आत्मनिर्णयको अधिकार

     

 

पवित्रा लामा

 


(मभित्र देश बग्छ : : देशभित्र म बग्दिनँ –किन ?)

देश तबसम्म तिम्रो हुन्छ

जबसम्म तिमी हलोमात्र होइन अन्धो गोरू भएर

माटाका डल्लाहरू फुटाइरहन्छौ

उर्वरताको सार र गोबर जुटाइरहन्छौ

खेत जोतिरहन्छौ

बाली उमारिरहन्छौ

तर भाग खोज्दैनौ पटक्क ।

 

देश तबसम्म तिम्रो

जबसम्म तिमी उसका अप्ठ्यारा-अपठ्यारा

दुर्गम, दुःसाध्य सीमानाहरूमा

पर्खाल बनी छातीमा थापिरहन्छौ

तातो क्याट्रिज र म्यागेजिनहरू ।

 

तबसम्म पनि तिम्रो नै तिम्रो हो देश

जबसम्म तिमी गणतन्त्रको सुसज्जित मञ्चमा उभिएर

नियमबद्ध शास्त्रीय तालहरूमा गाइरहनेछौ

देशभक्तिका गीतहरू अनि

सलामी दिइरहनेछौ पसिना पुछ्दै

त्यसका गाढा रङहरू र धर्काहरूलाई ।

 

ढुक्क भएर, निर्धक्क भएर

राष्ट्रप्रेमको कोकुनभित्र

प्युपा जबसम्म सुत्न सक्छ

देश शत-प्रतिशत उसकै हुन्छ

तर जब थरी-थरीका रङ्गीन सपनाहरू बोकेर

फर्फराउन खोज्छन् रङ्गीन पुतली पखेटाहरू

कोकुनले थाम्न सक्तैन

त्यस्ता उन्मुक्त रागहरू, तालहरू, भावहरू

अनि जब च्यातिन थाल्छन् त्यसका

दुर्बल झीना पर्खालहरू

देश तिम्रो पटक्कै हुँदैन त्यस बखत ।

 

ए मेरो प्यारो देश !

मैले र मेरा पुर्खाहरूले जोतेका

र अझसम्म जोतिरहेका ती खेतहरूका

अन्नबाली गोदामहरूमा सडुञ्जेल भण्डारण गर्दा

अनि मेरा घरमा भोकै सुत्ने लाला-बालाहरू

तिमीले देख्नै नचाहँदा

मैले खोज्न परेको हो मेरो भागको गाँस

अनि माग्न परेको हो आफू उभिने माटो

मेरो उडानको सम्भावना देखेर

धेरैपटक उधाएको छौ तिमीले

डिप्लोम्यासीका र हिप्पोक्रेसीका तरवारहरू…

 

मैले पटक पटक सलामी दिँदा,

मेरो निधारमा बगिरहेको पसिना

किन देख्नै चाहँदैनौ मेरो देश !

मेरा अस्मिताका घाउहरू चहराउँदा

किन दुखिदिँदैनौ  मेरो देश !

मेरा आँखामा रङ्गीन सपनाहरू

किन सहँदै सहँदैनौ मेरो देश !!

 

लौ न, एकपटक नढाँटी भनिदेऊ त

कुन ग्रन्थ पल्टाई खोज्नु मैले मेरो जिउने अधिकार ?

कुन दलानमा गएर माग्नु मैले मेरो आत्मनिर्णयको अधिकाऱ ???

……………………….. ।

देश मौन छ ।


( साभार- सभ्यताका पेण्डुलमहरू कविता सङ्ग्रह )

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया