हड़तालको व्याकरण

राजा पुनियानी

 

दार्जीलिङत्रासदी

खाली खाली सड़क। गल्ली। कुइनेटो। नारा, जुलूस, झण्डाहरूको चहलपहल।

एउटा ठुटे इतिहास झुण्डिएको छ-छ उपनिवेशवादको मादक चिनो क्यापिटलको एउटा ठुटे बाहुमा। दिनको अतिक्रमणमा बिहान सेरिँदै गर्दा रित्तो सड़कको खुइलिएको पेटीमा बसेर ठुटे बिँड़ी तान्दै हुन्छ ठुटे कोट र ठुटे हाफप्याण्ट लगाएको भरिया।

हड़तालको व्याकरण बुझ्न हम्मेहम्मे परेको छ उसलाई। ऊ सोच्दै पनि होला, “थाप्लोमा कसिएको नाम्लोमा एक मन भारी बोक्न सजिलो तर यो व्याकरण त गह्रौं। साह्रैसाह्रै गह्रुँ।” कखरा त छिचोलेको छ। वाक्य बनाउनै पो गाह्रो। झन् कुरा संज्ञा, सर्वनाम, क्रिया, सन्धिसमासमा पुगेपछि त हड़तालको चाम्रो भाषा उसलाई कुनै छुच्चो पण्डितले मात्र बुझ्ने संस्कृतको मृत श्लोकझैं लाग्दो हो।

यतिखेर बजारमा किनेमा-डल्ले-रायोको साग बेच्ने हामीजस्तै मैनाकी आमा पनि बगानमै बसेर पुरानो ठुटो चोली उध्रिएको ठाउँ सिउँदै होलिन्। नातिनीलाई भन्दै होलिन्- “ए, सियोमा यो धागो छिराइदे त बाबु।” तर धागो छिरेको छैन अझ। दार्जीलिङ-त्रासदी।

 

हड़तालको बिगुल

हड़तालको व्याकरणसँगै भरियालाई हड़तालको व्यापार बुझ्न समेत चाम्रो हुन्छ। कहाँ कसलाई कति लाभ – कहाँ कसलाई कति नोक्सान – ठम्याउनु कति साह्रो? लाभ भनेर घिस्याउन लगाइएको नोक्सान र नोक्सान भनेर लत्याउन लगाइएको लाभको लेनदेनमा सोझै थोपिएर सामेल गराइएको ऊ आफै चाहिँ, कठै, यो नाफा-नोक्सानको व्याकरणमा कति पङ्गु!

नबुझ्नुभन्दा सुत्नु साह्रै हानिकारक हुँदैनसम्म बुझ्छ ऊ। सिउसिउ गर्दै आएको ऊ। झण्डा फरफरिरहेको चोकको मुखमा आधीपेटको पूरै निद्रा सुतिदिएको छ। र्‍याण्डम पोजमा पिकेटरहरूले ताप्ने आगोछेऊ। अलिकति तातोको लोभमा।

निरङ्कुस हिउँदले ठिहीको चुचुरो नाघ्न खोजिरहेको हुन्छ। मुटुचिरुवा तिक्खर जाड़ोको राउडिजम चुपचाप सहँदै कक्रिएका छन् मान्छेहरू। छिप्पिएको जाड़ोले उत्तर भारततिर मान्छे मरेका समाचार मध्यवर्गीय मान्छेहरू न्यानो सिरकभित्र गुटमुटिएर टिभीमा हेर्दैछन् बाफिलो चिया खाँदै। सिरक पनि र टिभी पनि नहुनेहरू चाहिँ जाड़ोका पोल्ने खबरदेखि निख्लम बेखबर भई जङ्गलतिर दाउरा खोज्ने रौंचिरा अभियानमा छन् होला। दार्जीलिङे राजनीतिमा अनिश्चितताको पारा निकै माथि उक्लिएको आभास हुनलाग्दा बेहाल पहाड़-समतल दुवैतिर प्राकृतिक तापमानको पारा भने निकै तल खस्किदिन्छ।

हड़तालको बिगुल : ‘डल्लै गोर्खाल्याण्ड’ कि ‘झण्डै गोर्खाल्याण्ड’, कि ‘बोन्साइ-गोर्खाल्याण्ड’-को निम्ति?

 

ज्यानमारा जीवन

साह्रै खसखस छैन। हड़तालै आखिर किन डाकिन्छ, त्यसको एकछेऊ पनि भेउ छैन। हड़तालको अर्थ के, अनर्थ के, त्यसको पनि खोजीनिधि छैन। हड़तालको उद्देश्य, सार्थकता र प्रतिबद्धताबारे कुनै विशेष पड़ताल छैन। हड़तालको प्रयोग कि अपप्रयोग, यसको पनि कुनै कैरन हुँदैन। एकार्कालाई के-के जाती खुसखुस सोध्दै र भन्दै मान्छेहरू आगो ताप्छन्। बारी गोड़्छन्। र्‍याकेट खेल्छन्।

मान्छे कति सभ्य! न त केही भन्छन्। न नै केही सोध्छन्। कसै-कसैलाई नबिझाउने। न आफूलाई। न अरूलाई। बरू धुमधुमती बसेर खैनी माड़िरहन्छन् एकतमासले।

अनुहार, विचार र मनसँगसँगै सन्तप्त र स्तब्ध छन् घर, सड़क र टोलहरू। पातहरू नहल्लिएको देखेर हावा झन् अचल भएको हो लाग्छ। अन्याय भोगिरहेका उत्पीड़ितहरूले आय्याआत्था केही नभनी सञ्चै मानेको देखेर न्यायले आँखामा पट्टी बाँधेर बसेको छ लाग्छ। उनीहरूको पीड़ा र आक्रोशको आवाज नसुनेर आवाजले मौनताको कूवामा हाम फालेर आत्महत्या गरिरहेको छ लाग्छ। मानौँ, मौसम सँगसँगै जीवन पनि यहाँ ज्यानमारा भएको छ।

 

फ्ल्याशब्याकमा हड़ताल

समाजको उत्पीड़ित तब्काले अधिकार प्राप्तिको लड़ाइँमा हड़तालको आह्वान गर्ने गर्छन्।  सुविधावादी, संशोधनवादी, रुढ़िवादी शक्तिहरूले समेत आफ्नो वर्चस्व बचाउन हड़ताल डाकेर हड़तालको मर्यादा हनन पनि गर्दैछन्। वास्तविक हड़ताल त तर शोषितहरूकै हतियार रहिआएको इतिहासले बताउँछ। हड़तालको यो हतियार तीन हजार वर्षअघि इजिप्टका श्रमिकहरूले ठूलै आँट गरी बनाएका। हैकमी फेरो रामसेस तेस्रो-को राजत्वमा फेरोका चिहानघारीमा काम गर्ने शिल्पकारहरूले रसदको मागमा गरेको हड़ताललाई विश्वकै पहिलो अभिलिखित हड़ताल मानिन्छ। सन् १३४५-मा इटालीका ब्रान्दिनीले साहसिकतापूर्वक नेतृत्व गरेको युरोपको पहिलो हड़तालमा शासकहरूद्वारा तिनको हत्या गरिएको थियो।

 

अर्थनैतिक लड़ाइँको इतिहासबाट राजनैतिक लड़ाइँको इतिहासमा सरेको हड़तालको आफ्नै ऐतिहासिक महत्त्व, गरिमा र अर्थ छ। अर्थनैतिक हक र सुविधासहुलियतको आन्दोलनको मुख्यांशस्वरूप औद्योगिक मजदुरहरूले हड़तालको गौरवपूर्ण इतिहास बसालेका। पछिबाट रसियामा यसले फराकिलो सामाजिक-राजनैतिक स्वरूप पाएको। जति असफलता पाउँदै आएको हो हड़तालको राजनीतिले, त्यतिजसो नै सफलता पनि पाउँदै आएकै हो। इतिहासको ग्राफ हेरेर विचार्दा थाहा पाइन्छ – हड़तालको उद्देश्य र अर्थप्रति नेतृत्व र जनता दुवै साँचो अर्थमै इमानदार र स्पष्ट रूपमै प्रतिबद्ध छन् भने लक्ष्यप्राप्ति सजिलो हुनसक्छ। यता दार्जीलिङको सन्दर्भमा यो स्पष्टताको खाँचो कमोबेस सबैले अनुभव गरेका हुनन्। फुक्का खोलेर नभने पनि।

पूँजीवादले जनतावादको भेष धर्दा धेरजसो हड़ताल व्यक्तिगत, दलगत र गुठीगत स्वार्थपूर्तिको निम्ति नै डाकिने गरेका छन्। कहिले सत्यलाई ढाकछोप गर्न त कहिले झूठलाई सत्यको रूपमा स्थापित गर्न डाकिने हड़तालले हड़तालको वास्तविक अर्थ तुहाउने गरेका दृष्टान्त पनि पाइन्छन्। जनताको दैनिक रोजीरोटीको त्यागको मूल्यमा नै यस्ता हड़ताल हड़ताल हुनसकेका हुन्छन्। किनभने, जनता बिना न जनताको मुक्तिको आन्दोलन सम्भव छ, न त जनतालाई दुहुने शक्तिशालीको साम्राज्यको निर्माण नै। आफ्नो शोषण र मुक्ति दुवैमा जनता आफै औजारको रूपमा प्रयोग हुनुपर्ने सामाजिक यथार्थले जनतालाई बारम्बार कि धोका खुवाएको छ कि लड़्ने ताकत दिएको छ।

उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा हड़तालको रणनीतिले उत्कर्ष छोएको हुन्छ। ब्रिटेनमा सन् १८२० र सन् १८४२ अनि रसियामा सन् १८३५-मा डाकिएका आम हड़तालले मजदुरवर्गको वर्गचेतनालाई खुलाउँछन्। हकहितको निम्ति आवाज बुलन्द गर्ने दबिएका मानसिकताले जुझारू राजनैतिक स्वरूप पाउँछन्। यसरी वर्गसङ्घर्षको एउटा धारिलो औजार हुन्छ हड़ताल। रसियाको सन् १९०५-को आम हड़तालले वर्गसङ्घर्षलाई उकासेर सशस्त्र सङ्घर्षसम्म पुर्‍याउँदछ। जारतन्त्रलाई उन्मूलन गर्ने सन् १९१७-को अक्टोबर क्रान्तिसम्म आइपुग्दा हड़तालको राजनीतिले सैद्धान्तिक र आदर्शवादी चरित्र वहन गरिसकेको हुन्छ। बिस्तारै हड़तालको दावानल जर्मनी, अष्ट्रिया, हङ्ग्री, अमेरिका, जापान, फ्रान्सतिर सर्छ। सर्छ विश्वभरि।

 

अन्तर्द्वन्द्व भोगिरहेको समय

सत्यभन्दा बढ़ी झूठले, आन्दोलनभन्दा बढ़ी समझौताले र चिन्तनभन्दा बढ़ी फेशनले प्राथमिकता पाउने उपभोक्तावादी-साम्राज्यवादी-उपनिवेशवादी समाजमा हल्लाहरूभित्रको मौनताले हुनुहरूलाई डल्लैडल्लै निलेको जस्तो भान हुन्छ।

नहुनुहरू मात्र भइरहेको लाग्ने यो दिन, यो साल, यो शताब्दीको थुनामा परेको वर्तमानले कुन र कस्तो भविष्य जन्माउलाः यही एकनासे चिन्ताले तमतमिएको अनुहार लिएर इतिहासको रुगरुगे पहेंलो पाखातिर हेर्दै घुरेनको पुरानो रूखमा बसेर अनिष्ट कराउने कागहरू खेद्दैछन् घरबूढ़ाहरू। यतिखेर घरबाट बाहिरिएका जवानहरू कि जीवनको खोजमा सुदूरको यात्रामा छन् कि जागिरको खोजमा। सम्मान, आत्मसम्मान वा सामानको खोजी हो यो – निर्क्यौल गर्नु गाह्रो। घरमै हुनेहरूलाई हेक्का हुनु साह्रो – चाहिएको गौरव हो वा सुरक्षा। चाहिएको चिह्नारी हो वा चुनाउ – यो त स्वयं अन्तर्द्वन्द्व भोगिरहेको समयलाई मात्र थाहा हुँदो हो।

 

डालीको घड़ी र बैरागीको मातेको मान्छे  

यथार्थदेखि पर पनि थुप्रै-थुप्रै यथार्थहरू छन् कि? भ्रमदेखि बाहिर पनि धेरै-धेरै भ्रमहरू छन् कि? यस्तै कुरामा लहड़िने चित्रकार महोदय साल्भाडोर डाली। तिनले लाताकलुतुक परेका केही बूढ़ा घड़ीहरू तुनुतुनु बोकेर ल्याएपछि मात्र कति बजेको हो, सबैले थाहा गरेका। चेखवको भान्का, ओ हेनरीको मत्थु चित्रकार, भ्यानगगको पोट्याटो इटर्स, लु श्युनको आ क्यु, प्रेमचन्दका घीसु-माधव, रूपनारायण सिन्हाको धनमती, अगमसिंह गिरीको योद्धा, इन्द्रबहादुर राईको एमके, राजनारायाण प्रधानकी काली, इन्द्र सुन्दासको गाड़ीमान, शिवकुमार राईको मछुवा, नोर्जाङ स्याङ्देनको मध्यवित्तीय बाइकवाला युवक, ज्ञानेन्द्र खतिवड़ाको चिसेनीको खेताला, केवलचन्द्र लामाको सोमरा, सुधीर छेत्रीको माइला, मनोज बोगटीको काले सबै-सबै त सभामा छन्। अरू पनि को-को छन् को-को। सभाका धोकेबाज सूचनाकारले सम्भवतः गुप्तचर विभागलाई सूचना सुम्पिएकै त हुनुपर्छ। गुप्तचरहरूसँग पूरै सूची होला। को-को किन छन्। को-को किन छैनन्।

डाली महोदयले खूब मोहसाथ जगेड़ा गरेर राखेका लचिला खैरापहेंला घड़ीहरू। घामको उत्ताप भइञ्जेल केही नभएका। साँझपख पो हेर्दा-हेर्दै लततत पग्लिन्छन् ती घड़ी एक-एक गर्दै। हत्तपत्त डालीले ती घड़ीलाई बाहिर लगेर लुगा सुकाएझैं छेउको अबोला रूखको सबैभन्दा उदास डालामा तान्द्राङतुन्द्रुङ्ग झुण्ड्याउँछन्।

त्यही डालामुनि एक्लै उभिएर लरबराउँदै भाषण बक्दैछन् बैरागी काइँलाका पपुलर मातेको मान्छे। भित्र जुलूस पनि निस्कने कुरा हुँदैछ।

कोही बाझेकाझैं पनि सुनिन्छ। कोही गनगन गर्दैछन्। कोही गर्जँदैछन्। कोही जोड़जोड़ले आवाज पनि लगाउँदैछन्।

को हुन् कुन्नि, हल्लाको चिरा परेको चेपबाट भन्दैछन्- “अँहँ, भएन। हड़तालको यो बाउँठिएको व्याकरण चाहिँ भएन। खै वाक्यै बनिँदैन अन्त। यसो भएपछि बोल्नु चैं कसरी?”

कुन्नि को चाहिँ फ्याट्ट थप्दैछन्, “अब हामी हड़तालको व्याकरण हाम्रै पाराले लेख्ने।”

अझ एकजनाले भनेका छन् – “हड़ताल खोल्दैनौँ। गोर्खाल्याण्डको बिहान यही हड़तालले ल्याउनेछ।”

पहाड़लाई दिल्ली अझै बहिरा छ। गुँगो छ। टाढ़ो छ। कलकत्ता अझै निरङ्कुश छ। निर्मम छ। अबुझ छ। गोर्खाल्याण्डको सपना देख्ने आँगन छ। बूढ़ा बा मूढ़ामा फिका चिया खाँदैछन्। स्कूल जान नपाएका नातिनी-नातिहरू बाघचाल खेल्दैछन्। इन्टरनेट ब्यान भएकोले बाबाको मोबाइलमा भिडियो गेम बन्द छ। युवाहरू कि जुलुसमा छन्, कि गोलीबारीमा छन् कि जियोडाँड़ामा।

फोर्सले गस्ती लगाइरहेको उदास चौरस्तामा भुस्याहा कुकुरहरू निख्लम सुतेका छन्।

 

चित्र – परायथार्थवादी चित्रकार साल्भाडोर डालीको विश्वविख्यात चित्र ‘पर्सिस्टेन्स अफ मेमोरी’ (सन् १९३१) –को इन्टरनेट प्रति

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया