गोजमुमो अनि जीएमसीसीको मात्र भर नपरेर विकल्प पनि तयार पारौंः अजय दाहाल

कालेबुङः गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटी (जीएमसीसी) बाट सिङ्गो आन्दोलनलाई नेतृत्व र दिशा दिने कार्यक्रम बन्न नसकेको युनाइटेड गोर्खा रेभोल्युसनरी फ्रण्ट (युजीआरएफ) सभापति अजय दाहालले बताएका छन्।

‘जीएमसीसीको बनावट, तरिका, संस्कार, वातावरण, स्तर अनि परिस्थिति गोर्खाल्याण्ड सङ्घर्षलाई भङ्गालिन नदिने, धरापमा पर्न नदिने, एकतामा बाँधेर राख्ने प्रकार र स्तरको भने अवश्य छ, तर सिङ्गो गोर्खाल्याण्ड आन्दोलनको दिशा र दशा तय गर्ने, निर्णय लिने, सिङ्गो जनआन्दोलनलाई नेतृत्व गर्ने स्तरको भने हालसम्म बन्न सकेको छैन’, दाहालले प्रेस बयान जारी गर्दै भनेका छन्,  ‘हाल गोजमुमो नै जीएमसीसीको नेतृत्वमा छ। गोजमुमोकै योजना अनुसारको प्रस्तावहरु ग्रहण अनि पारित हुन्छ। 2017 सालको गोर्खाल्याण्ड आन्दोलन दीर्घमीयादी आन्दोलन हो। दीर्घमीयादी जनआन्दोलनलाई अल्पमियादी आन्दोलनको जस्तै वाटर टाईट बन्दको तरिका अप्नाउनु प्रतिगामी हुनेछ’।

हाल जनआन्दोलन कालमा विद्यालय, शिक्षक—विद्यार्थी अनि शिक्षाको क्षेत्रमा बङ्गालको भन्दा पहाडका विद्यार्थीहरूको धेरै क्षति भइरहेको छ भन्दै दाहालले एक वर्ष यस्तै स्थिति रहे नानीहरुको ध्यान शिक्षाबाट हटेर जनआन्दोलनमा एडभेनचरिस्ट टिनेजरहरुको एउटा भीड निर्माण हुनेसमेत बताएका छन्।

जसले जनआन्दोलनलाई प्रतिगामी प्रभाव पार्ने उनले बताएका छन्। विद्यालय अनि शिक्षा सन्दर्भमा बन्दलाई पनि प्रभाव नपार्ने अनि विद्यार्थीहरुको पढाई खेर पनि नजाने, जनआन्दोलनलाई उर्जा थप्ने र भविष्यका नेतृत्वहरु निर्माण गर्दै क्रान्तिकारी धारहरूमा सान लगाउने प्रकारको क्रान्तिकारी योजना जीएमसीसीले आविष्कार गर्नुपर्ने उनको धारणा रहेको छ।

उनले 29 जून, 2017 को सभामा युजीआरएफबाट जीएमसीसी सभामा यसबारे प्रस्ताव पनि राखिएको उनले बताएका छन्।

‘जीएमसीसीले योजना तैयार पार्न केही विलम्ब हुनसक्छ। यसर्थ शिक्षित नागरिकहरुले आफ्नै घरमा गाउँ-समाजका नानीहरुलाई समेटेर प्रत्येक व्यक्तिले एउटा-एउटा कक्षा सञ्चालन गर्ने प्रक्रियालाई अग्रगति दिने आह्वान गर्दछौ’, दाहालले भनेका छन्, ‘2017 को आन्दोलन जनताको नेतृत्वको जनआन्दोलन मान्ने अनि ठान्नेहरुले गोजमुमो अनि जीएमसीसीको मात्र भर नपरेर अनुशासित अनि सङ्गठित रूपमा जनआन्दोलनको संरक्षण, सम्वर्धन, नेतृत्व निर्माण, क्रान्तिकारी संस्कारको विकास गर्दै अघि बढ्नुपर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया