अब जीएमसीसी होइन स्टेयरिङ कमिटीको वर्चस्व हुनेः आजको बैठकमा बहसबाहेक केही भएन

विज्ञापन

दिल्लीः अब जीएमसीसीको होइन जीएमसीसीभित्र रहेको राजनैतिक दलका सदस्यहरूलाई मात्र लिएर तयार पारिएको स्टेयरिङ कमिटीको भने निरन्तर बैठक हुनेछ। यसै कारण जीएमसीसीको अर्कै बैठक तय छैन।

आज जीएमसीसीले दोस्रोपल्ट गरेको बैठकमा उस्तो केही पनि भएन। गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताहरूसित भएको अनवनको समिक्षा, गोर्खा जनमुक्ति मोर्चाले अलग्गै तयार पारेको मञ्चबारेको समिक्षा, सांसद एसएस अहलुवालियासित भेटेपछिको समिक्षा अनि पहाड र दिल्ली केन्द्रित कार्यक्रमहरूको चरित्रबारे छलफलबाहेक कामलाग्दो कुनै पनि निर्णय आज गरेन।

अघिल्लो बैठकमा राजनैतिक दलहरूलाई लिएर बानइएको स्टेयरिङ कमिटी नै उप्रान्त चलायमान रहने सङ्केत आजको बैठकबाट मिलेको छ। 1 अगस्तको दिन मिडियामा सार्वजनिक नगरेको राजनैतिक दलहरूका सदस्य मात्र रहेको स्टेयरिङ कमिटीलाई नै उप्रान्त प्रयोगमा ल्याउने आजको बैठकले सङ्केत दिएको छ।

अचम्म के छ भने यो स्टेयरिङ कमिटीबारे जीएमसीसीले अघिबाट खुलासा गरेको थिएन, तर कल्याण देवानको कुरा अनुसार जीएमसीसीको बैठकमा यो स्टेयरिङ कमिटीले अलग्गै बैठक गरेको सङ्केत पाइएको छ। किन जीएमसीसीले अराजनैतिक सङ्गठनका सदस्यहरूलाई बाहिर गर्दैछ भन्ने कुरा अहिले रहस्यको कुरा भएको छ।

स्मरणीय छ, जीएमसीसीमा राजनैतिक दलका प्रतिनिधिहरूभन्दा अराजनैतिक सङ्गठनका प्रतिनिधिहरू नै प्रभावकारी व्यक्तित्व भएकाहरू छन्, तर किन, कुन कारणले कुन आवश्यकताले केवल राजनैतिक दलका सदस्यहरूमात्र रहेको स्टेयरिङ कमिटी गठन गरियो अनि अघिल्लो बैठकपछिको पत्रकार सम्मेलनमा यसको जिकिर किन गरिएन, त्यो जीएमसीसीले खुलाएको छैन।

कुनै पनि एङ्गलबाट यो राजनैतिक दलका सदस्य मात्र रहेको स्टेयरिङ कमिटीभन्दा बौद्धिकहरूलाई लिएर तयार गरिने भनिएको कमिटीलाई नै चलायमान गरिनुपर्ने आवश्य देखिए पनि आजको बैठकले भने अर्कै दिशातिर सङ्केत गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री अनि गृहमन्त्रीलाई चढाएको ज्ञापनको सुनवाई अहिलेसम्म नभएकोले संवाहक सांसद एसएस अहलुवालियाको भूमिकामा सन्देह गरिएको थियो। बैठकमा अहलुवालियाले ठोस काम नगरेकोमा समिक्षा गरियो।

जुन आशा सांसदमाथि गरिएको थियो, त्यो नभएको भन्दै एकपल्ट फेरि सांसदलाई भेटेर जीएमसीसीले झकझकाउने अनि त्यसपछि पनि काम नगरे राजिनामाको माग गर्नेबारे आजको बैठकले छलफल गरेको बताइएको छ।

जन्तर मन्तर विवादको विषयमा सोधिएको प्रश्नमा जीएमसीसी संयोजक कल्यान देवानले स्पष्टिकरण दिँदै जीएमसीसीको गठन एकता अनि सामुहिकताको निम्ति भएको भन्दै एउटै स्थानमा दुइ दलले दुईवटा मञ्चहरू खडा गरेको अनि कुनै एकमा गएर कार्यक्रम गर्दा अनेकता देख्ने भएकोले नै अनशन स्थगित गरिएको बताए।

‘यसबारे स्टेयरिङ कमिटीले आजको बैठकमा छलफल पनि गरिसकेको छ,’ उनले भने,  ‘आज बिहानै जीएसएसएस र दिल्ली युनिट गोजमुमोमाझ सम्झौता भइसकेको छ। अब उसो जीएमसीसीकै अधिनमा संयुक्तरुपमा कार्यक्रमहरू गरिनेछ।’

बैठकमा १५ अगस्तपछि जीएमसीसीका सबै सदस्य दिल्लीमा नै डेरा लगाएर बस्ने,  सडक र सरकारलाई प्रभाव पार्ने प्रकारका कार्यक्रमहरू गर्ने अनि सरकारलाई गोर्खाल्याण्डको निम्ति बोल्ने माहौल तयार पार्नेसम्बन्धमा बैठकमा बहस भएको पनि देवानले बताएका छन्।

देवानले जीएमसीसीको अर्को बैठक कहिले हुन्छ भन्ने प्रश्नको उत्तर दिँदै भने, ‘अब जीएमसीसीको होइन स्टेयरिङ कमिटीको बैठक हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया