जीएमसीसी भर्सेस मोर्चाः जिएमसीसीले बनाउने मानव शृङ्खलाः मोर्चाले गर्ने तिरङ्गा यात्रा

कालेबुङः 1 अगस्तको दिन गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटीले घोषणा गर्दै भनेको थियो, यसपल्टको 15 अगस्तलाई सामान्यरूपले पालन गरिनेछ। देश स्वातन्त्र भए पनि गोर्खाहरू स्वतन्त्र हुन नपाएको सन्देश दिन यसदिन विश्वभरिका गोर्खाहरूले मानव शृङ्खला बनाउने छ।यता आज गोर्खा जनमुक्ति मोर्चाले सोही दिनसम्म अर्कै कार्यक्रमको घोषणा गरेको छ।

प्रेस विज्ञप्ति जारी गर्दै मोर्चा प्रमुख विमल गुरूङले भनेका छन्, ‘9 अगस्तदेखि 15 अगस्तसम्म भारत छोड आन्दोलन भएको 75 वर्ष पुगेको अवसरमा भारतव्यापी तिरङ्गा यात्रा गरिनेछ।’ 6 दिन यस कार्यक्रममा सहभागी दिनेहरूले बन्दे मातरम र भारत माता की जय भन्ने नारा लगाउनेछन्।

महात्मा गान्धीको ऐतिहासिक आन्दोलनलाई सम्मान गर्दै दार्जीलिङ, तराई डुवर्समा पनि तिरङ्गा यात्रा गरिने बताइएको छ।‘जसरी अङ्ग्रेजहरूले समग्र भारतीयहरूलाई शोषण र अत्याचार गर्दै दास बनाएर राखेको थियो, बङ्गालले पनि पहाड, तराई डुवर्सका मानिसहरूलाई त्यसरी नै दास बनाएर अत्याचार गर्दै आइरहेको छ,’ गुरूङले भनेका छन्, ‘देश स्वाधिन भएदेखियता सबै भारतीयहरूले स्वाधिनताको सुखभोग गर्न पाइरहेको भए पनि दार्जीलिङ, तराई र डुवर्सका नागरिकहरूले बङ्गालको दास भएर बाँच्नु परिरहेको छ। यसर्थ यो उपनिवेशवादी नीतिको विरुद्धमा तिरङ्गा यात्रा गर्दै प्रतिकात्मक आन्दोलन गरिनेछ। यस दिन ‘बङ्गाल दार्जीलिङ छोड’, ‘वी वान्ट गोर्खाल्याण्ड’, ‘जय गोर्खा जय गोर्खाल्याण्ड’ नाराहरू पनि समावेश गरिनेछ।’

1 अगस्तको जीएमसीसीको बैठकमा उप्रान्त कुनै पनि कार्यक्रम केवल जीएमसीसीले नै घोषणा गर्ने अनि त्यसलाई सबै दलले पालन गर्ने लगायत उप्रान्त कुनै पनि दलले एकल कार्यक्रम घोषणा गर्न नपाइने बताएको थियो। यद्धपि मोर्चाले आज यो एकल कार्यक्रम घोषणा गरेर जीएमसीसीको निर्णयको धज्जी उडाइदिएको छ।

यता गोजमुमो केन्द्रिय समिति सदस्य एवं पूर्व सभासद तिलकचन्द रोकाले यसैको जानकारी गराउँदै भने-आगामी 9 देखि 15 अगस्तसम्म भारतव्यापी तिरङ्गा यात्राको आयोजना गरिने भएको छ, यसै अवसरमा पारेर गोजमुमोले पनि दार्जीलिङ पहाड़मा तिरङ्गा यात्राको आयोजना गर्नेछ, तर यसमा गोजमुमो समर्थकहरुले बङ्गाल सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स छोड़्नुपर्छ भन्ने नारा लगाउनेछन्। यसबाहेक गोजमुमो समर्थकहरुले पनि हातमा राष्ट्रिय झण्डा बोकेर बन्दे मातरम, भारत माता की जय आदि नाराहरु लगाउनेछन्।

उनी अनुसार दार्जीलिङमा तिरङ्गा यात्रा दार्जीलिङको आभा आर्ट ग्यालेरीदेखि शुरू गरेर जिल्लापाल कार्यालय पुगी पुनः चौकबजारमा आएर एक सभामा परिणत हुनेछ।  यस यात्रामा पार्टी समर्थकहरुले गोजमुमोको झण्डा बोक्ने छैनन्, सबैको हातमा राष्ट्रीय  झण्डा मात्रै हुनेछ।

यसैबीच, 15 अगस्त स्वतन्त्रता दिवसको अवसरमा पनि पहाड़ बन्द जारीनै रहन्छ? भन्ने प्रश्‍नको उत्तरमा रोकाले भने-हामी राष्ट्रप्रेमी हौं अनि राष्ट्रको स्वतन्त्रता दिवस अवश्यै पालन गर्नेछौं। यसैले देशप्रतिको मायालाई हामी बन्द जारी राखेर पनि दर्शाउन सक्नेछौं।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन