मोर्चाको हिजोको बैठकमा के के भयो?- मोर्चा टोली दिल्ली जानेः15 अगस्त उतामात्र आन्दोलन कठोरः मोर्चाले निर्देश गऱ्यो-वाहन र जनतालाई पिकेटर्सले दुःख नदिनु

दार्जीलिङः हिजो बसेको गोजमुमो केन्द्रिय समितिको एक उच्च स्तरीय बैठकले निर्णय गरेअनुसार गोजमुमोको एक शीर्षस्थ टोली चाड़ै दिल्ली जानेछ। यसबाहेक गोजमुमोको शीर्ष प्रतिनिधि टोलीले चाड़ै उत्तरपूर्वीक्षेत्रका सांसद एवं मुख्यमन्त्रीहरूसित भेटवार्ता गरी गोर्खाल्याण्ड राज्य निर्माणको पक्षमा सहयोग अनि समर्थनको अपील गर्नेछ।

आन्दोलनलाई जारी राख्दै गोजमुमोले चाड़ै नै दार्जीलिङ पहाड़का विभिन्न क्षेत्रहरूमा महाजुलुसहरूको आयोजना पनि गर्ने भएको छ। मोर्चा सहसचिव विनय तमाङले जारी गरेको विज्ञप्ती अनुसार राष्ट्रपिता महात्मा गान्धीको भारत छोड़ आन्दोलनले 75 वर्षगाँठ सम्पूर्ण पहाड़ अनि तराई डुवर्समा 9 अगस्तदेखि आगामी 15 अगस्तसम्म  पालन गरिनेछ। उक्त कार्यक्रममा भारत सरकारले दिएको नाराको साथसाथमा गोजमुमोले आफ्नो पार्टीको नाराहरू पनि समावेश गर्नेछ। उक्त कार्यक्रम दार्जीलिङ पहाड़, तराई डुवर्सलगायत राजमार्ग 10, राजमार्ग 55 अनि राजमार्ग 30 हरूमा पनि आयोजना गरिनेछ।

यता बन्दलाई प्रभावशाली अनि व्यवस्थित बनाउन लगायत बन्दावधि भइरहेको विभिन्न उपद्रवहरूमा गोजमुमो समर्थकहरूको कुनै हात नरहेको तर बारम्बार गोजमुमोमाथि दोषारोपणहरू भइरहेको कारण यसमाथि नियन्त्रण ल्याउन गोजमुमोले आफ्ना पिकेटर्सहरूलाई निर्दिष्ट स्थानहरूमामात्रै पिकेटिङ गर्ने निर्देश दिएको छ।

अवोप्रान्त मोर्चा कार्यकर्ताहरूले सभाले चिह्नित गरेका गोजमुमो कार्यकर्ताहरूलेमात्र पिकेटिङ गर्न पाउने अनि निर्दिष्ट स्थानहरूमा मात्र पिकेटिङ गर्न पाउने बताइएको छ।

कहाँ कहाँ हुन्छ पिकेटिङ?

दार्जीलिङ– आभा आर्ट ग्यालेरी, घूम भञ्ज्याङ, लेबोङ, सिङताम फाटक, रगंबूल, पूलबजार, बिजनबारी,कैजले, रेलिङ, सिङ्ला ब्रीज, सुक्खे, सेलिम्बोङ फाटक।

खरसाङ– रोहिणी जीरो, टुरिस्ट लज, दिलाराम, लङ्भिऊ, सिमलबारी, सोनादा, गाड़ीधुरा, दूधे।

मङपू– मङ्पू स्मारक, नालीडाड़ा।

कालेबुङ– छ माइल, कालेबुङ मोटर स्ट्याण्ड, 17 माइल, अलगढ़ा, गोरूबथान ब्लक अफिस, कुमानी मोड़, झोलुङ, बाग्रागोट चुइखिम,रेली।

मिरिक– मिरिक बाइपास, आहाले, सौरेनी बजार। 9 अगस्तदेखि यी चिह्नित गरिएका स्थलहरूमामात्रै गोजमुमो  कार्यकर्ताहरू पिकेटिङमा बस्नेछन्।

यी क्षेत्रहरूमा पिकेटिङ बस्ने गोजमुमोका सम्पूर्ण कार्यकर्ताहरूले अनुशासित अनि इमान्दारितासाथ पिकेटिङ गरिदिने साथै छुट दिइएका वाहन एवं जनतालाई कुनै दुःख कष्ट नदिने निर्देश पनि दिइसकेको छ।

यी क्षेत्रहरूबाहेक अन्य कुनै क्षेत्रहरूमा कुनै घटनाहरू भइहालेको अथवा लूटपाट र तोड़फोड़ भइहालेको खण्डमा गोजमुमोले जिम्मेवारी नलिने पनि बताइएको छ।

गोजमुमोले पिकेटिङ गर्ने स्थलहरूमा  भने आजदेखि नै अझ कड़ा अनि व्यवस्थित ढङ्गले पिकेटिङ गर्ने साथै आवश्यक छूट मिलेका वाहनहरू जस्तै , विमारी,  मरौं- बिहे,  प्रेस-मीडिया, इमरजेन्सी सर्भिस अनि आवश्यक सर-सामग्री आदिहरूलाई मात्रै छूट दिने पनि निर्देश दिइएको छ।

यसबाहेक हिजोको सभामा आगामी 15 अगस्तपछि गोर्खाल्याण्ड आन्दोलनको आगामी चरणलाई अझै सशक्त अनि प्रभावशाली बनाउने पनि गोजमुमोले निर्णय लिने भएको छ।

यसपछि जीएमसीसीको गत दिल्ली भ्रमणको अवधिमा जीएसएसका सदस्य सदस्याहरूले  जीएमसीसीका संयोजक कल्याण देवान अनि अन्य सदस्यहरूमाथि अभद्र व्यवहार गरेको घटनाको पनि हिजोको बैठकमा घोर प्रतिवाद जनाइएको छ।

बन्दना राई, साजन मोक्तान, लोप्साङ लामाद्वारा गोर्खाहरूको एकतालाई धमिल्याउने कोशिश

मोर्चाले उक्त घटना गोर्खाल्याण्डको मुद्दालाई कमजोड़ बनाउने अनि गोर्खाल्याण्डको निम्ति एकजुट भएका गोर्खाहरूको एकतालाई धमिल्याउने कोशिश रहेको बताउँदै गोर्खा समाजका बन्दना राई, साजन मोक्तान, लोप्साङ लामा आदिले यस्तो कोशिश गरिरहेको आरोप पनि लगाएको छ।

विज्ञप्तिमा भनिएको छ- ‘गोर्खाल्याण्डको निम्ति सबै एकजुट हुनुपर्ने समय हो। गोर्खाल्याण्डको नाम गरेर कसैले पनि व्यक्तिगत स्वार्थपूर्ती अनि हिरोइज्म गर्नु हुँदैन। ल्लीमा बसेर प्रेस मीडियामा बोल्दा अनि सोशियल साइटहरूमा लेख्दामात्रै गोर्खाल्याण्ड हुँदैन। जीएसएसका सदस्यसदस्याहरूले गोर्खाल्याण्डको मुख्य रणभूमि दार्जीलिङ पहाड़ अनि तराई डुवर्सक्षेत्रमा आएर आन्दोलन गर्नुपर्छ। अबउसो गोजमुमो अनि जीएमसीसीलाई बदनाम गर्ने प्रकारको कुनै पनि कार्यहरू नगरियोस्।’

प्रेस मिडियालाई छुट

विनय तामाङले आज खरसाङमा प्रेसको गाड़ी जलाइएको घटनाको निन्दा गरेका छन्। ‘उक्त घटनामा गोजमुमोको कुनै सहभागिता रहेको छैन र यस्ता घटनाहरूलाई गोजमुमोले कदापि सहन पनि गर्नेछैन,’ तमाङले भने, ‘गोजमुमोले प्रेस- मीडियालाई सदैव गणतन्त्रको मूल खाँबोको रूपमा सम्मान गर्दै आइरहेको छ। बन्दावधि प्रेस- मीडिया, विमारी, मरौं-बिहे, इमरजेन्सी सर्भिस अनि कतिपय आवश्यक सर- सामग्रीको वाहनहरूलाई छुट पनि प्रदान गरेको छ। गोजमुमो यस घटनाको घोर निन्दा गर्दछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन