दार्जीलिङ पहाडको लथालिङ्ग राजनैतिक सङ्कटको कुनै सजिलो समाधान छैन

 शिवशङ्कर पाल

अनुवाद अनि प्रस्तुतिः  सौगात


प्रायः दुई महिनादेखि राज्यको एउटा महत्वपूर्ण भाग सम्पूर्ण अचलावस्थामा छ । यस राजनैतिक अचलावस्थासित बङ्गाली जनजीवन प्रायः अभ्यस्त भइसकेको छ । समतलका बङ्गाली सम्प्रदायमा यस अचलावस्थाको कुनै व्यापक हलचल देखिन्न । घुम्नकै लागि यति प्रशस्त ठाउँहरू छन् कि दार्जीलिङ हाम्रो न त मनमा छ न त व्यथामा नै । तर दार्जीलिङमा भने जीवनयापनका सम्पूर्ण दिशाहरू नै अवरूद्ध छन् । पहाडी जनजीवनका अपरिहार्य मानिएका अनि देश र राज्यलाई प्रशस्त राजस्व प्रदान गर्ने आयस्रोतका दुई प्रमुख साधन चिया अनि पर्यटन उधोमुण्टे अवस्थामा छ । यहाँका मानिसहरू आफ्नो जीवन, जीविका अनि भएभरका सम्पत्तिलाई दाउमा लाएर गोर्खाल्याण्ड आन्दोलनमा होमिएका छन् । आन्दोलनको नियन्त्रण अहिले कुनै राजनैतिक दलको हातमा छैन । यहीबीच जुनप्रकारको सरकारी सम्पत्तिको हानि भएको छ, त्योभन्दा कता हो कता धेर हानि भएको छ मानव सम्पदाको । स्कूल अनि कलेजहरू सम्पूर्ण रूपमा प्रभावित छन् ।

दार्जीलिङ पहाडको यस लथालिङ्ग राजनैतिक सङ्कटको कुनै सजिलो समाधान छैन भन्ने सत्यता राज्य, केन्द्र अनि आन्दोलनकारी सबैले बुझ्नपर्ने आवश्यक देखिन्छ । समाधानको निम्ति सबभन्दा पहिला संवादको निम्ति अनुकूल परिवेश तयार गर्नुपर्ने हुन्छ । यसको निम्ति तीन पक्षले नै सकारात्मक र सहयोगी मनोभाव राख्नपर्ने हुन्छ । राजनैतिक रमिता हेर्ने वा राजनैतिक फाइदा उठाउने समय यो कदापि होइन। त्रिपक्षीय बैठकमा बस्नभन्दा अघि तीनै पक्षले अनि राज्यका समतलवासीले पनि यस आन्दोलनप्रति निष्पक्षता देखाउन जरूरी छ । यसो नभए तपाईँ हामी कसैको घर पनि यस आगोबाट जोगिने छैन ।

दार्जीलिङ  हाम्रो निम्ति मनलाई विश्रान्ति दिने ठाउँ पक्कै  हो तर के साँच्चै  आत्मालाई शान्ति दिने ठाँउ पनि हो ? किनभने हामी समतलवासी बङ्गवासी अनि बङ्गभाषी समय सुयोग पाउने बित्तिकै दार्जीलिङ गएर रिफ्रेस्ड हुने गर्छौं । त्यहाँ पुगेपछि भावुक भएर आमादेर दार्जीलिङ भनेर गर्वले छात्ती फुलाएर फेसबुकमा एकपछि अर्को गर्दै फोटो पोस्ट गर्ने गर्छौं । गदगद हुँदै स्टाटस लेख्छौं। तर पहाडका ती सुन्दर गोरेटोहरू अनि स्वर्गतुल्य सुन्दरताको आनन्द उपभोग गरिरहेको बेला सजीवनचन्द्र चटर्जीले भनेको जस्तो जो जहाँ छन्, जस्ता छन्, ती त्यहीं नै सुन्दर छन् (बन्येरा बने सुन्दर शिशुरा मातृ कोले ) भन्ने कुरा चटक्कै भुलिदिन्छौं । वा त्यसलाई स्मरण गर्ने प्रयास पनि गर्दैनौं । कारण यस्तो कुरा सोंचेर, मनन गरेर किन ठूलो जोखिम उठाउने र ? यो जस्तो छ त्यस्तै रहिरहोस। । यदि घुमघाम गर्दा यसो पहाडका अपठ्यारा अपठ्यारा कान्ला कन्दरा, जनबस्तीतिर पनि भिन्न आँखाले हेर्नु हो भने हामी सहजै बुझ्न सक्ने थियौं , यो सुन्दर शान्त दार्जीलिङ बेला बेला किन आफ्नो प्रकृति अनुरूप अकस्मात अनप्रेडिक्टेबल बनिदिने गर्छ ? कलकत्ताभित्रकै अर्को कलकत्तालाई त हामीले राम्ररी नियाल्न सकेका छैनौं भने दार्जीलिङको त झन के कुरा !

समतलीय सुख-सुविधाको दृष्टिकोणले दार्जीलिङ पार्वत्य अञ्चलको प्राकृतिक जनजीवनलाई अनुभव गर्न सम्भव छैन । यहाँ प्रत्येक पाइलामा जीवन दुर्गम छ, जोखिमपूर्ण छ । परिवहन र स्वास्थ्य जस्ता मूलभूत सुविधा आफै रूग्ण छन् । मगमग वास्ना आउने चिया उत्पादन गर्ने श्रमिकहरूको दिनचर्या कति भयावह छ, त्यो चार दिनको लागि घुम्न आउने सुखी पर्यटकको आँखाले पटक्कै ठिम्याउन  सक्दैन । भद्रताको छाला ओडेका हामी ट्रेन, बस अनि मेट्रोमा यात्रा गर्दा साधारण कारण वा बिना कारण नै धैर्यहीनताको परिचय दिने गर्छौं । संस्कार –संस्कृतिलाई पाउले कुल्चन्दै हातपात गर्छौं, माचिस, चियाको कप, रूमाल, खबरकागज इत्यादि राखेर सीट दखल गर्छौं। महिलाहरूका निम्ति आरक्षित डिब्बामा चढेर असभ्य आचरण गर्छौं अथवा मन नपरेकाहरूलाई चल्ती ट्रेनबाट धकेल्न समेत पछि पर्दैनौं । यस्ता साहसी  बङ्गाली पर्यटकहरू जब दार्जीलिङ पुग्छन् अनि त्यहाँका धीर, गम्भीर, कर्मठ, उज्याला, हँसिला  निवासीहरू देख्छन्, उनीहरूलाई यस्तो लाग्छ मानौं तिनीहरू अर्कै ग्रहका जीवहरू हुन् । दार्जीलिङ गोर्खाल्याण्ड भइहाल्यो भने भन्नुहोस् त यी सब बङ्गालीहरूको के जान्छ?

वास्तवमा ब्रिटिश औपनिवेशिक मानसिकताले नै आजसम्म हामीले पहाडलाई हेरिरहेका छौं एवम् त्यहाँका मानिसहरूलाई हेर्ने गरेका छौं दयाको दृष्टिले । के दया र प्रेम एउटै हो?  यसैकारण एक प्रसिद्ध समाजविदले प्रायश्चितको भाषामा एकाइसौं शताब्दीका बङ्गाली बाबू अनि बाबुनीहरूका औपनिवेशिक सोच अनि संवेदनालाई कलोनियल हेङओभरको संज्ञा दिँदै यसो भनेका छन्-

पहाडका मानिसहरू भन्नु नै सरल (अर्थात् बुद्धिहीन), आवेगप्रवण ( अर्थात रिसाहा), सोझा (अर्थात् थोरैमा रमाउने), अनि अनुगत (अर्थात् प्रश्न नगर्ने, सजिलै वशमा गर्न सकिने, घरमा पालिने पशु जस्तै) … समतलका बङ्गालीहरूका यी धारणाहरू कुनै शासकका जस्तो देखिन्छ, छिमेकीको जस्तो पटक्कै देखिन्न। यसै धारणाको खेती प्रशासनदेखि लिएर बङ्गाली समाजको प्रत्येक स्तरमा भएको देखिन्छ। यस खेतीबाट उत्पादन भएको जुन फसल छ त्यसको नाम हो क्षोभ। ( दार्जीलिङ : स्मृति समाज इतिहास, परिमल भट्टाचार्य, अवभास, २००९)

दार्जीलिङ पहाडी अञ्चलको कुनै दुख्दो नसा कसैले छोइदिए उनीहरू कतिसम्म व्यथित हुन्छन् भन्ने सानो चेत पनि हामीलाई आज छ र? दार्जीलिङका नेपाली जातिसत्तासित नेपालको एकप्रकारको भौगोलिक सामञ्जस्य रहेको देखिएता पनि दार्जीलिङको आफ्नै एउटा स्वतन्त्र इतिहास रहेको छ। इतिहास जान्नको निम्ति भूगोलको ज्ञान हुनु पनि उत्तिकै आवश्यक देखिन्छ। दार्जीलिङका मानिसहरूका गोर्खाल्याण्डसम्बन्धी दावीसँग नृतत्त्व अर्थात जातिगत वंशानुगत धेरै मूलभूत कुराहरू जोडिएका छन्। नृतत्त्व अनि जातिगत उत्पत्तिकै आधारमा धेरै मिथ्या धारणा अथवा भ्रान्तिहरूको निवारण गर्न सकिन्छ। यसो नगरिए औपनिवेशिक कालदेखि चलिआएको भ्रान्तिहरूले नै भोलिका दिनहरूमा गम्भीर समस्याहरू जन्माउनेछ अनि यो भन्दा दुःखको कुरो केही हुने छैन। नृतत्त्वविज्ञानका दुइ शाखाहरू छन्- भौतिक नृतत्त्वविज्ञान अनि सामाजिक तथा सांस्कृतिक नृतत्त्वविज्ञान । मानवसत्ताको परिचय जान्नको निम्ति यी दुवै विज्ञानको महत्वपूर्ण भूमिका रहेको हुन्छ। भौतिक नृतत्त्वविज्ञानद्वारा हामी जातितत्त्व, जातिको उत्पत्ति  अनि जातिगत सम्मिश्रणका कुराहरू जान्न सक्छौ भने सामाजिक तथा सांस्कृतिक नृतत्त्वविज्ञानले हामीलाई त्यस जातिको समाज व्यवस्था, संस्कृतिहरूका समन्वय वा सम्मिश्रणको इतिहास स्पष्ट पार्दछ।

यो कुरालाई मनन गरिहेर्नु हो भने दार्जीलिङ भूभागका मानिसहरूको शारीरिक संरचना, वेशभूषा, खानपान, भाषासंस्कृति इत्यादि कुनै कुनै कुरा पनि समतलका बङ्गाली समुदायसित विन्दु मात्र पनि मेल खाँदैन। प्रश्न उठन स्वाभाविक नै हो, चार पाँच दशकदेखि अथवा त्यसभन्दा धेरै अघिदेखि नै जुन व्यक्तिहरूले गोर्खाल्याण्डका माग गरिरहेका छन्- ती गोर्खाहरू को हुन् त?  सामान्य रूपमा भन्नु हो भने पर्वतीय इलाकामा बस्ने नेपालीभाषी जनसाधारणलाई नै बङ्गालीहरूले गोर्खा भनेर चिन्छन्। उल्लेखयोग्य छ, नेपालको त्रिशुलगङ्गा अनि श्वेतगण्डकी नदीको उपत्यका अनि विस्तृत अञ्चल कुनै समय गोर्खाहरूका देश भनेर परिचित थियो। किम्वदन्ती अनुसार नेपालको एउटा गुफामा नै महायोगी गोरखनाथले तपस्या गरेका थिए। उनैका अनुगामी, शिष्य अनि उपासकहरूका रूपमा रहेका यसै विस्तृत भूखण्डका ठकुरी, खस, मगर, गुरूङ इत्यादी जातिहरूले आफूलाई गोर्खा भनेर परिचय दिएका थिए। अतीत अनि वर्तमानमा यस पहाडी जातिलाई युद्धकलामा अत्यन्त पारदर्शी भनेर चिनिन्छ । एक समय पृथ्वीका प्रायःजसो सबै देशहरूमा यस जातिलाई सामरिक विभागहरूमा अनि युद्धक्षेत्रहरूमा देखिने गरिन्थ्यो । नारी अनि पुरूष दुवैको शारीरिक गठन मजबूत हुनका साथै यिनीहरूको गठिलो मांसपेशी, बलिया तिघ्रा, होंचो कद, चौडा निधार,  फराकिलो अनुहार हुन्छ । अत्यन्तै सरल र उर्जावान, आत्मविश्वासी, दुर्भावनाहीन, कर्मनिपुण, भार वहन गर्न सक्षम, व्यवहारकुशल अनि उदार हृदयका धनी यी गोर्खाहरूको शारीरिक बनोटमात्र हेर्दा अनि भौतिक नृतत्त्व विज्ञान अन्तर्गत अध्ययन गर्दा  मङ्गोलीय वा तिब्बती जस्ता देखिए तापनि सांस्कृतिक रूपमा भने उनीहरू पूर्ण रूपमा भारतीय हुन् ।

दार्जीलिङका नानीहरूले राज्यको मुख्य भाषा पढ्छन् वा पढ्दैनन्, पढे कुन श्रेणीदेखि पढ्छन्, ती प्रश्नहरूमा अल्मलिन भन्दा यति विचार गर्न आवश्यक छ कि नेपाली भाषा भनेको नेपालको भाषा मात्र होइन । जसरी बङ्गला भाषा भनेको केवल पश्चिम बङ्गालकै मात्र भाषा होइन। नेपाली भाषा आज साहित्यसमृद्ध मात्र नभएर विचार विनिमयको निम्ति पनि समृद्ध भाषा हो ।नेपाली भाषा पनि अन्य आधुनिक भारतीय भाषाहरू झैं नवौं दशौं शताब्दीदेखि नै प्रचलनमा आएको हो । नेपाली भाषाको आफ्नै गरिमामय इतिहास रहेको छ ।चौधौं शताब्दीमा जुम्ला प्रदेशमा सिञ्जा खस पर्वतमा बसोबास गर्ने जातिले आफ्नो जग बसाल्दा दुईवटा भाषाहरू प्रचलनमा ल्याएको दस्तावेजहरू प्राप्य छन्- त्यसमध्ये एउटा हो संस्कृत अनि अर्को हो नेपाली भाषा । खसकुरा वा खसभाषाको नाउँले प्रचलित नेपाली भाषाको अस्तित्व अनि उल्लेख महाभारतमा पनि पाइन्छ । कल्हणको प्रसिद्ध ग्रन्थ राजतरङ्गिनी अनि प्राचीन ग्रीक अनि रोमनहरूका रचनामा समेत खसहरूको उल्लेख रहेको छ ।कुमाऊँ अनि गढवाल प्रान्तका सङ्ख्याबहुल मानिसहरू आज पनि आफूलाई खस भनेर परिचय दिने गर्छन् ।जर्ज ग्रियसनलाई उद्धृत गर्नु हो भने यही खसकै साम्राज्य वा आधिपत्य भएको भेक हो दार्जीलिङ । पर्वतिया, पहाडी भाषा इत्यादि नाउँले चिनिने भाषा नै आजको नेपाली वा गोर्खाली भाषा हो । दार्जीलिङमा बसोबासो गर्ने जुन नृगोष्ठीलाई हामी गोर्खा भनी चिन्छौं त्यो वास्तवमा धेरै उपजातिहरूको सम्मिश्रणले सृष्टि भएको एउटा सिङ्गो जाति हो जसको भाषा, साहित्य अनि संस्कृतिको लामो परम्परा रहेको छ ।

दार्जीलिङवासी नेपाली गोर्खाली सम्प्रदाय नेपालबाट आएका हुन् अनि लेप्चाहरू मात्र दार्जीलिङका एकमात्र आदि वासिन्दा हुन् भनेर अनि ती आदिवासी गोष्ठीलाई अघि लाएर किल्ला फत्ते गर्ने मनसाय राख्नेहरूले गोर्खाल्याण्डको दावीलाई अवैध समेत भनेका छन् । यस्ता प्रतिक्रियाहरूले न्यूटनको तेस्रो नियमको सम्झना गराउँछ । उपनिवेशकाल अनि उत्तर उपनिवेशकालको हरदर दुई सय वर्षसम्म पनि पहाडका यी बासिन्दाहरू भाषा, साहित्य, संस्कृति अनि नृतात्त्विक परिचय जोगाउँदै अनि एकार्कांमा आत्मीयता साटासाट गर्दै भारतीय सभ्यताको मूलधारामा नै लीन रहेका देखिन्छन् । यस कुरालाई सोझै नकार्छन् समतलका बङ्गवासीहरू। भारत बहुसंस्कृति, बहुभाषी, बहुसाहित्य अनि बहुनृतात्विक परिचयहरूको राष्ट्र हो। यसैभित्र रहेर दार्जीलिङले यदि आत्मसत्ताको अधिकारको माग उठाउँछ भने उनीहरूका प्रत्येक मागलाई नै तहसनहस गरिदिनु भनेको भारत जस्तो देशलाई नै ठूलो चोट पुऱ्याउनु हो।

अब यस समस्यालाई एउटा फरक दृष्टिकोणबाट हेर्ने प्रयास गरौं। आजको यो द्रुत परिवर्तनशील विश्वमा विशेष गरी भूमण्डलीकरणको क्रान्तिको युगमा आत्मसत्ता जस्तो कुरा सान्दर्भिक नहुन पनि सक्छ, प्रागैतिहासिक जस्तो पनि लाग्नसक्छ। ठूलो हल्ला गर्दै शोषण-शासनको विकेन्द्रीकरण गर्दा नै के सबै समस्याको समाधान भइहाल्छ ? बामफ्रन्टको समयको दार्जीलिङ गोर्खा पार्वत्य परिषद अथवा तृणमूलको समयको जीटीएको ललिपपले पहाडलाई धेरै समयसम्म झुक्याउन सकिँदैन भन्ने गाँठी कुरा राष्ट्र सत्ताशक्तिले समयमा नै बुझ्नुपर्ने थियो। एकसमयको अत्यन्त शक्तिशाली वामफ्रण्ट सरकारलाई तृणमूलले जसरी सत्ताच्युत गरेको थियो, पहाडमा पनि त्यस्तै प्रकारको इतिहास दोहोरिएको थियो । तर अब कुनै पनि ललिपपमा जनता भुलिने छन् वा छैनन् भन्ने कुराको अनुमान लगाउन गाह्रै पर्छ ।  यसपल्टको आन्दोलन पहाडको निम्ति स्वर्णिम आभा लिएर देखा परेको छ । यसैबीच प्राकृतिक अनि मानव सम्पदाको अपरिमित क्षति भइसकेको छ । अबको पाली जनसाधारण एक मौलिक अनि स्थायी समाधान चाहान्छन् । केन्द्र अनि राज्य सरकारले यो चुरो कुरा बुझ्न जत्तिको जरूरी छ, औपनिवेशिक ह्याङ्ओभरले मातिएका समतलका बहुसङ्ख्यक बङ्गालीहरूले पनि यो कुरा बुझ्न त्यति नै आवश्यक छ ।

यस्तो जटिल परिस्थितिलाई आत्मसात् गरी हेर्दा एउटा कुरा स्पष्ट हुन्छ कि केन्द्र अनि राज्य सरकारको सदिच्छाकै भरमा नै पहाडको भाग्य निर्भर रहेको छ ।केन्द्र अनि राज्यले भोट ब्याङ्कको कुरा मात्र मनमा राखेर बैठकमा अंशग्रहण गरे भने पहाडको समस्या कहिले उकास्न नसकिने गरी गहिरो पानीमा डुबेको जस्तो हुनेछ । कहिले घाम, कहिले पानी, कहिले कुहिरो लाग्ने दार्जीलिङको अस्थिर जलवायु जस्तै दार्जीलिङको राजनैतिक मौसम पनि अनप्रेडिक्टेबल भएर जानेछ । भुक्तभोगी केही पहाडवासीहरू केन्द्र र राज्यको स्वार्थी मानसिकताले अझ एउटा अर्कै नामको  अनि केही फरक स्वादको ललिपप जन्मिन सक्छ भन्ने कुरामा सशङ्कित छन् । गोर्खाल्याण्ड आन्दोलनलाई यसपल्ट पनि दबाइयो भने, यो पुनः कुनै न कुनै रूपमा, कुनै अर्को समयमा विस्फोटित हुने नै छ, कारण उनीहरूलाई थाहा छ अन्तिम युद्ध भन्ने केही हुँदैन । यो चलि नै रहन्छ ।


(गत ३० जुलाई, २०१७ मा आनन्दबजार पत्रिका नामक बङ्गला समाचारपत्रमा यस लेखको केही भाग पत्र-प्रतिवेदनको रूपमा प्रकाशित भएपनि लेखकको सहमतिमा यस निबन्धको विस्तारित अंशको मूलसार यहाँ प्रस्तुत गरिएको छ। )

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया