दार्जीलिङमा मोठ  118 उम्मेद्वार

पार्टीका उम्मेद्वारहरुसित तृणमूल कंग्रेस नेता अरूप विश्‍वास।

 

पार्टी उम्मेद्वारहरुलाई मन्त्रीको प्रचार मन्त्र 

  • मोहन लामा, दार्जीलिङ

आज दार्जीलिङबाट नामाङ्कन गर्ने सबै उम्मेद्वारहरुको नामाङ्कनको जाँच भयो, जसअनुसार, चुनावी मैदानमा पार्टीहरुबाट मोठ 73 जना उम्मेद्वार खड़ा छन् भने 45 जना स्वतन्त्र उम्मेद्वार छन्।

तृणमूल कंग्रेसका शीर्ष नेता एवं राज्यका पीडब्लुडी मन्त्री अरूप विश्‍वासले आज दार्जीलिङ नगरपालिका चुनाउको लागि आफ्नो पार्टीबाट खड़ा भएका उम्मेद्वारहरुलाई चुनाउ प्रचारको मन्त्र दिइराखे। यसका साथै यस चुनाउमा जीत हासिल गरेपछि विकासका कार्यहरुलाई कसरी अघि बढ़ाउनुपर्ने अनि कस्ता विकासलाई प्राथमिकता दिने भन्ने विषयमा पनि मन्त्रीले यी उम्मेद्वारहरुलाई निर्देश दिइराखेका छन्। आज मन्त्री विश्‍वासले यहाँ दार्जीलिङ नगरपालिका चुनाउको लागि पार्टीबाट खड़ा भएका 20 जना उम्मेद्वारहरूसित एक बैठक गरेका थिए, यसै समय उनले पार्टी उम्मेद्वारहरुलाई चुनाउ प्रचारको मन्त्र पनि दिएको उनले बताए।

यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री विश्‍वासले भने-आज नगरपालिका चुनाउमा खड़ा भएका उम्मेद्वारहरुसित बैठक भयो अनि उनीहरुलाई यस चुनाउको लागि कसरी प्रचार गर्ने साथै चुनाउमा जीत हासिल गरेपछि कसरी विकासका कार्यहरुलाई अघि बढ़ाउनेबारे सर-सल्लाह भयो। यसैबीच, उनले कालेबुङमा गोजमुमो र जापका एक-एकजना उम्मेद्वार साथै मिरिकमा गोजमुमोका एकजना उम्मेद्वारको नामाङ्कन रद्द भएको जानकारी गराउँदै तृणमूल कंग्रेसका सम्पूर्ण उम्मेद्वारहरुको नामाङ्कन वैध घोषित भएकोमा खुशी जाहेर गरे। उनले भने-दार्जीलिङ पहाड़मा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले धेरै विकासका कार्यहरु गरेकी छन्। तर दार्जीलिङ पहाड़मा क्षेत्रीय व्यवस्थाको रूपमा रहेको जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले दार्जीलिङ पहाड़मा कुनै विकासको कार्य गरेको छैन।

दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रका जनताले न पानीको पर्याप्त सुविधा उपभोग गर्न पाइरहेका छन्, न स्ट्रीट लाइटको उज्यालोनै पाउन सकिरहेका छन्। पहाड़को शहरी इलाकामा पाइखानाका लाइनहरु लथालिङ्गै छ। यी सम्पूर्ण समस्याको समाधान गर्न पहाड़का चारैवटा नगरपालिकामा तृणमूल कंग्रेसको बोर्ड गठन हुन आवश्यक छ। यसैले पहाड़का जनताले पनि यस विषयलाई बुझेर तृणमूल कंग्रेस-गोरामुमोको गठबन्धनको पक्षमानै मतदान गर्ने आशा छ।

यसैबीच, दार्जीलिङ पहाड़का धेरैवटा आसनमा गोरामुमो र तृणमूल कंग्रेस दुवैलेनै आ-आफ्नै उम्मेद्वारहरु खड़ा गरेको सम्बन्धमा सोध्दा उनले यसलाई पार्टीको एक रणनीति हो भन्ने बताए। उनले भने-दार्जीलिङ पहाड़मा विशेष चुनाउको समय विपक्षी पार्टीका उम्मेद्वारहरुलाई धम्की दिएर, गुण्डागिरी नीति अप्नाएर नामाङ्कन फिर्ता गराउने संस्कार छ। यसैले एउटा वार्डबाट एउटा पार्टीका उम्मेद्वारलाई धम्की दिएर नामाङ्कन फिर्ता गराउन लगाए पनि उक्त वार्डमा अर्को उम्मेद्वार रहिरहनेछ। यसैले तृणमूल कंग्रेस र गोरामुमोले सर-सल्लाह गरेरनै यस्तो निर्णय लिएको हो। तर आगामी 27 अप्रेल नामाङ्कन फिर्ता गर्ने अन्तिम दिन तृणमूल कंग्रेसका धेरै उम्मेद्वारहरुले आफ्नो नामाङ्कन फिर्ता गरेर उक्त वार्डहरु गोरामुमोको लागि खुल्ला बनाइदिनेछन्।

आजको रेकर्डअनुसार, दार्जीलिङका 32 वटा वार्डमध्ये तृणमूल कंग्रेसले 20 र गोरामुमोले 12 वटा वार्डमा उम्मेद्वार खड़ा गराएका छन्, तर वार्ड नम्बर 26-मा यी दुवै पार्टीका उम्मेद्वार छन्। यसबाहेक खरसाङमा तृणमूल कंग्रेसले 20 वटै वार्डमा आफ्नो उम्मेद्वार दिएको छ भने गोरामुमोले 14 वटा वार्डबाट आफ्नो उम्मेद्वार उठाएको छ। जसमा तृणमूल कंग्रेसले आफूसित 13 वार्ड राख्ने अनि गोरामुमोको लागि 7 वटा वार्ड छोड़्ने भएको छ। यसरीनै तृणमूल कंग्रेसले कालेबुङका 23 वटा वार्डमध्ये 19 वटा वार्डमा आफ्नो उम्मेद्वार दिएको छ भने गोरामुमोले 3 वटा वार्डमा मात्रै प्रार्थी उठाएको छ।

यसैबीच, उनले दार्जीलिङ पहाड़मा भइरहेको यस नगरपालिका चुनाउमा पार्टी उम्मेद्वारहरुको हौसला बढ़ाउन साथै मतदाताहरुलाई रिझाउन तृणमूल युवा कंग्रेसका अध्यक्ष अभिषेक व्यानर्जीका साथै शीर्ष तृणमूल कंग्रेस नेतृत्वहरु आउने निश्‍चित भएको पनि अवगत गराए। यसैबीच, आज दार्जीलिङबाट नामाङ्कन गर्ने सबै उम्मेद्वारहरुको नामाङ्कनको जाँच भयो, जसअनुसार, चुनावी मैदानमा पार्टीहरुबाट मोठ 73 जना उम्मेद्वार खड़ा छन् भने 45 जना स्वतन्त्र उम्मेद्वार छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया