जाप, गोर्खालीगलाई लगिएन दिल्लीः हर्कबहादुरले जीएमसीसीलाई लिखित रूपमा स्पष्टिकरण माग्ने

प्रज्ज्वल छेत्री

कालेबुङ 13 अगस्त। ‘आन्दोलनमा सँधै एकसाथमा हुने जाप(जन आन्दोलन पार्टी) लाई दिल्लीको महत्त्वपूर्ण बैठकको निम्ति के को आधारमा लगिएन?’-जाप अध्यक्ष हर्कबहादुर छेत्रीले प्रश्न गर्दै भने, ‘हामी जीएमसीसीलाई लिखित रूपमा स्पष्टिकरण माग्नेछौँ।’

शनिबार कालेबुङमा भएको जीएमसीसीको बैठकमा जापका प्रतिनिधिहरू पनि उपस्थित थिए।  तर त्यस बैठकमा दिल्ली बैठकबारे कुनै चर्चा भएन। जीएमसीसीका संयोजक कल्याण देवानलाई जापका प्रतिनिधि टासी शेर्पाले फोनमार्फत जानकारी लिँदा ‘जीएमसीसीलाई हामी प्रतिनिधित्व गर्छौँ’-भन्ने आशयको उत्तर कल्याण देवानबाट प्राप्त भएपछि अहिले जाप जीएमसीसीसित असन्तुष्ट बनेको छ।

‘यदि जीएमसीसीमा जापको उपयोगिता छैन भने स्पष्ट रूपमा भनोस्, बाटो निस्किन्छ’-एक पत्रकार सम्मेलन डाकेर डा. छेत्रीले भने, ‘हामी सँगै काम गरिरहेका छौँ, तर भेदभाव भइरहेको छ।’

डा. छेत्रीका अनुसार जीएमसीसीमा कुनै यस्तो सम्झौता भएको छैन, जुन सम्झौताका आधारमा एउटा निश्चित दलले सबै दललाई प्रतिनिधित्व गरोस्। जीएमसीसीले प्रतिनिधित्व गर्दा त्यहाँ सबै दलका प्रतिनिधि हुनुपर्छ भन्ने जापलाई लागेको हो। जापलाई दिल्लीमा किन लगिएन भन्ने विषय आफूहरू अनभिज्ञ रहेको छेत्रीले बताए। यद्यपि उनले जापलाई नलगिएको सम्बन्धमा पछिबाट स्पष्टिकरण माग्ने बताए पनि अहिलेलाई भने जीएमसीसी टोलीलाई शुभकामना दिँदै जनताको आकांक्षासित खेलवाड हुनु नहुने चेताउनी पनि दिएका छन्।

‘गृहमन्त्रीले जुन बैठक बोलाएका छन् त्यसका निम्ति हामी खुशी छौँ’-छेत्रीले भने, ‘जनताको आकांक्षामाथि कुठाराघात् नहोस्,त्योभन्दा कममा सम्झौता नहोस्।’

जाप मात्र होइन अखिल भारतीय गोर्खालीगलाई पनि बैठकको खबरसमेत दिइएन।

‘एकातिर मोर्चाले सामुहिक नेतृत्वको कुरा गर्छ अर्कोतिर सामुहिक नेतृत्वलाई बैठकमा लाँदैन’–गोर्खालिग महासचिव प्रताप खातीले भने,  ‘यो गोर्खाल्याण्ड पाउने सङ्केत होइन।’

गोजमुमोले कुनै व्यवस्थामा सम्झौता गर्ने प्रयास गरिरहेको हुनसक्ने गोर्खालीगको शङ्का छ।

प्रताप खाती र हर्कबहादुर छेत्रीका अनुसार अखिल भारतीय गोर्खालीग, अखिल भारतीय जन आन्देलन पार्टी को नामको शुरुवातमा ‘अखिल भारतीय’-जोडिएको कारण यी दलरूलाई बैठकमा नलगेको भन्नेकुरा मोर्चाको स्रोतबाट उनीहरूलाई खबर आएको छ। तर उनीहरू मोर्चाको यो लजिकसित सन्तुष्ट छैनन्। यस सम्बन्धमा जीएमसीसी संयोजक एवं मोर्चा उपाध्यक्ष कल्यण देवानसित सम्पर्क गर्न चाहँदा सम्पर्क हुन सकेन।

आज केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसितको बैठकमा जीएमसीसीसित आबद्ध चारदवटा दल मोर्चा, क्रामाकपा, गोरानिमो र गोरामुमोले मात्र सहभागिता जनाइरहेको छ। जाप, गोर्खालीग, कङ्ग्रेस, भागोप लगायत अन्य सङ्घ-संस्थाहरूबाट भने कुनै पनि प्रतिनिधिलाई बैठकमा लगिएको छैन। जसले गर्दा अब फेरि जीएमसीसीभित्रै आबद्ध दलहरूमाझ विवाद शुरू हुने निश्चित छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन