मोर्चाले बुझायो दुइ बोरा चामल जिल्लाधिकारीलाईः नेताले भने- हामी भोकै मरेका छैनौं

विज्ञापन

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले 2 बोरा चामल जिल्लाअधिकारी ड. विश्वनाथलाई सुम्पियो। मोर्चा नेता विजय सुन्दास, नोर्देन लामा, तारा लोहार, बन्दना योञ्जन आदिको एउटा टोलीले जिल्लाअधिकारीको कार्यालयमा गएर उक्त चामल सुम्पेको हो।  दुइ बोरा चामल मुष्ठीदानबाट सङ्ग्रह गरिएको हो।

“हामीले आन्दोलन अवधि ८ जनाको ज्यान गुमाइसकेका छौं तर राज्य सरकार अनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई उक्त कुराको कुनै पर्वाह छैन भन्ने कुरा उनले गृहमन्त्री राजनाथ सिंहसित भेट गरेर गोर्खाल्याण्ड आन्दोलनले बङ्गाललाई धेरै नै नोक्सानी भइरहेको बताएकोले स्पष्ट पार्छ। मुख्यमन्त्रीलाई आन्दोलनको भन्दा धेर चिन्ता नोक्सानीको रहेको उनको भनाइले स्पष्ट भएको छ। सोही कुराको विरोध जनाउन अनि आन्दोलन गर्दै भए पनि हामी तिम्रो नोक्सानीको भर्पाइ गरिदिन सक्छौं भन्ने जताउन नै हामीले यो साङ्केतिक पहल गरेका हौं”, चामल पुऱ्याउन गएका विजय सुन्दासले भने।

मुख्यमन्त्रीले वर्तमान अवस्थामा राज्यलाई पुगेको नोक्सानीको होइन तर आन्दोलनलाई सम्मान गरेर वार्तालाई अघि ल्याउन पर्ने भए तापनि उनले त्यसो नगरेकोले गर्दा मुष्ठीदान गरेर बुझाउने साङ्केतिक कार्यक्रम गरिएको सुन्दासले बताए।

-“सरकारले पहाड आउने खाद्य सामाग्री तथा अन्य आवश्यकीय सामाग्रीहरू रोक्ने काम गरेको थियो तर जे गरे तापनि हामी आन्दोलन अवधि पनि भोकै मरेको छैनौं भन्ने देखाउन पनि यो कार्यक्रमको उद्देश्य रहेको छ”, सुन्दासले थपे।

सुन्दासले जानकारी गराएअनुसार आगामी ३ अगस्तसम्म मुष्ठीदान सङग्रह गरेर जिल्लाअधिकारीको कार्यालयमा बुझाउने कार्यक्रम निरन्तर रहनेछ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया