ठाउँ-ठाउँमा शिक्षादान

दार्जीलिङः गोर्खाल्यान्ड आन्दोलनको फलस्वरूप दार्जीलिङ पहाड़का विद्यालय, महाविद्यालयहरु सबै बन्द भएको पनि आज 47 दिन पूर्ण भयो। यो बन्द अझै कति दिन जारी रहने हो, यसको कुनै निश्‍चितता छैन। समय बित्दै गइरहेको छ अनि माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएसई, सीबीएसई परीक्षाको समय पनि नजिक आइरहेको छ। तर पहाड़का सम्पूर्ण विद्यालयहरु बन्द भएको कारण विद्यार्थीहरुको पढाईमा ठूलो समस्या आइरहेको छ। अर्को वर्ष बोर्ड परीक्षा दिने विद्यार्थीहरु मात्रै होइन, सम्पूर्ण विद्यार्थीहरुको पढाईमानै ठूलो समस्या देखा परिरहेको छ।

यसै विषयलाई ध्यानमा राखेर दार्जीलिङका विभिन्न स्थानहरुमा शिक्षक-शिक्षिकाहरुले विद्यार्थीहरुलाई बटुलेर निःशुल्करूपमा पढाउने काम गरिरहेका छन्। गोर्खाल्यान्ड गठन भए पनि विद्यार्थीहरु पढ्नुपर्छ अनि उनीहरुको पढाईमा कुनै समस्या नआओस् भन्ने उद्देश्य राखेरनै सिंहमारीको वार्ड नम्बर 28 अन्तर्गत रहेको एक सार्वजनिक भवनमा पनि सिंहमारीकै कतिपय शिक्षक-शिक्षिकाहरुले लगभग 100 जना विद्यार्थीहरुलाई निःशुल्क पढाउने काम शुरू गरेका छन्। यसबारे एक स्वयंसेवी रोशन दाहालले भने-सिंहमारीका केही शिक्षक-शिक्षिकाहरुको सहयोगमा यहाँ विद्यार्थीहरुलाई निःशुल्क ट्यूशन पढाउने कार्य शुरू गरिएको छ। ताकि विद्यार्थीहरुलाई पढाईमा सहयोग पनि प्राप्त होस् अनि शिक्षक-शिक्षिकाहरुको समय पनि त्यसै खेरो नजाओस्।

यसैले गत तीन दिनदेखि यहाँ लगभग 100 जना विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने कार्य भइरहेको छ। किनभने, अहिले पहाड़ बन्दको कारण अधिकांश विद्यार्थीहरुले पढाईमा ध्यान दिएका छैनन्, उनीहरु घरमा जति समय दिएर पढ्छन्, साथीहरुसित मिलेर पढ्न थाले उनीहरुलाई मजा पनि आउने अनि केही नजानेका विषयहरु एकर्कामाझ आदान-प्रदान पनि गर्न सक्ने। यसैले यो सार्वजनिक भवनमा विद्यार्थीहरुलाई पढाउने कार्य आरम्भ गरिएको छ। जसमा वार्ड नम्बर 28-का नगरपार्षद लाक्पा शेर्पाको पनि ठूलो सहयोग प्राप्त भएको छ। उनकै परामर्श अनि पहलमा यहाँ विद्यार्थीहरुलाई पढाउने कार्य आरम्भ गरिएको छ, जसमा प्रथम श्रेणीदेखि दशौं श्रेणीसम्मका विद्यार्थीहरु आइरहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया