केन्द्रिय गृहमन्त्रीलाई भेटेर गोर्खालिग निराशः केन्द्र गम्भीर छैन-प्रताप खाती

दिल्लीः  गोर्खालिग नेता प्रताप खाती दिल्लीमा छन्, उनले अघिल्लो महिना मात्र काङ्ग्रेस उपाध्यक्ष राहुल गान्धीलाई भेटेका थिए। हिजो जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्री अनि व्युरो सदस्य अमर लामासित आरएसएसका इन्द्रेस कुमार अनि आनन्द साउलाई भेटेका थिए।

आज गोर्खालिगले खातीकै नेतृत्वमा गएको चार सदस्यीय टोलीले केन्द्रिय गृहमन्त्री राजनाथसिंहसित भेट्यो। टोलीमा मिलन ठोक्कर, अन्जनी शर्मा र रिसिका छेत्री सामेल थिए।

‘राजनाथ सिंहसित भेटेर हामीले गोर्खाल्याण्डबारे कुरा त राख्यौं, तर उनीमार्फत दार्जीलिङको मुद्दाबारे केन्द्र गम्भीर नरहेको सङ्केत पायौँ,’ खातीले खबरम्यागजिनसित भने, ‘भेट लाभदायक भएन। हामी निराश छौँ। राजनाथ सिंहले आन्दोलनबारे चिन्तित रहेकोबाहेक अर्थोक कुरा गरेनन्।’

गृहमन्त्री पश्चिम बङ्गाल राज्यले जे बन्छ, त्यसैको आधारमा गोर्खाल्याण्ड आन्दोलनलाई डिल गर्ने मुडमा रहेको पनि खातीले खुलाए।

‘सिंह भन्छन्, राज्य सरकार वार्ता गर्ने पक्षमा नै छैन। हामी कोशिश गरिरहेका छौं, ममता व्यानर्जी डीएमहरूको रिपोर्ट आएपछि मात्र दार्जीलिङ विषयमा कुरा गर्न चाहान्छिन्,’ खातीले भने, ‘उनी अनुसार केन्द्रलाई आन्दोलनकारीसित वार्ता गर्न राज्य सरकारको सहमति नै छैन। अर्थात केन्द्र आफैले राज्यलाई छोडेर हाम्रो मुद्दा र आन्दोलनलाई सम्बोधन गर्न चाहँदैन।’

राज्य सरकारले जे भन्छ, केन्द्र त्यही गर्ने मुडमा रहेको पनि खातीले खुलाए।

‘गृहमन्त्री गोर्खाल्याण्ड आन्दोलनकारीहरू राज्यको सिफारिस् बोकेर आवोस् भन्न चाहन्छन्,’ खातीले भने, ‘हामीले यस्ता धेरैवटा राज्यको उदाहरण दियौँ, जसलाई राज्यको सिफारिस् परेन। तरै पनि राजनाथ सिंहले कुनै पनि सकरात्मक कुरा गर्न मानेनन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन