तराई- डुवर्सका आदिवासी समुदायलाई विमलको अफरः गोर्खाल्याण्ड भएपछि स्वायत्त परिषद दिन्छौं, 9 अगस्तदेखि हुने आन्दोलनमा सहयोग गरुन्

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले केहीदिनदेखि दैनिकरूपमा पत्रकार सम्मेलन गरिरहेका छन्। हिजोमात्र उनले दिल्लीले बोलाएको अनि गोर्खाल्याण्डको कुरा हो भने मात्र दिल्ली गइने स्पष्टिकरण दिएका थिए।

यसो त केन्द्रलाई मोर्चाले अल्टिमेटम दिइसकेको छ। अल्टिमेटम अनुसार 8 अगस्तको 6 बजी बेलुकीसम्म पनि वार्तामा नबोलाए 9 अगस्तदेखि मोर्चाले आन्दोलन कठोर गर्नेछ।

भर्खरै जीएमसीसीसित दार्जीलिङका सांसद एसएस अहलुवालियाले बन्द र अनशन उठाउने हो र गोर्खाल्याण्ड राज्य त होइन, कुनै अन्य विषयमा कुराकानी गर्ने हो भने केन्द्रले वार्ता बोलाउन सक्ने सङ्केत दिएका थिए।

सांसदले अहिलेसम्म गोर्खाल्याण्डको निम्ति काम गर्नु त परैको कुरा गोर्खाल्याण्डसमेतको उच्चारण गरेका छैनन्।

यता जीएमसीसीले गोर्खाल्याण्डको निम्ति संसदमा सम्पूर्ण दलका सांसदहरूबाट गोर्खाल्याण्डको निम्ति सहमति बटुल्न भेट्ने र मुद्दाबारे बुझाउने काम निरन्तर गरेको छ। जीएमससीसी अनुसार गोर्खाल्याण्डको निम्ति भाजपाको दृष्टिकोण अहिलेसम्म पनि स्पष्ट छैन। न त भाजपा यस मुद्दालाई लिएर खुलेर केही बोलिरहेको छ। यसकारण सांसद अहलुवालियालाई चाप दिने र उनले काम नगरे राजिनामा माग्नेसम्ममा जीएमसीसी पुगेको छ।

यता हिजो विमल गुरूङले भने आफूलाई दिल्लीले बारम्बार बोलाइरहेको बताएका थिए।

दिल्लीबाट सन्देशवाहक आएर उनलाई दिल्ली गइदिने अपिल गरिरहेको तर सन्देशवाहकले गोर्खाल्याण्डको भने कुनै नगरेकोले उनले ‘गोर्खाल्याण्ड’-लागि हो भने मात्र आउँछु भनिदिएको पनि स्पष्ट पारेका छन्।

यसबाट पनि केन्द्र अरू कुरामा नै यसपल्टको आन्दोलन ठामठिम पार्ने विचारमा रहेको स्पष्ट बुझिन्छ। विमल गुरूङ पनि केन्द्रसित सोझो औंला गर्दा नहुने बुझेर 9 अगस्तदेखि औंला बाङ्गो गर्ने विचारमा छन्।

आज पनि दार्जीलिङमा पत्रकार सम्मेलन गर्दै उनले 9 अगस्तदेखि हुने भनिएको कठोर आन्दोलनमा तराई-डुवर्सका गोर्खा-आदिवासीहरूलाई पनि सरिक भइदिने अनुरोध गरेका छन्।

‘गोर्खाल्याण्डबाहेक अरुथोकमा हामी कुरै गर्ने छैनौं, एकदिन न एकदिन त केन्द्रलाई गोर्खाल्याण्ड राज्य दिनु करै लाग्छ,’ गुरूङले आज भने, ‘गोर्खाल्याण्ड राज्य भएपछि तराई डुवर्सका आदिवासी-गोर्खाहरूको निम्ति छैटौं अनुसूची अन्तर्गत स्वायत्त परिषद दिनेछौँ, मलाई थाहा छ, त्यहाँका गोर्खा-आदिवासीहरू बङ्गाल राज्यबाट दबिएर बसेका छन्। हामी आदवासीहरूको संस्कृति, भाषा, साहित्यको विकास गर्नेछौं, त्यसको निम्ति हामीले योजना बनाइसकेका छौँ।’

9 तारिकदेखि गरिने आन्दोलन गणतान्त्रिक नै हुने भन्दै गुरूङले यसमा तराई-डुवर्सका आदिवासी समुदायलाई आन्दोलनमा सरिक भइदिने र राज्य निर्माणको आन्दोलनमा सहभागिता दिने अपिल गरेका छन्।

‘9 अगस्तदेखि हुने आन्दोलनमा आदिवासीहरूको सहभागिता होस्,’ गुरूङले भने, राज्य भएपछि त्यसको कदर हामी गर्नेछौँ। उनीहरूको निम्ति छुट्टै व्यवस्था दिनेछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन