मिलिङदेखि चौरास्तासम्म पैदल यात्रा गर्दै आएका जनताले भने-कन्दमूल खाएर पनि बाँच्छौँ तर गोर्खाल्याण्ड हुनुपर्छ

दार्जीलिङः दैनिक रोजी नपाएको अढाई वर्ष भइसक्यो, यसपाली पनि बोनस नपाए पूरा तीन वर्ष हुनेछ, चियाश्रमिकहरुले कठोर आर्थिक संकटको सामना गरिरहेका छन्, तरै पनि गोर्खाल्यान्डको लागि जस्तै समस्याको पनि सामना गर्न तयार छौं। आज गोर्खाल्यान्ड यात्रा नाम दिएर लगभग 44 किलोमिटरको पैदल यात्रा तय गर्ने मिलिङ चियाबगानका श्रमिक अनि जनताले यस्तो मत व्यक्त गरेका छन्।

आज मिलिङ चियाबगानका लगभग 250 जना मानिसहरुले मिलिङदेखि चौरास्तासम्म पैदल यात्रा गरेका थिए अनि पैदल यात्रा गर्दै चौरास्ताबाट पुनः मिलिङ फर्किए। गोर्खाल्यान्ड प्राप्तिको लागि आमरण अनशनमा बसेका अनशनकारीहरुको हौसला बुलन्द गर्न अनि यस आन्दोलनमा आफ्नो सहभागिता जनाउनको लागिनै उनीहरुले आज पैदल यात्राको आयोजना गरेका थिए। यसपछि उनीहरुले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-का नेतृत्वहरुले पनि ठोस कार्यक्रम तय गर्नुपर्ने माग गरे। गोर्खा जनमुक्ति नारी मोर्चा रङ्बुल-धोत्रे समष्टिअन्तर्गत मिलिङ क्षेत्रका 5 वटा शाखाका नारी मोर्चा सदस्यहरूले आज बिहान रङ्बुल फाटकमा भेला भएर पैदल यात्रा शुरू गरेका थिए।

जसले यहाँको चौरास्ता आएर अनशनकारीहरुको शारीरिक स्थिति बुझ्ने प्रयास गरे। स्मरण गराइन्छ, विगत निकै समयदेखि अचल अवस्थामा रहेको धोत्रे-कलेजभेल्ली अनि मिलिङ चियाबगानका 642 जना चियाश्रमिकहरुले दैनिक रोजीनै पाएका छैनन्, न उनीहरुले राशिन तथा चियाबगानबाट पाइने अन्य सुविधाहरुनै पाइरहेका छन्। तरै पनि उनीहरुमा गोर्खाल्यान्डको लागि आन्दोलन गर्ने जोश र जाँगर अलिकति कम्ति छैन, यसैले उनीहरु भन्छन्-हामी चाहे कन्दमूल खाएर पनि गोर्खाल्यान्डको यस आन्दोलनलाई निभ्न दिनेछैनौं।

1986-को गोर्खाल्यान्ड आन्दोलनको समय वार फिल्ड मानिएको मिलिङ, धोत्रे-कलेजभेल्ली चियाबगान इलाकामा एकै राती 165 वटा घर जलाइएको थियो। तर यसपाली यस क्षेत्रमा एउटै पनि घर जलेको छैन, उनीहरुले भने। यसैबारे अमृता गुरूङसित सोध्दा उनले भनिन्-अहिले मिलिङ, धोत्रे-कलेजभेल्लीमा गोर्खाल्यान्ड विरोधी एकैजना पनि छैन, सबै गोर्खाल्यान्डप्रेमीहरु छन् अनि सबै एकवद्ध भएर गोर्खाल्यान्डको यस आन्दोलनमा सहभागी बनिरहेका छन्। यसरीनै नारी मोर्चा सदस्या चन्द्रिका राईले जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-का नेतृत्वहरूमाथि कटाक्ष प्रहार गर्दै भनिन्-जीएमसीसीको बैठक भएको 7 पल्ट भइसक्यो, तर यस कमिटीले अहिलेसम्म ठोस कुनै निर्णय लिनसकेको छैन।

अब यी नेतृत्वहरुले केन्द्र सरकारमाथि गतिलो चाप दिने कार्यक्रम बनाउनुपर्छ। केवल बैठक गरेर चिया, खाजा खानु मात्रै होइन। अब जीएमसीसीले आगामी 15 अगस्तअघि केन्द्र सरकारलाई गोर्खाल्यान्ड राज्य गठनको मुद्दामा वार्ता बोलाउन बाध्य बनाउनुपर्छ। उनले अझै अघि भनिन्-राज्यको तृणमूल कंग्रेस सरकार वा मुख्यमन्त्री ममता व्यानर्जीले बंगाल विभाजन हुँदैन भनेकी छन्, अब केन्द्र सरकारले पनि गोर्खाल्यान्ड गठनबारे आफ्नो अड़ान स्पष्ट पार्नुपर्छ। भारतको संविधानमा अलग राज्य गठन हुने प्रावधान छ, तर अलग राज्य हुँदैन भन्ने राज्यकी मुख्यमन्त्री के संविधानभन्दा ठूलो हो? यसैले गोर्खाल्यान्ड हुन्छै हुन्छ अनि यसको लागि केन्द्र सरकारले वार्ता बोलाउनैपर्छ। एक प्रश्‍नको उत्तरमा उनले भनिन्-अब धोत्रे-कलेजभेल्ली, मिलिङ चियाबगान गोर्खाल्यान्ड गठन भएर मात्रै खोलियोस् भन्ने पनि हाम्रो चाहना छ। किनभने, अहिले पनि यी चियाबगानका श्रमिकहरुले चियाबगान मालिकपक्षबाट कुनै सहुलियत पाएका छैनन्। यसैले अब यस चियाबगानका श्रमिकहरुको समस्या पनि गोर्खाल्यान्ड भएरनै स्थायीरूपले समाधान होस्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन