नाम नकाडी मोर्चा नेताले गोरामुमोलाई भन्यो – आन्दोलनको नाममा पार्टी बढाउनु जनतालाई धोका हो

विज्ञापन

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेतृत्ववर्गले गोर्खाल्यान्ड राज्य गठनको लागि जुन काम गर्नुपर्छ, त्यो गरिरहेको आज गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष आरपी वाइबाले दाबी गरे। उनले भने-पार्टी नेतृत्ववर्गले दिल्लीमा गोर्खाल्यान्डको लागि अन्य राष्ट्रिय दलहरुलाई विश्‍वासमा ल्याउने साथै उनीहरुसित भेट गरेर गोर्खाल्यान्ड गठनको औचित्य बुझाउने कार्य गरिरहेका छन्।

यद्धपि, गोर्खाल्यान्डको यस माग सन्दर्भमा केन्द्रको भाजपा सरकार चुप लागेर बसिरहेको अनि दार्जीलिङका सांसद एसएस आहलुवालियाले पनि कुनै ठोस पहल नगरेकोमा उनले आपत्ति जनाउँदै गोर्खा जातिको यस मागमाथि केन्द्र सरकारले शीघ्र ठोस पहल उठाउनुपर्ने माग गरे।

उनले भने-देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गत लोकसभा चुनाउको समय चुनाउ प्रचार गर्दा सिलगढी नजिक आएर गोर्खाको सपना मेरा पनि सपना हो भन्ने बयान दिएर गोर्खा जातिलाई सुनौलो सपना देखाएका थिए। तर आज गोर्खा जातिले आफ्नो त्यसै सपनाको माग उठाउँदा प्रधानमन्त्री चुप लागेर बस्नुलाई गोर्खा जातिले के सोंच्नु? के प्रधानमन्त्रीले आफ्नो वचन पूरा गरेर गोर्खाको सपना पूर्ण गर्ने कार्य गर्दैनन्?

सधैंझैं आज पनि यहाँको रेलवे स्टेशन परिसरबाट निकालिएको जुलूसले शहरको परिक्रमा गरेपछि चौकबजारमा एक जनसभाको रूप लिएको थियो, यसै जनसभालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष वाइबाले हाल गोर्खाल्यान्डको लागि विश्‍वभरिकै गोर्खा समुदाय एकवद्ध बनिरहेकोमा खुशी पनि व्यक्त गरे अनि गोर्खा जातिको यस जोश र उत्साहलाई मर्न दिन नहुने पनि बताए। तर गोर्खा जाति जातिको यस गणतान्त्रिक एवं संवैधानिक अलग राज्य गोर्खाल्यान्डको यस आन्दोलनलाई बद्नाम गराउन राज्यको तृणमूल कंग्रेस सरकारले विभिन्न षड़्यन्त्रहरु गरिरहेको छ। गोर्खा जातिलाई माओवादी र आतंकवादीको संज्ञा दिने कार्य गरिरहेको छ। जसलाई गोर्खा जनमुक्ति मोर्चा मात्रै होइन, सम्पूर्ण गोर्खा जातिलेनै विरोध जनाएका छन्।

यसैबीच, उनले कुनै पार्टीको नाम नलिई दार्जीलिङ पहाड़मा कतिपय पार्टीले गोर्खाल्यान्ड आन्दोलनको आड़मा आफ्नो पार्टी बढाउने कार्य गरिरहेको पनि आरोप लगाए। जुन गोर्खा जातिको लागि सरासर धोका हो भन्ने पनि उनको ठहर छ। यसरीनै आजको यस जनसभालाई भोजपुरी संगठनका कार्यकर्ता रामाकान्त शर्माले पनि सम्बोधन गरे अनि उनले पनि जय गोर्खा, जय गोर्खाल्यान्डको नारा बुलन्द गर्दै यस नाराले कानमा तेल हालेर बस्ने सरकारको निंद्रा पनि भङ्ग हुनपर्छ भन्ने आह्वान गरे। यति मात्रै होइन, उनले कविताको रूपमा राज्यको तृणमूल कंग्रेस सरकारसित अलिकति पनि मानवता नरहेको आरोप लगाउँदै गोर्खाल्यान्डको गणतान्त्रिक आन्दोलनको रूपमा निकालिने शान्ति जुलूसहरुमा पुलिसले गोली चलाएर गोर्खाल्यान्ड समर्थकहरुको हत्या गरेको घट्नाबाटनै यो कुरा उदाङ्गो भइरहेको पनि आरोप लगाए। उनले भने-अब गोर्खा जातिले बन्दकी आमालाई बंगालको कैदबाट छुटाएर ल्याउनुपर्छ, यसको लागि पहाड़का सम्पूर्ण गोर्खे बंगाली, मारवाड़ी, बिहारी आदि पनि एकसाथ छन्।

यसैबीच, उनले केन्द्र सरकारलाई पनि आफ्नो मौनता तोड़्ने अपील गर्दै गोर्खा जातिको दीर्घकालीन अलग राज्यको माग पूर्ण गरेर यस जातिलाई न्याय प्रदान गर्ने आह्वान गरे। यसपछि अध्यक्षको सम्भाषण पेश गर्दै पार्टी उपाध्यक्ष वाइबाले पार्टीका शीर्ष नेतृत्वहरु आ-आफ्नो दायित्व पूर्ण गर्न लागिपरेको बताउँदै सबै कुरा जनसभामा खुलासा गर्न नसकिने पनि बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया