अस्पताल जान अस्वीकारः अनशनकारीहरूले लगाए सलाइन र अक्सिजन

कालेबुङः कालेबुङ जिल्ला अधिकारी डा. विश्वनाथले आज लगभग 4 बजी बेलुकी डम्बर चोकमा आएर अनशनकारीहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूलाई अस्पतालमा गएर चिकित्सा सुविधा लिइदिने आह्वान गरे। उनले तीनै जना अनशनकारी अजित रोका, सागर दियाली अनि राजु विश्वकर्मलाई अस्पताल गएर चिकित्सा लिइदिने आह्वान गरे तापनि तीनैजनाले उनको आह्वान अस्वीकार गरे।

उनले भने- “म तपाईहरूको अवस्था बुझेर नै यहाँ आएको हुँ। प्रशासनिक पक्षबाट म मानवताको नाताले पनि तपाईहरूको अवस्था बुझेर यहाँ आएको हुँ। तपाईहरूले अस्पताल गएर चिकित्सा लिइदिनुहोस्।” जिल्लाअधिकारी डा, विश्वनाथले तीनैजना अनशनकारीहरूको परिवारका सदस्यहरूसित पनि अनशन स्थलमा नै भेट गरेर चिकित्सा लिन मनाइदिने आग्रह गरे।

तथापि परिवारका सदस्यहरूले अनशनकारीहरू आफै नै अस्पताल जान नमानेको बताए। अनशनकारीहरूको अवस्था अनि गोर्खाहरूको माग विषय लिएर कुरा अघि बडाइदिने अपील परिवारपक्षले गरे। यता गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ महासचिव बालकृष्ण थापाले बताएअनुसार आज बिहान अचानक अनशनकारी अजित रोकाको अवस्था बिग्रिएपछि उनलाई सलाइन अनि अक्सिजन दिइएको थियो। उनी सँग-सँगै अन्य दुइजनाको पनि अवस्था बिग्रिएपछि स्थितिलाई मध्यनजर राखेर सलाइन दिइएको यद्यपि उनीहरूले अस्पताल जान अस्वीकार गरेको कारण अनशन स्थलमा नै राखिएको बताए।

मरणासन्न अवस्थामा पुगिसक्दा पनि सलाइन बाहेक अन्य कुनै औषधी लिन अस्वीकार गरेको अनि अस्पताल जानबाट अस्वीकार गरेकोबाट अहिले पनि अनशनकारीहरूको गोर्खाल्याण्डप्रतिको इमान्दारिता अनि कटिबद्धता सराहनीय रहेको थापाले बताए। सरकारले अबोप्रान्त पनि गोर्खाल्याण्ड राज्य गठनको कुरालाई लिएर पहल नगरे अझ प्रभावकारी आन्दोलनको दिशामा आफूहरू अघि बढ्ने उनले बताए।

चिन्ताजनक बन्दैछ अनशनकारीको अवस्थाः स्वास्थ्य जाँच लिन अस्वीकार

दार्जीलिङः अलग राज्य गोर्खाल्यान्ड प्राप्तिको मागमा सरकारमाथि चाप दिने उद्देश्यले आमरण अनशनमा बसेका अनशनकारीहरुको अवस्था अतिनै चिन्ताजनक बनिरहेको छ। तरै पनि यी अनशनकारीहरुले उपचारको सुविधा लिननै अस्वीकार गरिरहेका छन्। आज पनि यी अनशनकारीहरुको स्वास्थ्य जाँच गर्न आएका दार्जीलिङ जिल्ला अस्पतालका डाक्टरहरुलाई उनीहरुले आफ्नो स्वास्थ्यनै जाँच गर्न दिएनन्। तर डाक्टरहरुले यी अनशनकारीहरुको स्थिति चिन्ताजनक बनिरहेको बताउँदै शीघ्र उनीहरुलाई अस्पतालमा भर्ना नगरिए कुनै पनि समय केही पनि हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

गोर्खाल्यान्ड राज्य प्राप्तिको मागमा गत 21 जुलाईदेखि दार्जीलिङसँगै खरसाङ, कालेबुङ अनि मिरिकमा गरेर मोठ 12 जना गोर्खाल्यान्ड समर्थकले आमरण अनशन शुरू गरेका थिए, आज 19 दिन पुग्यो, तर अहिलेसम्म यो आमरण अनशनले सरकारमाथि कुनै चाप परेको छैन भन्ने स्पष्ट छ। तर यी अनशनकारीहरुको अवस्था चिन्ताजनक बनेपछि जिल्ला प्रशासन चिन्तित बनिरहेको छ।

यसैकारण दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले समय-समयमा चौरास्ताको भ्रमण गरी यी अनशनकारीहरुको अवस्था बुझ्ने पनि कार्य गरिरहेकी छन्। उनले गत केही दिनअघि यी अनशनकारीहरुको नाममा नोटिसनै जारी गरेर उनीहरुलाई यो अनशन उठाइदिने पनि अपील गरेकी थिइन् भने उनले दार्जीलिङ र खरसाङका विधायहरुलाई पत्राचार गरेर यी अनशनकारीहरुलाई स्वास्थ्य जूंच सुविधा ग्रहण गर्न हस्तक्षेप गर्ने पनि अपील गरेकी थिइन्। तरै पनि अहिलेसम्म यी अनशनकारीहरुले न अनशन उठाउन मानिरहेका छन्, न स्वास्थ्य जाँचको सुविधानै लिन स्वीकार गरिरहेका छन्।

यसैले हिजो साँझपख यी अनशनकारीहरूमध्ये नोर्देन वाङ्दी डुक्पा र राकेश छेत्री बेहोशनै बनेका थिए। अहिले पनि यी दुइको अवस्था यस्तै रहेको छ। यसैबीच, गोर्खा जनमुक्ति युवा मोर्चा नेतृत्व कृष्ण बर्मेले भने-यी अनशनकारीहरुको अवस्था चिन्ताजनक बनिरहेको छ, तर उनीहरुले स्वास्थ्य जाँच सुविधा लिननै मानेका छैनन्। यसैबीच, गोर्खा राष्ट्रिय कंग्रेसका कार्यकारी अध्यक्ष अशोककुमार लेप्चाले एक विज्ञप्ति जारी गर्दै गोर्खाल्यान्डको लागि आमरण अनशनकारीहरुलाई यस अनशनमाथि पुनर्विचार गर्ने अपील गरेको छ।

उनले भनेअनुसार, लोकतन्त्रमा धरना, जुलूस सभा आदिको जस्तो महत्व हुन्छ, त्यस्तै महत्व अनशन अनि आमरण अनशनको हुन्छ। गोर्खाल्यान्डको लागि थालिएको आमरण अनशनको 19औं दिन भइसक्यो, तर आन्दोलनकारी र सरकारमाझ वार्ता हुने कुनै छाँटकाँटनै देखिएको छैन। अनशनकारीहरुको अवस्था दिन-प्रतिदिन चिन्ताजनक बन्दै गइरहेको छ, यस्तो स्थितिमा अनशनकारीहरुमाथि कुनै अप्रिय घट्ना भए यो हाम्रो लागि मात्रै होइन, सम्पूर्ण देशको लागिनै दुःखदायी अनि नोक्सान हुनेछ। यसैले अनशनकारीहरुको बिग्रिंदो अवस्थालाई ध्यानमा राखेर गोर्खा राष्ट्रिय कंग्रेसले साधारण जनतादेखि आन्दोलनका नेतृत्ववर्गसमक्ष कुनै अप्रिय घट्ना हुनअघिनै यसमाथि पुनर्विचार गर्ने अपील गर्दछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन