केन्द्रलाई युवा मोर्चाको पत्रः केन्द्र सरकार बोल्नैपर्छ

दार्जीलिङः गोर्खा जनमुक्ति युवा मोर्चाले आज देशका प्रधानमन्त्रीसँगै राष्ट्रपति अनि केन्द्रिय गृहमन्त्रीसमक्ष पत्राचार गरेर अलग राज्य गोर्खाल्यान्ड गठनको दिशामा ठोस पहल गर्ने माग गरेको छ। दार्जीलिङ पहाड़मा इन्टरनेट सेवा ठप्प बनेको फलस्वरूप युवा मोर्चाले आज यी पत्रहरु सिक्किमको जोरथाङ गएर फ्याक्समार्फत पठाएको जानकारी गराएको छ।

युवा मोर्चा सचिव अमृत योन्जनले यसैबारे पत्रकार सम्मेलनको आयोजना गरी भने-गोर्खा जातिले संविधानको आधारमानै अलग राज्य गोर्खाल्यान्डको माग गरिरहेको छ, यसै मागको लागि दार्जीलिङ पहाड़ बन्द भएको आज 51 दिन पूर्ण भयो, गणतान्त्रिक ढङ्गमा गरिएको आन्दोलनस्वरूपनै युवा मोर्चा कार्यकर्ताहरुले भोक हड़्ताल गरेको आज 15 दिन भइसक्यो, तर अझैसम्म पनि केन्द्र सरकारले आफ्नो मुख खोलेको छैन।

यसैले युवा मोर्चाले यस गणतान्त्रिक आन्दोलनलाई अर्को रूप दिनअघिनै केन्द्र सरकारले गोर्खाल्यान्ड राज्य गठनको दिशामा ठोस पहल गर्नुपर्छ। उनले आज पठाइएको पत्रमा गत 8 जूनदेखि पहाड़मा भइरहेका सम्पूर्ण घट्नाहरुको विस्तृत विवरण उल्लेख गरिएको पनि बताए। यसरीनै युवा मोर्चा उपाध्यक्ष सिद्धान्त राईले पनि गोर्खाल्यान्डको यस मुद्दामा केन्द्र सरकारले आफ्नो मुख खोल्नुपर्ने माग गर्दै भाजपाले आफ्नो राजनैतिक फाइदा मात्रै हेर्न नहुने बताए। उनले भने-झगड़ा, हिंसानै कुनै पनि समस्याको समाधान होइन, गणतान्त्रिक ढङ्गमा गरिएको आन्दोलनले पनि समस्या समाधान हुन्छ।

यसै विषयलाई ध्यानमा राखेरनै गोर्खा जनमुक्ति मोर्चा अनि युवा मोर्चाले पहाड़मा गणतान्त्रिक आन्दोलन गरिरहेको छ, जसको एउटा ज्वलन्त उदाहरण आमरण अनशन हो। तर गोर्खाल्यान्ड आन्दोलनकारीहरुले आमरण अनशन गरेको आज 15 दिन पूर्ण गरिसक्येा, तर अझैसम्म पनि केन्द्र सरकार चुप बसिरहेको छ। यस आन्दोलनको क्रममा 8 जना गोर्खाल्यान्ड आन्दोलनकारीहरुको मृत्यु भइसक्यो, तरै पनि केन्द्रले आफ्नो मुख खोल्दैन। पहाड़ बन्द भएको 51 दिन भइसक्यो, तरै पनि केन्द्र सरकारले पत्तै दिएको छैन।

डिजिटल इण्डियाको नारा दिने प्रधानमन्त्री नरेन्द्र मोदीको देशकै एकांश दार्जीलिङ पहाड़का जनतालाई 49 दिनदेखि इन्टरनेट सेवाबाट वन्चित बनाइएको छ, तरै पनि केन्द्रलाई थाह-सुद्धि छैन। तब के केन्द्र सरकारले गोर्खा जातिलाई दोस्रो दर्जाका नागरिकको दृष्टिकोणलेनै हेर्छ? यसैले गोर्खा जातिको सहनशीलताको बाँध तोड़िए यसको जिम्मेवार सरकार हुनपर्छ। यसैले अब शीघ्र अतिशीघ्र केन्द्र सरकारले अलग राज्य गोर्खाल्यान्ड गठनको दिशामा वार्ता शुरू गर्नुपर्छ अनि गोर्खा जातिलाई न्याय दिनुपर्छ।

यसैबीच, आज आमरण अनशनको 15औं दिन दार्जीलिङको चौरास्तामा बसेका आमरण अनशनकारीहरुको अवस्था चिन्ताजनक बनिसकेको छ। जसको शरीरको पानी सुकिसकेको, किड्नीले काम गर्न छोड़िसकेको, रक्तचाप स्थायी नरहेको, झाड़ा-पिसाब बन्द भइसकेको गोजमुमो प्रवक्ता विनीता रोकाले जानकारी गराइन्। दार्जीलिङमा गत 21 जुलाईदेखि नोर्देन वाङ्दी डुक्पा (30), अमिर सुब्बा (34) र राकेश छेत्री (36) आमरण अनशनमा बसिरहेका छन्। यसैबीच, युवा मोर्चा सचिव अमृत योन्जनले जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-लाई पनि गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गर्ने कार्य भए नछोड़्ने चेताउनी दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन