ममता व्यानर्जी माओवादी हुन् –विमल

Girl in a jacket

कालेबुङः राज्यकी मुख्यमन्त्री आज उत्तरबङ्गालको भ्रमणमा आएकी छन्। यही मौकामा गोर्खा जनमुक्ति मोर्चाले पत्रकारसम्मेलन गरेर ममता व्यानर्जीलाई माओवादी करार गरेका छन्। उनले मुख्यमन्त्रीलाई माओवादीको संज्ञा दिँदै दार्जीलिङ र राज्यका विभिन्न क्षेत्रमा आतङ्क मच्याइरहेको बताए।

‘घरि न घरि मोर्चा र आन्दोलनकारीलाई मुख्यमन्त्री ममता व्यानर्जीले माओवादीसित हात छ भनिरहेकी छन्, मुख्यमन्त्रीले हाम्रो साँठगाँठ माओवादीसित रहेको प्रमाण देखाउन,’ गुरूङले भने, ‘कुन आधारमा हामीलाई यो आरोप लगाइरहेको छ, ममता व्यानर्जीसित केन्द्रले पनि प्रमाण माग्नुपर्छ।’

मोर्चाले हतियार कहीँ प्रयोग नगरेको तर बङ्गालको विभिन्न क्षेत्रमा तृणमूल कार्यकर्ताहरूले बन्दुक, बम बोकेको सबैले देखिरहेको पनि बताए।

‘विश्वलाई थाहा छ, पहाडमा गणतान्त्रिक आन्दोलन चलिरहेको छ, निहत्था जनतामाथि कसले गोली चलाइरहेको छ? यो पनि विश्वलाई नै थाहा छ,’ उनले भने, ‘राज्यमा हतियार बोकेर घुम्ने उनका पार्टीका मानिसहरूले कहाँबाट हतियार पाए? बम कहाँबाट ल्याइरहेका छन्? यसले ममता व्यानर्जीको सम्बन्ध माओवादीसित होइन उनी आफै माओवादी हुन् भन्ने प्रमाणित गर्छ।’

मोर्चाको आनदोलनबारे जगजाहेर रहेको केन्द्रले वास्तविकता बुझ्नुपर्ने पनि उनले बताए।

मुख्यमन्त्री ममता व्यानर्जीले उत्तरबङ्गाल आउँदा बारम्बार पहाड चढ्छु भनेको सन्दर्भमा पनि गुरूङले मुख खोले।

‘अब चढुन् न पहाड, वास्तविकता बुझुन्, पहाड हाँसेको छ कि रोएको छ थाहा पाउन्, जनतासित कुरा गरुन्,’ उनले भने, ‘साँच्चै पहाडलाई माया गर्छिन् भने पहाडका जनताको कुरा सुनुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया