‘कात्रो बोक्ने मान्छे मर्नुदेखि डराउँदैन’

मिरिकः मनोहर शर्माः  ‘अब हामीले बाजे बोजुको रोयल्टी खाई सक्यौं अब हाम्रो आफ्नै खानुपर्छ, केवल पुर्खाको बीरताको तकमा ओडेर होइन आफ्नै तकमा ओडेर  गोर्खाल्याण्डको निम्ति लडेर लक्ष्य प्राप्ति गर्नुपर्छ।’

अलगराज्य गोर्खाल्याण्डको मागमा आज जबडा मोडमा गोजमुमोले गरेको जनसभालाई सम्बोन्धन गदै गोजमुमो सुकुना पानीघट्टा समष्टि एकका अध्यक्ष रमेश श्रेष्ठले प्रमुख वक्ताको रुपमा यसो भनेका हुन्। उनले अघि भने, ‘मेरो घरमा पुलिस र सीआरपीएफले छापा माऱ्यो तर यो रमेश श्रेष्ठ हिजो पनि डराएको थिएन आज र भोलि पनि डराउँदैन। हामी हतियार बोकेर होइन तर कात्रो शिरमा ओडेर मैदानमा उत्रिएका छौँ। कात्रो बोक्ने मान्छे मर्नुदेखि डराउँदैन।’

उनले बेसी सीआरपीएफले अत्यचार गरे भोलि गोर्खाल्याण्ड रिजर्ब सेन्ट्ल फोर्स गठन गर्ने चेतावनी पनि दिए। उनले मोर्चा अध्यक्ष बिमल गुरूङलाई सम्बोधनमा राख्दै भने, ‘यदि यो आन्दोलनमा मेरो निधारमा गोली लागे मलाई शहीद घोषित गर्नु तर पछाडि गोली लागे भगौडे घोषित गरिदिनु।’

आजको यो जनसभा सर्वदलीय थियो तर अन्य राजनैतिक दलका नेताहरू नआएको भन्दै केवल फेसबुक र नेटमा मात्र आन्दोलन गरेर नहुने मैदानमा उत्रिएका हुनुपर्ने पनि बताए। उनले गोर्खाहरूले केन्द्रलाई अधिकार मागेको भन्दै अधिकार माग्दा गोली ठोक्ने कहाँको कानुन हो भन्ने प्रश्न गरे।

‘आजको जुलुस डराएर नक्सलबारी नगएको होइन, यदि भोलिदेखि यो क्षेत्रमा पुलिस र सीआरपीएफले आतङ्क फैलाए जनताले खेदाउने छ। अबको जुलुस नक्सलबारीमा हुनेछ। गोर्खाहरू बीरको सन्तान हो डरपोक होइन। शहीद बन्नु मलाई डर लाग्दैन एकक्षण बाँचौ तर ईमान र स्वाभिमानले जातिको निम्ति बाँचौ। यहाँ कसैले अशान्ति गर्ने चेष्टा नगर्नु नत्र नतिजा राम्रो हुँदैन’, उनले अझ भने, ‘अब गोर्खाल्याण्ड हुनैपर्छ।’

पुर्व सैनिक टीकाराम थापाको अध्यक्षतामा सम्पन्न भएको जनसभालाई मोर्चा नेता शरण थापाले सञ्चालन गरेका थिए। जनसभालाई सम्बोधन गर्दै गोजमुमोका नेता राजेन कुण्डुले सम्पूर्ण आदिवासी, मुसलमान र बिहारी एक भयो भने गोर्खाल्याण्ड पक्कै हुने बताए। उनले गोर्खाल्याण्ड आन्दोलनलाई तराईको आदिवासीहरूको पूर्ण समर्थन रहेको बताउँदै भोलिको दिनमा यदि आवश्यक परेको खण्डमा धनुकाँड लिएर मैदानमा ओर्लिने बचन पनि दिए।

आदिवासीहरू यो जनआन्दोलनमा सशक्त रुपमा अघि बढिरहेको दाबी गर्दै, प्रशासनले तृणमूलको क्याडरको रूपमा होइन निष्पक्ष कार्य गर्नुपर्ने पनि उनले आह्वान गरे।

गोजमुमो दुधे ब्लक समितिका अध्यक्ष सन्तोष तामाङले भने, ‘पहाड तराईका कतिपय तृणमूल गोर्खे नेताहरू प्रशासनको सुरक्षा र पैसाको भरमा आन्दोलनलाई नपत्याएर बसेका छन्। उनीहरूले यो बुझ्नु पर्छ कि फलामलाई खियाले र मान्छेलाई उसैको सानो बिचारले खत्तम पार्छ। जनताको आवाज र एउटै मात्र लक्ष्य केवल गोर्खाल्याण्ड रहेको छ। यदि यसबाहेक अन्य व्यवस्था यसपटक स्वीकार गरिए नेताहरूले दुधे काटन नपाउने छैनन्।’

उनले बोर्ड बोर्डले टुक्राएको गोर्खा जातिलाई सिलाउने कार्यको शुरूवात ममताले नै गरिदिएको बताए। उनले अब यो जनावाज नथामिने भन्दै सबै जाति, जात, धर्म र सम्प्रादायलाई एक भई अघि बढ्ने आह्वान पनि गरे।

गोजमुमो नक्सलबारी संयोजक दुर्गानारायण प्रधानले प्रशासनले कोल्टे नीति अप्नाएर गोर्खाल्याण्डको आवाज दबाउने कार्य गरिरहेको अभियोग लगाउँदै अब गोर्खाल्याण्ड गठनले बङ्गालको षड्यन्त्रलाई बिफल पार्नुपर्ने बताए। पार्टीभन्दा जाति ठूलो जातिभन्दा माटो ठूलो भन्दै कातर भएर बाँच्नुभन्दा बीरको मृत्यु मर्नु नै उचित रहेको दाबी गरे।

जनसभालाई मोर्चा केन्द्रीय सदस्य सन्तोष रसाईली, मालती शर्मा, केबी तामाङ आदिले पनि सम्बोधन गरेका थिए भने स्वागत भाषण मीरा राईले राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन