सदनमा एनसीपीले उठायो गोर्खाल्याण्डको कुराः जनता केन्द्र र राज्यबीच स्याण्डविचः आन्दोलनकारीलाई वार्तामा बोलाउ

दिल्लीः अघिल्लो महिना राष्ट्रवादी कङ्ग्रेस पार्टीका सांसद मजिद मेननले भनेका थिए, ‘सदनमा गोर्खाल्याण्डको बील आए एनसीपीले समर्थन गर्नेछ।’ एनसीपीका प्रमुख शरद पावरले पनि आफ्नो दलको समर्थन गोर्खाल्याण्डको निम्ति रहेको खुलाइसकेका छन्।

तर मोर्चाका सांसद एसएस अहलुवालियाले सदनमा गोर्खाल्याण्डको बील पुऱ्याउनु त कता हो कताको कुरा मुद्दाको उठान नै पनि गरेका छैनन्। उनी कता छन्, उनका समर्थक दल गोर्खा जनमुक्ति मोर्चा समेत हैरानीमा छ। मोर्चाले भनेको छ, ‘सांसद अहलुवालिया अनि केन्द्रले गोर्खाल्याण्डको कुरा उठान गर्छ भन्ने आशा गरेका थियौँ, तर उठाएन। 8 अगस्तको 6 बजीसम्म पनि हामीलाई वार्तामा नबोलाए 9 अगस्तदेखि कठोर आन्दोलन गर्नछौँ।’

बरू केही दिन अघि माकपाका सांसदले गोर्खाल्याण्डको मुद्दा सदनमा उठाएका थिए। उसैगरी आज एनसीपीले पनि गोर्खाल्याण्ड मुद्दाको जिकिर सदनमा गरेको छ।  महाराष्ट्रका एनसीपी सांसद मजिद मेनन, जो गोर्खाल्याण्डको निम्ति भएको ऱ्यालीमा समेत सहभागी भइसकेका छन्, उनले सदनमा गोर्खाल्याण्डको आन्दोलनमाथि सदनको ध्यानाकर्षण गराए।

‘मोर्चाले 8 हप्तादेखि जुन आन्दोलन गरिरहेको छ, त्यसमा म सबैको ध्यानाकर्षण गर्न चाहान्छु कि सुन्दर हिलस्टेशन दार्जीलिङको जनजीवन दुइ महिनाको अस्तव्यस्त छ,’ उनले सदनलाई भने, ‘त्यहाँका जनता केन्द्र र राज्य सरकारबीच स्याण्डविच बनेका छन्।’

उनले अहिलेसम्म यतिसम्म भइसक्दा पनि केन्द्रको ध्यानाकर्षण नहुनुलाई निक्कै अचम्मको घटना माने। एकसयपचास वर्षपछि यसपल्ट दार्जीलिङ चिया अक्सनमा नआएको अनि यो निक्कै ताज्जुवको कुरा रहेको पनि उनले सदनलाई बताए।

‘उनीहरूले गर्दै गरेको मुद्दालाई न्याय गर्नुहोस वा नगर्नुहोस्,’ उनले भने, ‘कमसेकम आन्दोलनकारीहरूलाई वार्तामा त बोलाउनुहोस्, उनीहरूसित वार्तामा बसेपछि न थाहा पाइन्छ कि वास्तविकता के हो। म उनीरूलाई वार्तामा बोलाएर उनीहरूको कुरा सुनिदिउन् भन्ने आग्रह गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया