घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो – सञ्जय विष्ट

कालेबुङ जिल्लाबाट नेपाली भाषिक एकरुपताको अभियान सुरु


  • डी.के. वाइबा, कालेबुङ

‘वि.स. १९९१ देखि नै नेपाली भाषा प्रकाशिनी समितिले वर्णविन्यास सम्बन्धि कार्य गरेको थिएछ। त्यसपछि आजसम्ममा यति धेरै घोषणा पत्रहरू निस्किए जुन घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो। जसले गर्दा नेपाली भाषामा लेखनमा मानकीकरण हुन सकेन’

 ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ नामक पुस्तिकाको विमोचन गरेर नवगठित कालेबुङ जिल्लाबाट नेपाली भाषा एकरुपताको अभियान सुरु भएको छ। आजसम्म संस्कृत व्याकरणका नियमलाई नै मानेर नेपाली व्याकरणहरू निर्माण गरिने अनि त्यहीँ व्याकरणका आधारमा नेपाली वर्णमाला अध्ययन र अध्यापन गरिन्दै आएको कारण नेपाली भाषिक एकरुपतामा कठिनाई भएको महसुर गरेर ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ प्रकाशित गरिएको छ। भाषा मान्यता दिवसको छेक पारी २१ अगस्ट २०१६ का दिन कालेबुङको डेलोस्थित विज्ञान केन्द्रमा ‘नेपाली वर्ण-विन्यास : प्रस्तावना र प्रयोग’ शीर्षकामा आयोजित कार्यक्रममा पारित प्रस्तावलाई ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ नाम दिइ उक्त पुस्तिका उपमा प्रकाशनले प्रकाशित गरेको छ।

नेपाली भाषा लेखनमा आजपर्यन्त देखिएका विभिन्न प्रस्तावना र ती प्रस्तावनाहरूको वैज्ञानिकतामाथि छलफल गरी एउटा मानक रूपको स्थापना र प्रयोगको प्रचेष्टा गर्नलाई लिइएका प्रस्तावलाई ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ मा समावेश गरिएको छ। उक्त प्रस्तावलाई दार्जिलिङ,कालेबुङ, सिलगढी, मिरिक अनि सिक्किमका अठ्ठाईस साहित्यिक स्रष्टा-द्रष्टा, प्राध्यापक, अध्यापक अनि भाषा-साहित्यसित सम्बन्धित व्यक्तिहरूले छल-फल गरेर अन्तिम रुप दिएका छन्। जसले नेपाली भाषिक एकरुपताको बाटोमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। यद्यपी उक्त प्रस्तावनासिह भाषासँग सम्बन्धित व्यक्तिहरूको मत भिन्नता हुनसक्ने बताउँदै मत नमिल्नेहरूले वैज्ञानिकताको आधारमा आफ्नो तर्क राख्न सक्ने सञ्जय विष्टले बताएका छन्।

नेपाली भाषाको मानक रुपको स्थापनाको निम्ति तयार पारिएको उक्त ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ लाई प्रा. डा. घनश्याम नेपाल, श्री ज्ञान सुतार, श्री बलभद्र शर्मा, श्री सी. के. श्रेष्ठ, श्री हीरा छेत्री, श्री मणीन्द्र भुजेल, डा. पुष्कर पराजुली, डा. योगेश पन्थ, श्रीमती सुधा गुरुङ, डा. ममता लामा, श्री अजय लामा, श्री डपछिरिङ लेप्चा, श्री विक्रम राई, श्री भुपेन तामाङ, वासुदेव पुलामी, देवचन्द्र सुब्बा, धनबहादुर मगर, ज्ञानेन्द्र सुब्बा, दिपक तामाङ, विनेश प्रधान, श्री भूपाल सिङ्गौरे, श्री बलराम सापकोटा, श्री दिपेश लामा, डा. बी. बी. गुरुङ, उमेश थापा, धनकुमार तामाङ, सुधीर छेत्री, सञ्जय विष्ट आदिका अठ्ठाईस साहित्यिक स्रष्टा-द्रष्टा, प्राध्यापक, अध्यापकहरूको समुहले अन्तिम रुप दिएका छन्।

कालेबुङ टाउन हलको सभागृहमा उपमा प्रकाशन अनि कालेबुङ विज्ञान केन्द्रद्वारा आयोजित कार्यक्रममा साहित्यकार ज्ञान सुतार, शिक्षाविद बीआर छेत्री, सुधा गुरुङ, सञ्जय विष्ट, शसेर अली, हिरा छेत्री, उमेश उपमा, सुधीर छेत्री आदिको बाहुलीबाट उक्त पुस्तिकाको विमोचन गरिएको छ। विशेष गरेर नेपाली भाषाको एकरुपताको निम्ति पहल गर्दै प्रकाशित गरिएको उक्त पुस्तिकामा समावेश प्रस्तावलाई भाषिक एकरुपताको निम्ति भारतबाट पहल गरिएको कथाकार सञ्जय विष्टले बताएका छन्। आजसम्म नेपाली भाषिहरूका निम्ति संस्कृतका नियम थोपेर निर्माण गरिएको व्याकरणहरूको आधारमा भाषिक मानकिकरणको कुरा अघि बढेको अनि त्यहीँ आधारमा विद्यार्थीवर्गलाई नेपाली वर्णमाला सिकाउने कार्य हुँदा नेपाली भाषी विद्यार्थीवर्ग अलमल्ल हुने अवस्थामा पुगेको कारण नेपाली भाषी विद्यार्थीवर्गका निम्ति ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ नामक पुस्तिका तयार पारेर भाषिक मानकिकरणको निम्ति कार्य गरेको कथाकार सञ्जय विष्टले बताएका छन्। कवि सुधीर छेत्रीद्वारा सञ्चालित कार्यक्रमलाई साहित्यकार हीरा छेत्रीले पनि सम्बोधन गरेका थिए भने भाषिक एकरुपताको निम्ति ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ एउटा दह्रो अनि वैज्ञानिक दस्तावेज रहेको बताएका छन्।

‘वि.स. १९९१ देखि नै नेपाली भाषा प्रकाशिनी समितिले वर्णविन्यास सम्बन्धि कार्य गरेको थिएछ। त्यसपछि आजसम्ममा यति धेरै घोषणा पत्रहरू निस्किए जुन घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो। जसले गर्दा नेपाली भाषामा लेखनमा मानकीकरण हुन सकेन’ सञ्जय विष्टले भने। उनले यस्तो मानकिकरण हुन नसक्नुको मूल कारण भने ‘नेपाली भाषाको वर्णमाला ठिक नहुनु’ हो भने। नेपाली भाषाको आफ्नै वर्णमालामा संस्कृतका वर्णमाला मिलाउने कार्य भएको कारण नेपाली भाषिक एकरुपतामा कठिनाई भएको पनि विष्टले बताएका छन्। ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ ले संस्कृतको वर्णमाला त्याग्नु भन्ने नभनेर नेपाली भाषामा तत्सम वर्गमा भने संस्कृत वर्णको प्रयोग गरिनुपर्ने अनि आगन्तुक भाषामा नेपाली वर्णमाला प्रयोग गरिए भाषिक एकरुपतामा सहज हुने स्पष्ट पारेका छन्। उनले ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ मा तत्सम शब्दवालीलाई जस्तातो त्यस्तै प्रयोग गर्ने कुरालाई पनि अघि राखेको बताउँदै ‘मूल नियम र उपनियम अनुसार नेपाली भाषाको प्रयोग गर्नुपर्ने आफुहरूको  तर्क रहेको स्पष्ट पारेका छन्।


 ‘कालेबुङ प्रस्तावना’ मा समावेश सत्र बुँदे प्रस्तावना 

१. आजसम्म नेपाली व्याकरण लेखन तत्सम अनि नेपाली गरी दुईवटा नियममा आधारित हुँदा तत्सम शब्दहरू नेपाली व्याकरणको तत्सम नियमअनुसार नै लेख्ने। यस आधारमा उच्चारण नभए तापनि तत्सम शब्दको वर्ण-विन्यासका निम्ति पदादि र पदमध्यमा मूलअनुरूप दीर्घ मात्रा अनि नेपाली वर्णमालामा नभएका ञ, ण, श, ष, ऋ अनि संयुक्त अक्षरहरूको प्रयोग गर्ने। जस्तै – ईश्वर, कीटाणु, जीवन, आकाश, आषाढ, समीक्षा, प्राचीन,नवीन, मूर्ख, चञ्चल, पञ्चायत, दण्ड, ऋषि,  आदि।

२. तद्भव, आगन्तुक अनि झर्रा शब्दहरूको वर्ण-विन्यास नेपाली वर्णमालाअनुसार गर्ने अर्थात् यस्ता शब्दहरूको वर्ण-विन्यासका निम्ति नेपाली व्याकरणको तद्भव वा नेपाली नियम पालन गर्ने।  जस्तै – ठुलो, बुढी, महिना, सुन, नुन, जुन, पुरा, खिर, जमिन, सहर, सहिद, कानुन, स्कुल, अन्डा, झन्डा,गोर्खाल्यान्ड आदि।

३. तत्सम शब्दमा तत्समइतर प्रत्यय लागेर बनेका भाषाका शब्दहरूको वर्ण-विन्यास नेपाली नियमअनुसार गर्ने। जस्तै – पुर्बेली, बर्से, बर्सेनि,दुस्ट्याइँ, स्विकार्नु, बिदेसियो, बिचार्नु आदि।

४. तत्सम शब्दहरूमा बाहेक अन्य शब्दहरूमा ब र व-को झमेला नहुँदा र नेपाली भाषामा ब र व-को व्यतिरेकी रहेको हुँदा तद्भव, आगन्तुक र झर्रा शब्दको वर्ण-विन्यास उच्चारणअनुरूप गर्ने।  जस्तै – अखबार, बैङ्क, बित्तिकै, बग्यो, बारी; वारी, कुवा, खेतीवाला, पावर, देखावटी, ग्वाम्म, हरुवा आदि।

५. तद्भव, आगन्तुक र झर्रा शब्दहरूको वर्ण-विन्यासमा नेपाली वर्णमालामा नभएका ञ, ण, श, ष अनि क्ष र ज्ञ-जस्ता संयुक्त अक्षरको प्रयोग नगर्ने। पातलो स, वर्त्स्य न अनि छ्य र ग्यलाई वैज्ञानिक मानेर त्यसैअनुरूप वर्ण-विन्यास गर्ने। जस्तै – पुस, असोज, सिकार, कोसिस, पोस्ट, सायद,सेक्सपियर, गरुन्जेल, डन्ठा, लन्ठा, छ्यामा, ग्याँचे आदि।

६. तत्सम शब्दको वर्ण-विन्यासमा तत्सम नियमअनुसार पञ्चम वर्ण र शिरविन्दुको प्रयोग गर्ने तर तत्समइतर शब्दहरूको वर्ण-विन्यासमा नेपाली वर्णमालाका पञ्चम वर्ण ङ, न अनि म-कै मात्र प्रयोग गर्ने। जस्तै – रङ्गित, चन्चले, बरन्डा, बेन्ची, पम्फा, चम्ची आदि।

७. क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ लेखिँदै आएका शब्दहरू तद्भव वर्गमा पर्ने हुनाले यस्ता शब्दहरू र शिष्ट प्रयोग भनेर दीर्घ लेखिँदै आएका शब्दहरूको पदादिमा ह्रस्व लेख्ने। जस्तै – मिठो, तितो, दुध, फुल; पिरो, किरो आदि।

८. सङ्ख्या बुझाउने शब्दहरूको सुरु र बिचमा चलेकै नियम पालन गर्दै दीर्घ ई लेखे पनि उ-लाई ऊ नलेख्ने।  जस्तै – तीन, बीस, तीस; सत्ताईस,एकचालीस, पैँतालीस; उन्तीस, उन्चालीस, उनासी आदि।

९. स्थाननाम दीर्घ लेख्ने। उकारान्त नाम र विशेषण ह्रस्व लेखिए पनि इकारान्त र उकारान्त दुवै स्थाननाम दीर्घ लेख्ने। अर्थात् इकारान्त अनि उकारान्त स्थाननाम दीर्घान्त लेख्ने। जस्तै – मङ्पू, जङ्गू, रम्फू, सिप्सू, लप्चू, लखनऊ आदि जस्तै – लिम्बू, खम्बू, हिन्दू, हिब्रू आदि।

१०. इच्छा जनाउने क्रियाको तृतीय पुरुषमा बिचको उकार ह्रस्व लेख्ने तर आदेश जनाउने क्रियाको अन्त्यमा चाहिँ दीर्घ लेख्ने। जस्तै – जाउन्,खाउन्, हेरुन्, पढुन् अनि जानू, खानु, हेर्नू, पढ्नू आदि।

११. अङ्ग्रेजीको ‘स्पेलिङ’ नेपाली वर्ण-विन्यासका आधार हुनु हुँदैन भन्ने टेक लिई ‘ङ’-को मात्रै उच्चारण हुने शब्दहरूमा अनावश्यक ‘ग’नलेख्ने र नलेख्न प्रोत्साहन गर्ने। जस्तै – दार्जिलिङ, कालेबुङ, खर्साङ, गुरुङ, तामाङ आदि।

१२. कुनै पनि शब्दमा मात्रापछिल्तिर प्राविधिक असुविधाका कारण अनुस्वारले काम चलाउँदै आएका ठाउँमा, प्रविधिमा अब त्यो असुविधा नरहँदा चन्द्रविन्दु लेख्नु पर्ने ठाउँमा चन्द्रविन्दु नै लेख्ने। जस्तै – भन्छौँ, गर्छौँ, सुन्छौँ, झैँ, चैँ, चाहिँ आदि।

१३. वर्ण-विन्यासमा एकरूपता ल्याउन संयुक्त अक्षरका शब्दहरूलाई लम्बीय ढाँचाको साटो सरल रैखिक ढाँचा दिने। विशेष विषमतलीय संयुक्त अक्षरका शब्दहरूको वर्ण-विन्यासमा यो ढाँचा मानिलिने। जस्तै – शङ्का, सङ्घ, सङ्कलन, सङ्ग्रह, छुट्टाउनु आदि।

१४. नामयोगी, विभक्ति, वटा, जना-जस्ता कोटिकार अनि दोस्रो नाम पदयोग गरी लेख्ने। जस्तै – घरपर्तिर, कानुनबमोजिम, नियमअनुसार;बजारदेखि, घरबाट, स्कुलमा; चारवटा,  दुईजना; इन्द्रबहादुर, शिवकुमार, लक्ष्मीप्रसाद आदि।

१५. विशेषण र विशेष्यको लेखनमा एउटै प्रयोगकर्ताले पनि पदयोग र पदवियोगका दुवै नीति चलाइरहेकाले अबउसो लेखनगत एकरूपताका निम्ति सबै विशेषण र विशेष्यलाई छुट्टाएरै लेख्ने।  जस्तै – गाडे घाउ, हिँउदे मकै, रात्रि सेवा, शुभ विवाह, शुभ कामना आदि।

१६. पूर्ण द्वित्व छुट्टाएर लेख्ने। आंशिक र आपरिवर्तित द्वित्व चाहिँ जोडेर लेख्ने। जस्तै – घर घर, वन वन, डाँडा डाँडा; आआफ्नो, ठुल्ठुलो,तित्तितो, झझल्को; कुटकाट, ठोकठाक, आलोपालो आदि।

१७. सहायक क्रिया र दुइटा काम जनाउने क्रिया छुट्टाएर लेख्ने तर संयुक्त क्रिया वा एउटै काम जनाउने क्रिया जोडेरै लेख्ने। जस्तै – भनेको छ,लेख्दै थियो, खाएका छौँ, पढ्दै होली; भनी सक्यो (भनेर सक्यो अर्थात् भन्ने र सक्ने दुईवटा काम गऱ्यो), गरी दियो (गरेर दियो अर्थात् गर्ने र दिने दुईवटा काम गऱ्यो), खाई हेर्छ (खाएर हेर्छ अर्थात् खाने र हेर्ने दुईवटा काम गर्छ); खाइसक्यो (खायो), ल्याइदिइसक्यो (ल्यायो), लेखिदियो (लेख्यो) आदि।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया