70 किलोमिटरको मानव श्रृङ्खलाः गोर्खाल्यान्डको लागि वार्ता शुरू गर्नैपर्छ

दार्जीलिङः दार्जीलिङका जनताले आज लगभग 70 किलोमिटरभन्दा अधिक दूरीसम्म मानव श्रृङ्खला बनाएर गोर्खा जातिको एकता यस्तै छ अनि रहनेछ भन्ने सन्देश दिए। अलग राज्य गोर्खाल्यान्डको लागि पहाड़का जनता एक छन् अनि जनताको श्रृङ्खला कायम छ भन्ने देखाउनको लागिनै आज दार्जीलिङको लेबोङदेखि सुकुनासम्म संयुक्त कलाकार मन्चको आयोजनामा मानव श्रृङ्खला बनाइएको थियो।

जसमा राजनैतिक, अराजनैतिक संगठन, व्यवसायीवर्गदेखि विद्यार्थी अनि वृद्ध-वृद्धाहरुले सहभागिता जनाएका थिए। उनीहरु सबैको एउटै भनाई थियो-हामीलाई अलग राज्य गोर्खाल्यान्ड चाहिन्छ अनि यसको लागि केन्द्र सरकारले वार्ता शुरू गर्नैपर्छ। यसबारे संयुक्त कलाकार मन्चका कार्यकर्ता जीवनप्रकाश प्रधानसित सोध्दा उनले भने-गोर्खाल्यान्ड राज्य गठनको मागमा पहाड़का जनताको एकता देखाउने उद्देश्य राखेरनै आज संयुक्त कलाकार मन्चले दार्जीलिङको लेबोङदेखि सिलगढी नजिक पिन्टेल भिलेजसम्म मानव श्रृङ्खला बनाउने कार्यक्रम बनाएको थियो, तर पुलिस प्रशासनले सुकुनादेखि पिन्टेल भिलेज परिसरसम्म 144 धारा लागू गरेको कारण यो मानव श्रृङ्खला सुकुना नजिकसम्म मात्रै पुग्न सकेको थियो।

तरै पनि दुइ घण्टाको यो मानव श्रृङ्खला कार्यक्रम पूर्णरूपले सफल बनेको छ, जसको लागि यस कार्यक्रममा सहभागिता जनाउने सबैलाई गोर्खाल्यान्डको लागि एकता देखाएकामा हार्दिक धन्यवाद छ। उनले भने-गोर्खा जाति सिङ्गो छ, यस जातिलाई जतिनै टुक्राउन खोजे पनि अलग राज्य गोर्खाल्यान्डको मुद्दामा यो जाति सधैं एकवद्ध छ भन्ने दर्शाउनको लागिनै आज यो मानव श्रृङ्खलाको आयोजना गरिएको हो। गोर्खाल्यान्ड राज्य गठनको लागि भइरहेको गणतान्त्रिक आन्दोलनको एउटा उदाहरण पनि हो यो।

यसै सम्बन्धमा एकार्काका हात समातेर यस मानव श्रृङ्खलामा अंशग्रहण गर्ने विद्यार्थीद्वय फूडोमा तामाङ र चन्द्रिका लामासित सोध्दा उनीहरुले दुवैले एक स्वरमा भने-वर्तमान विद्यार्थीहरूको भविष्य सुनौलो बनाउनको लागि हाम्रो आफ्नै राज्य हुनपर्छ अनि यसै मागको लागि हामीले एकता देखाउन खोजेका हौं। हाल हामी पश्‍चिम बंगाल राज्यमा छौं, जसको फलस्वरूप दार्जीलिङ पहाड़का शिक्षित युवा-युवतीहरु पढेर पनि काम खोज्न बाहिन जान बाध्य बनिरहेका छन्। उनीहरुले यहाँ काम पाउन सकिरहेका छैनन्, न कुनै ठूल्ठूला ओहोदामानै यहाँका मानिसहरु पुग्न सकिरहेका छन्।

यसैले अलग राज्य गोर्खाल्यान्डको गठन भए पहाड़का जनताको सर्वांगीण विकास हुनेछ, यहाँ रोजगारको अवसर उपलब्ध हुनेछ अनि पढे-लेखेकाहरुले कामको लागि दार्जीलिङ छोड़िरहनु पर्नेछैन। यसैले गोर्खाल्यान्ड हुनैपर्छ। यसरीनै यसै मानव श्रृङ्खलाकी एकांश बनेकी दार्जीलिङकी व्यवसायी डिकी भोटियासित सोध्दा उनले पनि गोर्खाल्यान्ड हुनैपर्छ भन्ने अड़ान स्पष्ट पार्दै केन्द्र सरकार अहिलेसम्म किन बोलेको छैन? भन्ने पनि प्रश्‍न उठाइन्। गोर्खाल्यान्ड राज्य गठनको सन्दर्भमा पश्‍चिम बंगालसित वार्ता गरेर कुनै फाइदानै छैन अनि राज्य सरकारसित लेनादेना केही छैन भन्दै केन्द्र सरकारले अलग राज्य गोर्खाल्यान्डको लागि वार्ता शुरू गर्नैपर्छ भनिन्। अनिश्‍चितकालीन पहाड़ बन्दको कारण आफ्नो व्यवसायमा भइरहेको घाटालाई सामान्य बताउँदै उनले अझै अघि भनिन्-बन्दले व्यवसायमा घाटा हुन्छनै अनि भइरहेको छ। तर गोर्खाल्यान्ड राज्यको तुलनामा यो घाटा केही होइन। गोर्खाल्यान्डको लागि कसैले आफ्नो ज्यान दिइरहेका छन्, कसैले आमरण अनशनमा बसेर योगदान दिइरहेका छन्, यी योगदानहरुको तुलनामा हामीले व्यवसायमा खप्न परेको नोक्सानी केही होइन। यसैले गोर्खाल्यान्डको लागि एकता देखाउन आज घरका सम्पूर्ण काम छोड़ेर पनि यहाँ आएकी हुँ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया