घन्काउँदै घोर्लेस्वर

मैले चिनेको


  • मोहन ठकुरी

साहित्य महारथी, साहित्य सारथी महानन्द पौड्यालजीको नियत मलाई त्यतिबेलै थाहा भएको थियो। मेरो विद्यालयबाट उहाँ र उहाँको भतिजो सुन्दरले खोलेको प्रेस एकसय मिटरको दूरीमा थियो। तर उहाँ प्रेसको मिसिनहरू ट्रकमा लोड गरेर मलाई सुइँकोसम्म नलागोस् भनेर भाग्नलाग्नु भएको रहेछ। त्यो पुस्तक छाप्न दिएको एघार हजार पाँच सय बाहेक पनि उहाँ बनारसमा गएर कुनै काम गर्न लाग्दा पैसाको कमी भएछ र उहाँको भतिजो वा बिजिनेस पार्टनर मेरो विद्यालयमा आएर ‘बड़ाले भन्नुभएको तीन हजार रुपिया सापट दिनुहोस्’रे भन्दा मैले दिएको थिएँ। ट्रक स्टार्ट अवस्थामा थियो। मैले हतार हतार ट्रकको चाबी खोसेँ र पुस्तक छाप्न दिएको पैसा र त्यो तीन हजार पनि माग्दै ट्रकलाई जान नदिएपछि उहाँले तीन हजार दिनुभयो।

सायद कुनै साहित्यिक जमघटमा, सायद कुनै कवि-गोष्ठीमा, सायद हिँड्दै गर्दा सड़कमा उनीसित भेको भा’को। सायद दार्जीलिङमा, सायद सिलगढ़ीमा भेट भा’को। मलाई हेक्का छैन। यो चाहिँपक्कै हो कि उनीसित भेट हुनुभन्दा पहिल्यै उनको कवितासित भेट भा’को हो मेरो।

‘खस्नै लागेको उज्यालोमा’ निर्धक्क यसो भन्ने उनै त हुन् :

-शहर चिम्नीबाट उकेलिएको

धूँवाको साम्राज्यमा

कालो करतुतसित हात मिलाएर

जिउँछ

शहर तुँवालोको घेरोभित्र

घेरिएर

कालो धन्धामा हात बटाउँछ

शहर दुर्गन्धमा कपुर हालेर बाँचिरहेको छ, र पनि

भालेको डाक

गाउँमा पो सुनिन्छ

(पृष्ठ 80)

‘पर्खाल – ए/क/लो / ए/क/लो –संसार’ पनि छ – उनको अर्को कविता। सम्भवतः उनले लेखेका कविताहरूमध्ये सबैभन्दा लामो कविता यो। यसमा प्रयोग पनि छ, वैचारिक प्रौढ़ता पनि। कवि-द्रष्टाका अनेकन् प्रगाढ़ दृष्टिकोणहरूले पर्खाल ठड़िएको छ। अठाह्र-उन्नाइस पृष्ठको लामो फैलावटमा पनि ‘पर्खाल’ को श्रृङ्खला समाप्तिएको लाग्दैन। उनका अन्य कविताभन्दा यसको रूपरङ्ग पनि फरक छ। आकर्षक छ।

उनले लेखेका छन् :

-कहिले मुक्ति पाउने हो

मान्छेलाई मान्छे हुन नदिने

के त्यस्ता घेराहरू छन्

मनलाई मान्छेजस्ता

बनाइदिने विचारहरू

कुन पर्खालभित्र कैद छन्

अनुहारमा मान्छे बोकेर

इच्छाहरू पशुजस्ता

किन टाँसिए

यथार्थ

आकाश नीलो छ कि

समुद्र

यथार्थ

समुद्र नीलो छ कि

यथार्थ

अनुहार मान्छे हो कि

मन/कार्य

(‘खस्नै लागेको उज्यालोमा’/पृष्ठ 108-109)

दुइ हजार दशमा म सालबारी आइपुग्छु। अस्थायी बासमा। परिचयको परिधिमा पर्ने दुइजना मात्र छन् त्यसबेला। कवि ज्ञानेन्द्र खतिवड़ा अनि डीएसपी ताराकुमार राई।

एउटा बिहान।

दैनिक अखबार लिन म गिरी चौक पुगको छु। उनीहरू दुवै मर्निङ वकबाट फर्कँदै रहेछन्। म पनि यतै आएकोमा खुशी व्यक्त गर्छन्।

-‘दाजु! मर्निङ-वकमा सामेल हुनुहोस् तपाईँ पनि, भोलिदेखि नै।‘ ज्ञानेन्द्र भाइको प्रस्तावलाई छ – तारा भाइको समर्थन।

त्यसपछि।

प्रत्येक बिहान।

झिसमिसेले, चियाका बोटहरूले, अनाम रूखहरू र पोथ्रा-पोथ्रीले, युक्लिप्टसका चिल्लो नाङ्गोहरूले, चराहरूका चिरबिरले र चिसो हावाले हामीलाई भेट्छन्। वकमा। सधैँ। कहिलेकाहीँ हामीलाई हात्तीको हूलले भेट्छ र भेट्छ मुजुरको मनमोहक प्वाँखहरूले पनि।

ठूलै हुरी-हुन्डरीले मात्र हाम्रो बाटो छेक्नसक्छ। ‘ब्रिस्क वकर्’ हामी दुइ।

कोहीबेला हामीसित साथमा हुन्छन् – डीएसपी तारा भाइ, डीएफओ दिलीप योञ्जनज्यू र साथी राजेन मोक्तान। ज्ञानेन्द्र भाइ नआउँदा अरूले सोध्ने गर्छन् मलाई : ‘खोइ, तपाईँको साथी? आज एक्लै?’ त्यसरी नै मेरो अनुपस्थितिमा अरूले सोध्छन् उनलाई : ‘आज एक्लै तपाईँ? खोइ साथी?’ यसरी, अरूले हामी दुइलाई साथी देख्छन्, भन्छन्। तर ज्ञानेन्द्रले अरू साथीहरूलाई भन्दै गरेका हुन्छन् : ‘मोहन दाजु मेरा साथी होइनन्, उनी रा दाजु हुन्।‘

म चुपचाप बस्छु। देखेर भन्नेहरू पनि ठीकै छन्; प्रौढ़त्व पहिल्याएर आदरभाव राख्ने पनि सही नै छन्।

जे नै होस्, सालबारीसित मलाई चिनापर्ची गराउनमा उनको ठूलो भूमिका छ – त्यो म मान्छु। मलाई सालबारीको इतिहास र भूगोल, अतीत र वर्तमान, समाज र संस्था, अनुहार र मुखन्डो चिनाउने उनै हुन्। शुरूका एकाकी बेलाहरूमा ज्ञानेन्द्रका साथ-सङ्गत र उनका गृह-पुस्तकालयको पुस्तकहरूले मलाई साह्रै गुण लगाएको कुरा म निर्धक्क भन्नसक्छु। हिजोआज पनि जतिबेला वश्यक पर्छ उनकै पुस्तकहरूका बुइ चढ़ेर मेरा रचनाहरूलाई उभाउँछु म।

मर्निङ वकमा पनि कोहीबेला सिरियस कुराहरूको उठान हुन्छ। बगम्फुसे बातहरू हुँदैनन्। म पनि दाउ पारेर के के प्रश्नहरू सोधिबस्छु उनलाई। राजनीतिमा सक्रियता छैन उनको तर राजनीतिमा रुचि छ। पार्टी-पोलिटिक्सको कुरा बुझ्छन्। भोटाङे शरणार्थी मामलामा एकपल्ट जेलमा थुनुवा पनि परेका हुन् – डा. हर्कबहादुर छेत्रीसितै। भाषा-आन्दोलवमा पनि खटेकै हुन्। एकताक भाषा आन्दोलनमा सिलगढ़ीको प्रतिनिधित्व गरेका उनले। साहित्यमा त छँदैछन् उनी। समय-मौकामा खारिएको विचारहरू व्यक्त गर्छन्।

एउटा बिहान।

सोध्छु :

-‘तपाईँको राजनैतिक धारणा के छ?’

उनी भन्छन् :

– ‘मलाई समाजवाद मनपर्छ। मानिस मानिसजस्तै बाँच्नु पाउनुपर्छ। संसार कसैको पेवा होइन। संसार सबैले बराबरी उपभोग गर्नु पाउनुपर्छ। श्रमको मूल्य भएदेखि संसार यति साह्रो घिनलाग्दो नहुँदो हो कि!

-यो कुरा ठीकै छ कि भाइ। अर्को कुरा पनि छ। तपाईँलाई पनि थाह छँदैछ यो देशको शीर्षस्थ साहित्यिक संस्थान, साहित्य अकादेमीले दिने पुरस्कार सम्बन्धमा समय-समयमा गुनासोहरू सुनिन्छ। तपाईँलाई पनि चित्त नबुझेको केही छ कि?

ठूलो स्वरमा उत्तर दिन्छन् :

-अकादेमीले निम्न मानको पुस्तकहरूलाई पुरस्कृत गरेको देख्दा अकादेमीको उद्देश्य र लक्ष्य नै हराएको लाग्छ। अरू भाषा-साहित्यमा त त्यस्ता आँखा चिम्लेर नै गुठबाजीको हालीमुहाली नहोला। तर नेपालीमा त ज्यादै निकृष्ट प्रकारले नै भएको देखिन्छ। कवि राजेन्द्र, नोर्ज्याङ र केवलचन्द्र लामाहरूका निम्ति यो पुरस्कारको कुनै अर्थ रहँदैन अब। उनीहरूको सिर्जनाभन्दा निम्न मानका पुस्तक पुरस्कृत हुनु हो भने उनीहरू यो लहरदेखि बाहिर बस्दा नै सम्मानित भएको ठान्छु म। आफ्नो उचाईलाई किन घटाउने यी सर्जकहरूले……..’

हामी हिँड़्दैछौँ। अनायासै म सोध्छु :

-तपाईँलाई कति बेला रिस उठ्छ?

उनले मलाई पुलुक्क हेर्छन् – अलिकति छक्क परेको जस्तो भाव पनि छ उनको अनुहारमा अरूले अघि यस्तो प्रश्नै नसोधेको होला! के गर्ने? मुखमा आइहाल्यो त्यस्तै।

-सर्जकहरू ढोंगी भएको देख्दा मलाई रिस उठ्छ। जनसाधारणभन्दा सर्जकहरू आफूलाई विशिष्ट ठान्छन्। र, आफूमा जे छैन त्यो भएको भान पार्छन्। त्यस्तो देख्दा मलाई साह्रै दुःख लाग्छ। मेरो रिसलाई मेरो घोर्ले स्वरले पनि साथ दिएको छ। भान्साघरमा आमाले भात पस्किदिनुहुन्थ्यो र थप्ने बेलामा सोध्नुहुन्छ – ए ज्ञानी तँलाई भात थपिदिऊँ भनेर। म भन्थेँ – भो पर्दैन। मेरो घोर्ले स्वरले त्यो झर्किएर बोलेको हुँदो हो कि…! मलाई आमाले भन्नुहुन्थ्यो – नझर्की भो भन्नसक्दैनस्। खासमा मैले नझर्की नै भनेको हुन्थेँ। यसैले आफ्नै स्वरले दुश्मन निम्त्याउँछ। के गरौँ म, दाजु?

भन्छु म : ‘मैले त त्यस्तो सोंचेको छैन, भाइ।

उनी हाँस्छन्। हामी हिँड़िरहेको बाटोको दुवैतिर चियाको हरिया बोटहरू छन्, केही रूखहरू पनि। कति मनमोहक दृश्य!

मूल सड़क निस्कन केहीबेर लाग्छ अब।  एउटा जिज्ञासा छ मेरो।

-भाइ, हाम्रा अनुज पुस्ताका सर्जकहरूमा कस-कसको लेखन मनपराउनु हुन्छ? किन मनपराउनु हुन्छ?

-मोहन दाजु, मलाई छुदेन काबिमो, मनोज बोगटी, राजा पुनियानी, लेखनाथ छेत्री, बासुदेव पुलामी र पवित्रा लामाहरूका कलम सशक्त लाग्छ। मनपर्ने कारण साहित्यलाई यी कविहरूले सिरियसली लिन्छन् भनेर। अध्ययन गर्ने परम्परालाई पुनर्जीवित गर्दैछन् भनेर। आफ्नै कविता मात्र राम्रो देख्ने र मक्ख पर्दै न्यले लेखेको साहित्य पढ़्दा आफ्नो मौलिकता हराउँछ भन्दै नपढ़्ने समाजलाई प्रोत्साहन दिने र नपढ़ेको अवस्थालाई लुकाउन बहानाबाजी गर्नेहरूको समाजभन्दा छुट्टै साहित्यिक समाज निर्माण गर्दैछन् भनेर पनि हो।

  •  

अब हामी मूल सड़कमा आइपुगेका छौँ। वाहनहरूको आवाजले बिहानको एकान्त खल्बलिएको छ। चिनारू भेटिन्छन्। अभिवादनको साटासाट-

गुड् मर्निङ!

गुड् मर्निङ!

  •  

ज्ञानेन्द्र खतिवड़ासित कोहीबेला बेलुकी पनि निस्कन्छु – इभनिङ वकमा। तर बेलुकी त प्रायः उनीसित राजेन मोक्तान नै साथमा हुन्छन् क्यामेरासित। हिजोआज कोहीबेला पूर्ण मंगर र राम राई पनि समूहमा सामेल हुन आइपुगेको देखिन्छ। तर हाम्रो आकर्षण त मर्निङ वक नै हो – झन् यससित ज्ञानेन्द्रको मोह त अदभूतै छ। तपाईँलाई विश्वास गर्नु गाह्रै पर्ला आफ्नो पिताको कोरामा बस्दा समेत ब्ल्याङ्केट ओढ़ेर पनि मर्निङ वक् जाने मान्छे हुन् उनी।। ज्ञानेन्द्र ‘वक्-एडिक्ट’। स्कूल कलेजको विद्यार्थी जीवनदेखि नै ‘हिँड़्नु’ मा मोह बसेको उनलाई। एकपल्ट आफ्ना राम्री गर्लफ्रेन्डलाई घर-पुऱ्याउनु सिंहमारीदेखि बर्न्सबेगसम्मै हिँड़ेर पुग्ने उनी नै हुन्। आकलझुकल वाहनले दिएको ‘लिफ्ट’ लाई समेत अस्वीकार गरेका उनले त्यो दिन।

ज्ञानेन्द्रको मन ठूलो, रिस कड़ा।

हामी साथ जान्छौँ – पुस्तक लोकार्पणमा, साहित्यिक गोष्ठीमा, आकाशवाणीमा, बिहाबटुलमा, अन्त्येष्टिहरूमा। फजुलखर्ची होइनन् उनी, आवश्यक पर्दा गोजीबाट रकम झिक्न आनाकानी गर्दैनन्। कतिले जस्तो अभिनय मात्र गर्दैनन्। यात्रामा कतिले जस्तो हतार हतार सुविधाको ‘सिट’ ओगट्न पुग्दैनन्। आफूभन्दा पाका उमेरकाहरूलाई र वरिष्ठ नारीहरूलाई प्राथमिकता दिन्छन्, बरू आफू पछिल्लो सिटमा बस्न रुचाउँछन्।

साहित्यकार इन्द्रबहादुर राईको अध्ययन, लेखन र विद्वतालाई सधैँ सधैँ प्रशंसा छ उनीसित। हाम्रो जाति र भाषाको शिर ठाड़ो पारिदिने उनी नै हुन् – जहिले पनि ज्ञानेन्द्र यही कुरा अघि सार्छन्। आदरणीय इबरालाई भेट्दा उनको पाउमा नै शिर राख्छन् र खुशी हुन्छन्। देखावटी आदर होइन यो उनको।

आफूलाई चित्त नबुझ्ने कुरा छ – उनी रिसाउँछन्। कसैले हेप्न खोज्छ – उनी रिसाउँछन्। यस्तो बेला उनको घोर्ले स्वर माउथपिस जस्तो घन्कन्छ। कुनै ट्याक्सीले दार्जीलिङबाट सालबारीमा आइपुग्दा सिलगढ़ीकै भाड़ा लिन खोज्छ – यो उनलाई असह्य हुन्छ। उनलाई चित्त बुझेन मुख फोर्छन् उनी – चाहे विपक्षमा उभिने समाजको प्रमुख हुन् या सरकारी ओहोदाका ठूलै अधिकृत। यसै रिसको कारणले कति त उनीदेखि तर्किएकर हिँड्दा हुन्। के ठेगान!

ज्ञानेन्द्रलाई दुइटै कुरा अति प्रिय छ – अक्षर र अचार। अनेक कितापहरू थुपार्छन्, पढ़्छन्। नेपाली बाहेक इंलिस, हिन्दी र बङ्गला पनि। चिन्डेको अचार भनेपछि हुरुक्क हुन्छन्।

  •  

आज पनि न्यू चाम्टाको चियाबारी हुँदै फर्कँदैछौँ दुइजना।

-एउटा प्रश्न सोधुँ भनेको भाइलाई-

हिजोअस्ती पनि त्यतिकै बिर्सेछु।

-दाजु, सोध्नुहोस् न।

-छुट्टै राज्यको माग धेरै छिप्पसक्यो। पाइएला कि नपाइएला? तपाईँको विचारमा अहिलेसम्म किन नपाइएको?

-भूभागको आन्दोलनले गति समात्ने बित्तिकै दिशाहारा नहुने हो र इमान्दारसित नेतृत्व दिने हो भने छुट्टै राज्य निश्चय हुन्छ। बङ्गालको भूभागको मालिक चिनेर नै मालिकको शक्तिलाई टुक्रा टुक्रा पार्न उद्यत बन्दै आएको कुरो बि.सी. रोयको समयको जनसंख्या तालिकामा नेपालीलाई टुक्राटुक्रा पार्दै प्रस्तुत गर्ने चिलदृष्टिपात ज्योति बासुको समयको सिङ्गो जिल्लालाई टुक्राटुक्रा पार्ने हुँङ्कार-दन्त हुँदै वर्तमान सत्तासिनको कार्य पद्दतिबाटै थाह लाग्छ।

  •  

उनी घरमा एक्लै बस्छन्। छोरा-छोरी आउँछ – भेटेर फर्किन्छ। उनी फेरि एक्लै। घरी घरी एउटा प्रश्न मनमा सल्बलाइरहन्छ –

-उनीसित पुस्तक मोह नभएको भए?

सोध्छु :

-एकाकी जीवन-शैलीले के सिकायो तपाईँलाई? के पाउनुभो’? के गुमाउनुभो’?

-मेरा गुरु दान खालिङ पनि एक्लै सारा जीवन बिताएर जानुभयो। उहाँलाई एक्लो जीवनको गुनासो कहिले थिएन। मलाई पनि छैन।

  •  

साहित्यिकहरू आइरहन्छन् उनकोमा। मेचीपारिबाट पनि सोध्दै-खोज्दै आइरहन्छन्। एकप्रकारले ‘सम्पर्क व्यक्ति’ उनी, उताको लागि। नजिककाहरू पनि आउँछन्; म पनि जान्छु तर म त विशेष कितापकै लागि। हिजोआज उनको पुस्तकालयमा ‘क्याटलगिङ’ चल्दैछ। विजय थापालाई साह्रै माया गर्छन् – उनको ‘बेस्ट फ्रेन्ड’ उनी नै हुन्।

  •  

ज्ञानेन्द्रको घोर्ले-स्वर नै उनको विशेषता मान्छे ओझेलमा हुँदा पनि ठूलो स्वरले उनको उपस्थिति थाह हुन्छ। स्पष्टतावादिता उनको अर्को विशेषता। कुनै साहित्यिकबारे, उनीहरूका कृतिमाथि आलोचकीय मन्तव्य राख्नसक्छन् उनी।उनको स्मरणशक्ति तेज छ – बोलीजस्तै। उनले त्यसै घोर्ले स्वरले ‘शब्द-समय’ सञ्चालन गर्छन्, कुनै कारणले करेन्ट गएर माइक्रोफोन चुप हुँदा पनि उनलाई केही असर पर्ने होइन।

  •  

मलाई पहिलाको एउटा कुरा झल्यास्स याद आयो। सोध्छु उनलाई :

-तपाईँको पहिलो कृति ‘खस्नै लागेको उज्यालोमा’ (एप्रिल 1995) भन्दा अघि ‘नफर्कनेहरू तयार पार्नुभा’को रै’छ, छाप्नलाई रकम समेत बुझाउनुभा’को कुरा लेख्नुभा’छ। तर ‘नफर्कनेहरू’ फर्किएन। यसबारे आज के भन्नुहुन्छ तपाईँ?

-‘नफर्कनेहरू’ फर्कँदैन भन्ने त्यतिबेलै थाहा लाग्यो। साहित्य महारथी, साहित्य सारथी महानन्द पौड्यालजीको नियत मलाई त्यतिबेलै थाहा भएको थियो। मेरो विद्यालयबाट उहाँ र उहाँको भतिजो सुन्दरले खोलेको प्रेस एकसय मिटरको दूरीमा थियो। तर उहाँ प्रेसको मिसिनहरू ट्रकमा लोड गरेर मलाई सुइँकोसम्म नलागोस् भनेर भाग्नलाग्नु भएको रहेछ। त्यो पुस्तक छाप्न दिएको एघार हजार पाँच सय बाहेक पनि उहाँ बनारसमा गएर कुनै काम गर्न लाग्दा पैसाको कमी भएछ र उहाँको भतिजो वा बिजिनेस पार्टनर मेरो विद्यालयमा आएर ‘बड़ाले भन्नुभएको तीन हजार रुपिया सापट दिनुहोस्’रे भन्दा मैले दिएको थिएँ। ट्रक स्टार्ट अवस्थामा थियो। मैले हतार हतार ट्रकको चाबी खोसेँ र पुस्तक छाप्न दिएको पैसा र त्यो तीन हजार पनि माग्दै ट्रकलाई जान नदिएपछि उहाँले तीन हजार दिनुभयो। र पुस्तक छाप्न दिएको पैसा ‘पछि’ दिन्छु भनेर एउटा कागजमा लेखेर मलाई दिनुभयो – शिवराज शर्माको छोरा गोर्खाको पुसतक पसलभित्र। राकेश शर्मा यो घटनाको साक्षी छन्। त्यो ‘पछि’ भने फेरि फेरि आउँदै आएन। आएको छैन। त्यति मात्र कहाँ हो र…. बि.पी. कोइराला भारत नेपाल प्रतिष्ठानले आफ्नो पहिलो कार्यक्रम सिलगढ़ीको सिनक्लिएर होटलमा आयोजना गरेको थियो। उक्त कार्यक्रममा महानन्द पौड़्यालजी पनि सहभागी बनेर आउनुभएको थियो। उहाँ र मेरो हलदेखि बाहिर वासरूमतिर जाने प्यासेजमा जम्काभेट भयो। मैले नमस्कार सर भनेँ। उहाँले त ‘तपाईँलाई चिनिनँ’ भन्नुभयो। ‘ए सर, चिन्नुभएन, म त्यो नफर्कने पाण्डुलिपिको मालिक भनेर भनेपछि उहाँले भन्नुभयो, ‘म पैसा जोगाड़ गर्दैछु।‘ उक्त कार्यक्रममा नै उपस्थित रहनुभएको डा. कुमार प्रधान सरलाई मैले उक्त घटना सुनाएँ। सर भन्नुभयो, ‘कठालो समाउनु भएन, भाइ? कस्तो गतिछाड़ा रहेछ।

  •  

धेरै पछि एकदिन उहाँलाई दार्जीलिङ मोड़मा आफन्त कसैलाई पर्खिएर उभिरहनुभएको भेटें। उहाँलाई मैले नमस्ते गरेँ। उहाँ नमस्ते फर्काउनुभन्दा पनि सफाई दिनुमा आतुरिएको पाएँ। उहाँले हतार हतार भन्नुभयो : ‘त्यो पैसा म जमीन किन्दा मिलाइदिन्छु। टुप्पो न फेदको कुरा सुनेँ। म आफू भने नमस्तेमा खर्चिइने विचारले सरासर अघि बढ़ेँ। र, यसरी आस्था गर्ल्यामगुर्लुम भएको छ – ठूला र महान भनाउँदाहरूबाट। यसैले, माया मारेपछि ढुक्कले बाँच्न त पाइयो। नत्र सताइरहन्छ पसिनाको कमाइले…..।

-यो अहिलेको कुरा जस्तै तपाईँको जीवनमा कुनै अविस्मरणीय घटना छ कि? एउटै सुनाउनोस् न।

-अँ, एउटा छ।

म कश भएको नाताले भर्खरै बिजनबारी छेउछाउबाट आएर बसेका पूर्व सैनिक पौड़्याल (नाम भूलेँ) र एकजना राउत छेत्रीका ज्वाइँ (पेशाले ड्राइभऱ) आएर मलाई भने, ‘हाम्रो संस्थामा 51 नम्बरको सदस्य पर्ची काटिएको छ। अब 52 नम्बर तपाईँकै छ। तपाईँले यो नम्बरमा सदस्यता लिनुहोस्। होइन भने हामी तपाईँलाई सामाजिक बहिष्कार गर्छौँ। आफ्नै घरमा आफूलाई धम्की दिएको देख्दा मेरो घोर्ले स्वर चुप लागेर बस्न मानेन नै। मैले ती दुइ भाइलाई एकैचोटि ‘गेटआउट’ भनेर झण्डै झण्डै घोक्रेठ्याक लगाएँ।

  •  

सुनेर, मलाई अचम्म लागिरहन्छ। कस्ता प्रवृत्तिका हुन्छन् मानिसहरू!

हामी दुइ ‘गुरु-स्वीट्स’-को ठीक विपरीत आइपुगेका छौँऎ। अब आफ्नो आफ्नो दिशातिर लाग्ने बेला।

म भन्छु :

-भाइ!

-हजुर दाजु!

उनी मतिर फर्कन्छन्।

-तपाईँको कवितासङ्ग्रह छापिएको दुइ दशकभन्दा बढ़ी भइसक्यो। अब केही छाप्ने विचार छैन?

उनी हाँस्छन् र विस्ताकै भन्छन् :

-मन बनाउँदैछु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया