बन्दले बङ्गाललाई दैनिक 4 करोड़को नोक्सानीः बलको साटो बुद्धिको आन्दोलन हुनपर्छः  रोका

दार्जीलिङः गोर्खाल्यान्ड आन्दोलनस्वरूप पहाड़ बन्दको कारण राज्य सरकारलाई दैनिक लगभग 4 करोड़ रुपियाँको नोक्सानी भइरहेको गोजमुमो केन्द्रिय समिति सदस्य एवं कानूनी सल्लाहकार तिलकचन्द रोकाले दावी गरे। यसैले यस आन्दोलनलाई बलको साटो बुद्धिले अघि बढाएर राज्य र केन्द्र सरकारलाई झुक्न बाध्य बनाउनुपर्ने उनले जनताअघि आह्वान गरे।

उनको भनाईअनुसार, हाल गोर्खाल्यान्ड आन्दोलनकै कारण पहाड़का सम्पूर्ण जल विद्युत परियोजनाहरु अचल छन्, जहाँबाट दैनिक राज्य सरकारले 1 करोड़भन्दा अधिक राजस्व संग्रह गर्थ्यो। यसरीनै शिक्षा, पर्यटन, चिया उद्योगका साथै व्यापार-वाणिज्यबाट संग्रह हुने राजस्व पनि ठप्पै रहेको छ। उनले भने-अब राज्य सरकारले यो नोक्सानीको भरपाई गरेर देखाओस्। यसैले जनताले यस आन्दोलनमा बलको साटो बुद्धि लगाउनुपर्छ र बुद्धि लगाएरनै राज्य र केन्द्र सरकारलाई घुँड़ा टेकाउनुपर्छ।

हामीले एकजना सीआरपीएफ हटायौं भने सरकारले दुइजना सीआरपीएफ यहाँ ल्याउनेछ, सरकारले यस आन्दोलनलाई दबाउन अझै कठोर कदम चाल्न सक्छ। तर गणतान्त्रिक आन्दोलनको एक मूल हतियार बन्दले सरकारलाई धेरै नोक्सानी हुन्छ, यसै हतियार हामीले प्रयोग गरिरहेका छौं। यसरीनै उनले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको पनि कठोर आलोचना गर्दै भने-मुख्यमन्त्री ममता व्यानर्जीले  गत जून महीनामा मात्रै दार्जीलिङमा बसेर घरिघरि पहाड़ आइरहने घमण्ड देखाएकी थिइन्, तर यसपाली उनी सिलगढी तथा समतलका अन्य क्षेत्रहरुको भ्रमण गरिन्, तर पहाड़ चड्नै सकिनन्।

उत्तरकन्याबाट उकालो हेरी रूनु सिवाय उनीसित कुनै विकल्प थिएन। यो गोर्खा सन्तानको एकताको परिणाम हो, यसैले यो एकता गोर्खाल्यान्ड राज्य गठन् नभएसम्म जारी रहनुपर्छ। तृणमूल कंग्रेस नेत्री ममता व्यानर्जी राज्यकी मुख्यमन्त्री बनेपछि उनी 34 पल्ट पहाड़ चड़िन् अनि उनले गोर्खा जातिलाई 34 टुक्रामा विभाजित गरिन्। हामी जात-जातमा टुक्रिएको कारणनै उनले पहाड़मा धलिमलि गरेकी थिइन्, तर अहिले गोर्खा जाति एकवद्ध बनेको छ अनि यो एकवद्धताको कारण उनी पुनः पहाड़ आएर यस जातिलाई टुक्राउने साहसनै गर्न सकिनन्।

गोर्खा जातिलाई जात-जातमा टुक्राउने उनको नीति जनताको एकताले विफल बनेको छ, यसैले यो एकतालाई कायम राख्नुपर्छ। आज पहाड़ बन्दको 50औं दिनमा गोर्खा जनमुक्ति मोर्चाले यहाँको रेलवे स्टेशनबाट एक जुलूस निकालेर यहाँको चौकबजारमा जनसभा गरेको थियो भने क्रामाकपाले पनि अलगै जुलूस निकालेर गोजमुमोको जनसभामानै सहभागिता जनाएको थियो। यसरीनै अर्कोतर्फ सोनादाका गोर्खाल्यान्डप्रेमी जनताले पनि सोनादाबाट दार्जीलिङको चौरास्तासम्म जुलूस निकालेका थिए।

यसैबीच, यहाँको चौकबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै गोजमुमो नेता रोकाले आज पहाड़ बन्दले इतिहास रचेको पनि बताए। उनले भने-आज पहाड़ बन्द भएको 50 दिन पूर्ण भयो, तर जनतामा भरिपूर्ण जोश छ। जनता अझै पनि थाकेका छैनन् अनि गोर्खा जाति कहिले नथाक्ने जाति हो भन्ने प्रमाण दिएका छन्। सफलता निरन्तरतामा अड़िएको हुन्छ अनि यसपालीको आन्दोलनलाई गोर्खाल्यान्ड प्राप्तिको अन्तिम अनि निर्णायक आन्दोलन बनाउनैपर्छ, उनले जनतासमक्ष अपील गरे।

यसका साथै उनले अघि जनतालाई यसरीनै गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको आन्दोलनलाई बढाएर लाने पनि अपील गरे। सरकारलाई यसरीनै कमजोर बनाउनुपर्छ अनि गोर्खाल्यान्डको लागि केन्द्र र राज्य सरकारलाई झुकाउनैपर्छ। उनले अझै अघि भने-गोजमुमो अध्यक्ष विमल गुरूङले भनिसकेका छन्, म सीआरपीएफको गोली खाएर मर्न तयार छु, तर बंगालअघि कदापि झुक्ने छुइनँ।

यसअघि यस जनसभालाई सम्बोधन गर्दै नारी मोर्चा सदस्या सुषमा राईले आगामी 7 अगस्त रक्षाबन्धनको अवसरमा नारी मोर्चा सदस्याहरुले पहाड़का सम्पूर्ण पुलिसकर्मीहरुलाई राखी बाँधिदिने योजना बनाएको बताइन्। उनले भनिन्-पुलिसमा हाम्रै माइतीहरु छन्, तर हाम्रै माइतीहरुले हाम्रै 8 जना गोर्खाल्यान्ड समर्थक माइतीहरूको हत्या गरिसकेका छन्। तरै पनि भावी दिनमा पुलिसमा रहेका हाम्रा माइतीहरुले पनि गोर्खाल्यान्ड राज्य गठनको औचित्य बुझ्नेछन् भन्ने आशा छ। यसैले आगामी 7 अगस्तको दिन नारी मोर्चा सदस्याहरुले पुलिसकर्मीहरुलाई राखी बाँधिदिने योजना बनाइएको बताइन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन