गोर्खाल्याण्ड हुन नसके, बङ्गाल बाहिरको कुनै व्यवस्था स्वीकार्न सकिन्छः आरबी राई

दार्जीलिङः क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका अध्यक्ष आरबी राईले यसल्टको आन्दोलनमा छुट्टै राज्य गठन हुन यदि सकेन भने र बङ्गालबाहिरको कुनै पनि व्यवस्था दिने भए, त्यसलाई स्वीकार गर्न सकिन्छ भन्ने धारणा व्यक्त गरेका छन्।

उनलाई पत्रकारहरूले यदि गोर्खाल्याण्ड नहुने भयो र बङ्गाल बाहिरको कुनै व्यवस्था दिने भयो भने क्रामाकपाको मत के हुनेछ भनेर प्रश्न गरेका थिए। दिल्लीमा गोर्खाल्याण्ड मुनिकै खिचडी पाकीरहेको छ भन्ने हल्ला र केन्द्रले गोर्काल्याण्डबारे साँधेको मौनताले कतै यसपल्ट पनि अर्कै व्यवस्थामा नै आन्दोलन सकिने होइन भन्ने विषयमा चलिरहेको हल्लाकै आधारमा उनलाई यो प्रश्न गरिएको थियो।

केही दिनदेखि गोर्खाल्याण्ड स्टेट काउन्सिलको हल्ला पनि छ। केन्द्र अहिले नै छुट्टै राज्यको पक्षमा छैन भन्नेकुरा केन्द्रको मौनताले बताइरहेको छ भन्ने अनुमान पनि राजनैतिक वृत्तमा छ। जीएमसीसीमा अधिकांश पार्टीका सदस्यहरू ‘गोर्खाल्याण्ड भएन भने युटी पनि चल्छ हौ’ भन्ने मानसिकताका रहेको हल्ला पनि छ।

यस्तै हल्लाहरूलाई आधार गरेर सोधिएको प्रश्नमा आरबी राईले आफ्नो धारणा व्यक्त गरेका हुन्।

‘ छुट्टै राज्य नै हाम्रो आत्मनिर्णयको अधिकार हो। तर केन्द्र छुट्टै राज्य दिन तयार छैन र बङ्गाल बाहिरको कुनै पनि व्यवस्था दिन तयार छ भने पनि हामी यसलाई स्वीकार गर्न सक्छौँ,’ राईले भने, ‘यद्धपि हाम्रो लडाईँ चिह्नारीको सवालबाट आएको हो। गोर्खाहरूको राजनैतिक सुरक्षा र चिन्हारीको सुरक्षा बङ्गालभित्रको व्यवस्थाले निश्चित गर्न सक्दैन। बङ्गालबाहिरको कुनै पनि व्यवस्था हो भने यसलाई स्वीकार्न सकिन्छ, किन भने हाम्रो माग बङ्गालदेखिको मुक्ति पनि हो।’

एक प्रश्नको उत्तरमा मोर्चाको घटक दल भाजपा गोर्खाल्याण्डबारे नबोल्नु विडम्बना रहेको पनि बताए। ‘उनको घटल दललाई गोर्खाल्याण्डबारे बोल्न लगाउनु मोर्चाको दायित्व बन्छ,’ राईले भने, ‘केन्द्रमा बीजेपी नै छ। राष्ट्रपति, उपराष्ट्रपति भाजपा कै बने। लोकसभामा त छँदैछ, राज्यसभामा पनि भाजपा कै बाहुल्य छ। फेरि कहाँ असुविधा पऱ्यो? मोर्चाले सोध्नुपर्ने हो आफ्नो घटक दललाई। हेर्दा कतै पनि असुविधा छैन भाजपाले चाह्यो भने। तर अहिलेसम्म भाजपा नबोल्नुले त धेरै कुरा बताउँछ।’

उनले मोर्चाले 15 अगस्त धुमधामले मनाए पनि क्रामकपाको धारणा अर्कै रहेको बताए। ‘स्वाधिन भएको 70 वर्ष पुगिसक्यो, गोर्खाहरूले न्याय पाएको छैन। 15 अगस्तको विरोध होइन तर यस पर्वलाई गोर्खाहरूले न्याय नपाएको कुरा बताउन प्रतिकात्मकरूपले प्रयोग गर्न सक्छौँ,’ उनले भने, ‘मोर्चाले भव्यरूपमा पालन् गरुन् नगरुन्, उनको कुरा हो तर यस दिन बन्द जारी नै रह्यो भने राम्रो सन्देश जान्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन