर्थात् कविता नामको एक विशेष कलारूपमा उभ्याउनु अवश्यै निकै गाह्रो काम हो ।

तपाईं मानवीय संवेदना ओकल्न खप्पिस हुनुहुन्छ । हिजोको आदिम बस्ती, गंगा सम्झेर गंगाको किनारमा, रक्सी, रक्सीको जिन्दगी आदि जस्ता शक्तिशाली कविताहरू हिजोआज पढ्न पाइन छाड्यो । किन ?

– तपाईंले यस प्रश्नमा उल्लेख गर्नुभएको कविताहरू झन्नै २५ वर्षअघि अर्थात् ९० को दशकको पूर्वाद्र्धतिर लेखिएका हुन् जुन बेला मेरा कविताको स्वर बढी नवआधुनिकतावादी थियो । त्यहाँदेखि अहिलेसम्मको मेरो कविता लेखनमा एकाधिक मोड तथा परिवर्तन आइसकेको छ । ‘आदिम बस्ती’ भन्दा ६ वर्ष कान्छो ‘ऋतु–क्यान्भसमा रेखाहरू’ (सन् २००१) सर्वाधिक चर्चित रह्यो ।

 भारतीय नेपाली साहित्य र नेपालको नेपाली साहित्यबीचको लेखन परम्परालाई कसरी हेर्नुहुन्छ ?

– भारतीय नेपाली साहित्यको आफ्नै विकासक्रम छ, आफ्नो छुट्टै परम्परा छ । यो विकासक्रमको प्रारम्भिक इतिहास अर्थात् भारतीय नेपाली साहित्यको प्राथमिककालीन इतिहास गुप्त प्रधानको शोधात्मक पुस्तक ‘धुमिल पृष्ठहरू’ (सन् २००६ र २००८) पढे राम्ररी बुझ्न सकिन्छ । भारतीय नेपाली साहित्यको इतिहास अध्येताहरूले प्रधानको त्यो पुस्तक पढ्नैपर्छ भन्ने मेरो मत छ ।

नेपालीभाषी भारतीयहरूको सामाजिक तथा राष्ट्रिय जीवन सन् १९४७ सम्म अन्य भारतीयहरूसितै ब्रिटिस औपनिवेशिक परिवेशबाट र देशको स्वाधीनता संग्र्रामबाट बढी प्रभावित थियो भने स्वाधीनता प्राप्तिपछि अस्थायी उत्साह अनि फेरि विविध आन्तरिक औपनिवेशिकताजन्य मर्काहरूबाट अवहेलित र किनारीकृत भएको र भइरहेको अनि यसबाट मुक्तिको दीर्घ संघर्ष छ ।

यिनै विषयवस्तु प्रत्यक्ष–परोक्ष रूपमा भारतीय नेपाली साहित्यमा प्रतिविम्बित भइरहेको पाइन्छ । हिन्दी, बंगला अनि असमी साहित्यको सान्निध्यले पनि भारतीय नेपाली साहित्यलाई प्रभावित पारेको छैन भन्न सकिन्न । अंग्रेजी भाषा–साहित्यको पठनपाठनबाट युरोपेली साहित्यको प्रभाव पनि सन् ६०-७० को दशकमा आंशिक तौरले नपरेको होइन ।

उता नेपाल छुट्टै देश भएकोले त्यहाँको सामाजिक–राजनैतिक परिवेश यहाँको भन्दा भिन्दै हुनु स्वाभाविकै हो । एक शताब्दीसम्मको राणातन्त्र, त्यसपछि राजमुकुटको संरक्षणमा पञ्चायती व्यवस्था, राजासहितको बहुदलीय प्रजातन्त्र, आन्तरिक जनजाति आन्दोलन, १२ वर्षसम्मको गृहयुद्ध अनि आठ–दस वर्षदेखि संस्थापित हुन प्रचेष्टारत गणतान्त्रिक पद्धतिले त्यहाँको सामाजिक–राजनैतिक गति र दिशा आफ्नै प्रकारले प्रभावित भएको नेपालको नेपाली साहित्यमा पढ्न पाइन्छ ।

तर उता–यता दुवैतर्फका नेपाली भाषीहरूमाझ साहित्य सिर्जना गर्ने भाषा एउटै छ, स्थूल तौरमा संस्कृति एउटै छ । त्यसैले नेपालको नेपाली साहित्यको प्रभाव भारतेली नेपाली साहित्यमा पर्याप्त परिराखेको छ धेरै अघिदेखि नै । तथापि भारतेली नेपाली साहित्यको आफ्नो विशिष्ट पहिचान छँदैछ ।

यता आईबी राई, लीलबहादुर क्षेत्रीहरू आख्यानको बाटो हिँड्दा तपाईंलाई त्यो प्रख्यात बाटो हिँड्न मन लागेन ?

– ती हाम्रा श्रद्धेय अग्रजहरू पहिल्यैदेखिका आख्यान सर्जकहरू हुन् । यताबाट अरू पनि आदरणीय आख्यानकारहरू केही छन् । म चाहिँ पहिल्यैदेखि कविताकै हात समातेर हिँडिरहेको छु ।

कविता के हो र के होइन भन्ने परिभाषालाई एकातिर राखेर हेर्दा– हिजोआज कविता ज्यादै सस्तो र सपाट वस्तु या चुट्किला जस्तो ठानिन थालेको छ । कतै आवेगलाई नै कविता भनिएको छ भने कतै सिद्घान्त र प्रयोगका नाममा गह्रौ भारीहरू पाठकलाई बोकाउने प्रवृत्ति पनि देखिँदैछ । यसले स्तरीय सिर्जनामा पार्ने प्रभावलाई कसरी हेर्नुहुन्छ ?

– हो, कविताको बजार छ । बजारमा अनेक स्तरका थोक बिक्री–प्रदर्शनमा राखिन्छन् । एकातिर सस्तो, सपाट चुट्किलाहरू छन् अर्कोतिर गम्भीर किसिमका छन् । कतै समसामयिक स्वादका छन् कतै पारम्परिक परिपाटीका छन् । भिन्दाभिन्दै आस्वादन क्षमताका उपभोक्ताहरू (पाठकहरू) स्वतन्त्र छन् कुन लिने, कुन नलिने । कति बढी विज्ञापित छन् कति भने ओझेलमा छन् । तर यति चाहिँ भनौं कि कविता विचारको भारी नै बोक्ने वाहन होइन न त यो सिद्धान्तको साँचोमा गुँडुल्किएर बस्ने नै हो । कविता पहिले त कला हो, त्यसपछि मात्र त्यो अरू थोक हो ।

हामीसँग कथा छन्, गीत छन्, अभिव्यक्ति स्वतन्त्रताका लागि हेर्ने–सुन्ने अनेकन् बस्तु–साधनहरूको बिगबिगी छ । अझै चाडपर्व छन्, बाजागाजाहरू छन् । सामाजिक सञ्जालको त कुरै नगरौं । हाम्रा लागि यति धेरै मञ्च र माध्यम हुँदाहुँदैे कविता किन चाहिँदो रहेछ ?

– कविता लेख्नैपर्ने, पढ्नैपर्ने वाध्यता नै चाहिँ कतै छैन । शब्दहरूको माध्यमद्वारा भाव व्यक्त गर्ने यौटा भाषिक कला हो कविता, जसको सिर्जना र विकास शिक्षित सुसंस्कृत समाजमा भएको हो । भावाभिव्यक्ति र आनन्द प्राप्ति अरू कुनै पनि प्रकार र माध्यमले हुनसक्छ । तीमध्ये कविता यौटा उच्च र विशिष्ट माध्यम हो जसले एकसाथ हार्दिक र बौद्धिक दुवैलाई संयोजित रूपमा आनन्दतिरेक गर्ने सामथ्र्य राख्छ ।

भारतीय नेपाली कविताको समकालीन स्वर कस्तो छ ? भारतीय नेपालीहरूका बीच नेपाली साहित्यको प्रभाव कस्तो छ ?

– समकालीन दार्जिलिङे कविताको स्वर उत्तरऔपनिवेशिक सौन्दर्यचेतबाट उठिआएको बढी देखिन्छ । प्रगतिवादी आग्रहको आवाज पनि छ तर समकालीन सौन्दर्यचेतकै शिल्प–शैलीको बान्कीमा । किनारीय लेखन विमर्शले हुर्काएको सांस्कृतिक चेतका कविता पनि आइरहेका छन् । अघिको स्वाच्छन्दिक तान अनि आधुनिकतावादी गह्रुंगोपन अब पूरै शिथिल भइसकेको छ ।

अनि कवितागत डिस्कोर्सहरू कत्तिको हुन्छन् ? समालोचनाको आधार र विधि निर्माणका निम्ति समालोचकहरू कसरी प्रस्तुत भएका छन् ?

– झन्नै एक दशकअघि उत्तरआधुनिकतावादी प्रवाहमा हेलिएर आएको ‘विचलन’ नामको लेखन आन्दोलन कालेबुङबाट उठेको थियो । त्यसैको केही पछि (सन् २००८/९) मा हामीले ‘किनाराका आवाजहरू’ मार्फत किनारीय लेखनको अवधारणा लिएर आयौं । उत्तरऔपनिवेशिक संकथन, नारी विमर्श अनि परिस्थितिकी साहित्य–विमर्शबाट विकसित किनारीकरण साहित्य लेखनले यताको साहित्य लेखनमा व्यापक प्रभाव परेको सबै स्वीकार्छन् । हालैमा ‘हस्तक्षेप’ र ‘समावेशी’ समूह निस्केका छन् । यी दुवैमा किनारीय लेखनको अवधारणा निकै हदसम्म रहेको पाइन्छ । अनि दुवैले समसामयिक दार्जिलिङे कवितालाई अग्रगति दिन पर्याप्त सक्रियता देखाइरहेका छन् ।

 पछिल्लो समय नयाँ कविहरू नयाँ–नयाँ रूप दृष्टि, विचार र अभिव्यक्तिका साथ आइरहेका छन् । उनीहरू बहुआयामिक लाग्छन् । तपाईंलाई नयाँ पुस्तासँग यात्रा गर्न कत्तिको कठिन छ ?

– म सधैं नयाँको खोजी गर्ने र नयाँलाई पछ्याएर हिँड्ने मान्छे । त्यसैले नयाँमै म रमाइरहेको हुन्छु । मेरो लामो कविता ‘आदिम बस्ती’ को अन्त्यमा राखिएको पृष्ठभूमि –को पुछारतिर यसो भनेको छु – ‘कविता रचनामा म सधैं प्रयोगधर्मी छु । प्रयोगधर्मिता कुनै सिद्धान्त होइन तर हरेक पटक नाव्यताको आग्रह हो । नाव्यताको आग्रहमा नै गतिशीलता छ । गतिशील नभई कविता लेख्न पनि सकिन्न ।’

दोस्रो पिँढीकी कवि रेमिका थापासँग मिलेर संयुक्त कवितासंग्रह ‘किनाराका आवाजहरू’ पनि प्रकाशित गर्नु भो । कविताको लामो बाटो हिँडिसकेको मान्छेलाई यसो गर्नु किन परेको ?

– ‘किनाराका आवाजहरू’ दुई जनाको कवितासंग्र्रह मात्र होइन, नयाँ लेखन आग्रहको प्रस्तुति पनि हो । एक विशेष धारका कविताहरूको संयुक्त संग्र्रह निकालौं भन्ने प्रस्ताव पहिले रेमिकाबाट आएको थियो । मलाई उसको प्रस्ताव मन पर्‍यो र स्वीकृति दिएँ । दुवैले आ–आफ्ना भागका कविता लेखिसकेपछि भूमिका लेख्ने भार ममाथि आयो । मैले त्यस भूमिकालाई यौटा नयाँ डिस्कोर्सकै रूपमा विकसित गर्ने स्कोप पाएँ । यसरी सुरु भयो किनारीकरणको लेखन आन्दोलन ।

 तपाईंले कवितामा गर्न चाहेर गरी नभ्याएको केही छ ?

– दिन सकेको सधैं अति सीमित हुन्छ, दिन नसकेको अगाध र असीमित । वामन र बलिराजको कथा सम्झौं ।

सन् १९९५ को ‘आदिम वस्ती’ कविताकृतिका लागि १९९८ मा ‘साहित्य अकादमी पुरस्कार’ पनि प्राप्त गर्नु भो । यस उपलब्धिले तपाईंको लेखनीमा कस्तो प्रभाव पार्‍यो ?

–मेरो चौथो कृति ‘आदिम बस्ती’ त्यो पुरस्कारले सम्मानित हुँदा मलाई खासै स्मरणीय प्रभाव क्यै परेको जस्तो लाग्दैन । यत्ति हो कि त्यसपछि भने मैले ‘आदिम बस्ती’लाई छोडिदिएँ । ‘ऋतु क्यान्भसमा रेखाहरू’सम्म आइपुग्दा म अर्कै सुर र स्वरमा गाउने भइसकेको थिएँ । त्यसपछि अझ अर्कै । म आफैंलाई पछिल्तिर छाड्दै हिँड्न खुब मन पराउँछु ।

 यत्रो साहित्यिक यात्रा गर्नु भो । पछि फर्केर हेर्दा आफूले गर्व गर्ने केही काम गरेँ भन्ने लाग्छ ?

– खै, गर्व नै गरिहाल्नुपर्ने त्यस्तो क्यै गरेको चैं लाग्दैन । गर्नुपर्ने काम अझै कति छ कति ! नेपाली काव्य–सिर्जन यात्रामा हिँडिरहेका सहयात्रीहरूबीच म यौटा सानो पाइला मात्र हुँ ।

 भौगोलिक रूपमा हेर्ने हो भने नेपाल र भारत जोडिएका देश हुन् । दुई देशको सांस्कृतिक सम्बन्ध ज्यादै घनिष्ट छ । तर, बेलाबेला नेपाल–भारतबीच विभिन्न प्रकारका विवाद खडा हुन्छन् । भारतले नेपाली सार्वभौमिकतामाथि आँच आउने गरी व्यवहार गरेको असन्तुष्टि बारम्बार प्रकट हुने गरेका छन् । एक भारतीय नेपाली साहित्यसेवी भएको नाताले यो सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

– जब जब नेपाललाई दुख्छ, नेपालीभाषी भारतीयलाई पनि उस्तै दुख्छ । हामी चाहन्छौं, हाम्रो पुख्र्यौली देश अर्थात् पितृभूमि नेपाल समृद्ध बनोस् । नेपालको सार्वभौमिकतालाई यसका उत्तर र दक्षिणमा रहेका ठूल्ठूला छिमेकीहरूले समान रूपमा सम्मान गरुन् । भौगोलिक आयतन सानो÷ठूलो हुन्छ, तर सार्वभौमिकता सानो÷ठूलो हुँदैन, समान हुन्छ । बृहत् आयतन र आर्थिक–सामरिक शक्तिका आधारमा चलाएको हेपुवा नीतिको हामी घोर भत्र्सना गर्छौं । कुनै पनि रूपमा, कुनै पनि तहमा प्रकटित वर्चस्ववाद तथा हेजेमोनीको प्रतिपक्षमा उभिन्छु म ।

समकालीन पठन अभ्यासमा पाठकको भूमिका कस्तो हुन्छ ?

– अबका पाठकहरू आफूले पढिरहेका पाठप्रति अनुत्तरदायी र निरपेक्ष रहन पाउँदैनन् । आजका बहुआयामी खुल्ला पाठले पाठकको सक्रीय अर्थात् सृजनात्मक सहभागिता चाहन्छ । यस्तो सहभागिताको निमित्त पाठकले आफूलाई सक्षम तुल्याउनुपर्‍यो ।

साभारः अन्नपूर्ण

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया