नेपाली कवितामा दलित चेतना

ड. कविता लामा

दलित साहित्यको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग

‘दलित साहित्य त्यो साहित्य हो जहाँ दलितहरूले भोगेका, सहेका दुःख, यातना, दासत्व, बदनामी, उपहास, तथा गरिबीको सौन्दर्यपरक चित्रण हुन्छ’ (मुखर्जी, 2010:30)। दलित जीवन अनि उनीहरूको समस्यामाथिको लेखनमा केन्दित रहेर साहित्यिक आन्दोलनद्वारा लेखिने साहित्यलाई पनि ‘दलित साहित्य’ भनिन्छ। दलित साहित्य अन्य परम्परावादी साहित्यभन्दा भिन्न हुन्छ कारण यसले समानता, स्वतन्त्रता अनि मानवीय मूल्यको स्थापनामा बढी जोड दिन्छ। अस्पृश्यताको सिकार बनेका दलितहरू समाजमा एउटा विशेष शक्तिशाली समूहबाट सामाजिक, धार्मिक, सांस्कृतिक अनि शैक्षिक न्यायको माग गरिरहेका हुन्छन्। यस मागलाई उच्चारण गरी लेखिने दलित साहित्यमा उनीहरूको भोगाइका कथाहरूको अलग महत्त्व रहेको पाइन्छ।

हिन्दु समाजको सबैभन्दा तल्लो वर्गमा पनि दलित समाज न्याय, शिक्षा, समानता तथा स्वतन्त्रता आदि मौलिक अधिकारहरूबाट बञ्चित रहेको देखिन्छ। दलित साहित्यलाई वेदनाहरूको गौरवशाली विम्ब पनि मानिन्छ।

दलित साहित्यको सुरुवात मराठीबाट भएको मानिन्छ जहाँ दलितहरू पैँथर आन्दोलनको समयमा धेरै संख्यामा आएका दलित जातिका रचनाकारहरूले आफ्नो भावना, पीडा, दुःख आदिलाई कविता, निबन्ध, जीवनी, व्यङ्ग्यद्वारा कथाहरूद्वारा जनसमक्ष पुर्‍याए।

कुनै पनि साहित्य विकासको निम्ति समय चेतना अत्यन्त महत्त्वपूर्ण तत्त्व मानिन्छ। अहिले पनि साहित्यमा कल्पना र आदर्शकै भरमा साहित्य लेखिए त्यो साहित्य सान्दार्भिक हुन सक्तैन। साहित्य समय चेतनासहित अघि आउनु हो भने त्यहाँ सामाजिक यथार्थ, वैचारिक प्रतिबद्धता तथा समाजमा देखा परेका विसङ्गतिहरूलाई समेटेर लेखिन्छ। यीमध्ये वर्तमानमा दलित शब्दले त्यस सान्दार्भिकतालाई बोक्न सकेको छ, सामाजिक यथार्थ र विसङ्गतिलाई विमर्शको विषय बनाउन सक्षम भएको छ। समाजका उच्चवर्गले तल्लो वर्गका मानिस सम्झेर उनीहरूलाई दबाउने, शोषण गर्ने गरेकाले उनीहरूलाई ‘दलित’ भनियो। दलित शब्दलाई आर्थिक, सामाजिक, धार्मिक-सांस्कृतिक, राजनीतिक, संवैधानिक, लैङ्गिक दृष्टिकोणले भिन्नाभिन्नै आयाममा ग्रहण गरिएको पाइन्छ। आर्थिक दृष्टिले दलित एउटा शब्द हो। दलितको पीडा नै भोगेको छैन, उनीहरूले दलित साहित्य लेख्न सक्तैनन्। दलित रचना त्यही हुन्छ जो दलितद्वारा लेखिन्छ। दलित साहित्यबारे मूलतः यही धारणा छ। यसै सम्बन्धित ‘दलित साहित्यमा देखा परेका समस्याहरू’ उपशीर्षक अन्तर्गत निनु चापागाईँ यस समस्याबारे चर्चा गर्दै दुई थरीका विद्वानहरूको मतलाई अघि सार्छन्। एक थरीले भन्छ, दलित साहित्यको सृजना दलित समुदायबाट भएको हुनुपर्छ, सवर्ण समुदायबाट आएका लेखकहरूबाट होइन। अर्को थरीले दलितइतर समुदायबाट आएका रचना संवेदनासहित दलित समुदायको शोषण-उत्पीडनको विरोधमा दलितवर्गका मुक्तिका लागि सृजना गरे त्यस साहित्यलाई दलित साहित्य मान्न सकिन्छ।(चापागाईँ, सं 2068:51) कारण दलित साहित्यको मूल उद्देश्य हो सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, शैक्षिक तथा राजनीतिक अन्याय र शोषणदेखि दलितहरूलाई उन्मुक्ति दिनु। साथै ‘एउटा वैकल्पिक संस्कृति र समाजमा दलितहरूको छुट्टै चिन्हारी सिर्जना गर्नु’ (वाल्मीकि, 2013:7) पनि यसको उद्देश्य हो भनी ओम प्रकाश वाल्मीकि आफ्नो विचार व्यक्त गर्छन्।’ तसर्थ दलित साहित्यमा दलित स्वयम्-ले आफ्नो उत्पीडनलाई अभिव्यक्ति दिनुपर्ने मतप्रति पूर्णतः सहमति जनाउँदै गैरदलितले लेखेका सहानुभूतिपरक सिर्जनालाई पनि दलित साहित्य मान्न सकिन्छ भन्ने मतलाई यहाँ विशेष ध्यानमा राखिन्छ। हुनत, दलित साहित्यमा दलित स्वयम्-को प्रत्यक्ष सहभागिता र उपस्थिति हुनुपर्छ तब मात्र त्यहाँ दलित चेतनाको कुरालाई मान्यता दिन सकिन्छ भन्ने विचारमाथि धेर मतमतान्तर रहेको पाइन्छ कारण कतिपय विद्वान्-हरूले दलित साहित्य लेख्नलाई दलित हुनैपर्छ भन्ने मान्दैनन्। यसै प्रसङ्गमा हिन्दी कथाकार काशीनाथ सिंहको टिप्पणी यस प्रकार छ- घोडाबारे लेखिनलाई घोडा हुनैपर्छ भन्ने छैन। (वाल्मीकि, 2001:X) यस टिप्पणीमाथि विचार गर्दा घोडाका बाहिरी स्वरूपबारे लेखिए पनि जब बेलुकी घोडा अस्तबल फर्किन्छ तब ऊप्रति मालिकले दिएको उत्पीडन उसलाई मात्र थाहा हुन्छ। तसर्थ दलित साहित्यको निम्ति दलित लेखक नै हुनुपर्छ। तर अब यस अवधारणामा पनि परिवर्तन आइसकेको छ। गैरदलित लेखकले पनि दलित वर्गको निम्ति न्याय र उन्मुक्तिको माग गर्दै साहित्य लेखेका छन्, लेख्न सक्छन्। महत्त्वपूर्ण कुरा हो दलित समुदायलाई दिने प्रतिनिधित्व। दलित साहित्य अनुभव, संघर्ष एवं यथार्थ (2013) पुस्तकको भूमिकामा व्यक्त ओम प्रकाश वाल्मीकिको विचार निकै मननयोग्य छ-‘दलित साहित्यलाई धेर अमूर्त र अकादमिक बनाउनाले यस साहित्यप्रति न्याय हुँदैन’ (पृ.7)। लेखकहरू कुनै समूह, कुनै जाति विशेष, सम्प्रदायको विरूद्ध हुँदैनन् तर कुनै व्यवस्थाको विरूद्ध रहेकाले उनीहरूले आफ्नो सोच र दृष्टिकोणबाट दलितहरूको शोषण र दमनको विरोध गर्दै आइरहेको छ। तसर्थ यस लेखमा गैरदलित कविहरूका रचनालाई पनि समावेश गरिएको छ।

नेपाली साहित्यमा दलित चेतनालाई लिएर धेरै अघिदेखि सिर्जनाहरू लेखिए पनि भारतको नेपाली साहित्यमा यो अवधारणा भर्खरै मात्र चर्चामा आएको पाइन्छ। साहित्यमा दलित चेतनाको अर्थ दलित सम्बन्धित दुःख, पीडा, शोषण, अन्यायको विवरण र वर्णन गर्नु मात्र नभएर चेतनाको अर्थ हुन्छ अन्तर दृष्टि हुनु जसद्वारा दलितहरूले समाजमा उनीहरूमाथि हुँदै आइरहेको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, आर्थिक, धार्मिक तथा शैक्षिक असमानता आफ्नो सक्रिय सहभागिताको कुरा सबल रूपमा राख्नु। दलित चेतनाले मानवीय अधिकारको खोजी गर्छ। यस दलित चेतनाले उनीहरूलाई सामाजिक अन्यायसित सङ्घर्ष गर्ने अटुट ऊर्जा प्रदान गर्छ। विसङ्गतपूर्ण समाज व्यवस्थादेखि भागेर होइन यससित डटेर ठुलो जात समक्ष आफ्नो समान चिन्हारी स्थापनाको माग गर्छ, यही हो दलित चेतना।

भारतीय समाजमा क्षुद्र जातलाई दलित नामले सम्बोधन गरिए पनि नेपाली समाजमा यो शब्द प्रयोग प्रचलनमा आएको छैन। यद्यपि यस वर्ग विशेष सम्बन्धित दलित स्वरहरू सिर्जनासित जोडिएर आएकाले त्यसमा सचेत रूपले उन्मुक्तिको चाहना राखेको पनि भर्खरै मात्र हो। तसर्थ यो विमर्श भारतीय नेपाली साहित्यको निम्ति नवीन स्वरूपमा प्रयोग भएको पाइन्छ।भारतमा दलित साहित्य आन्दोलन रूपमा आएको अवधारणा होइन तर यस अवधारणाले निश्चय समाज परिवर्तनको चाहना राखेको पाइन्छ। भारतको नेपाली साहित्यमा दलित साहित्यको उपस्थिति कम देखिनाका कारण यहाँको समाजमा वर्ण व्यवस्था उति कठोर नहुनालाई पनि मान्न सकिन्छ। वर्ण व्यवस्थाको आधारमा ठुलो सानो भएको यस वर्गको स्थायी समाधान चाहन्छन् यताका सचेत कविहरू। दलित कविताको जन्म त्यस समय जब त्यस समाजको व्यवस्थामा आधारित जीवनमा विषमता र विसङ्गतीहरू देखा पर्दैजान्छ। यसै स्थितिको परिणतिले कवितामा उमेश परियार ‘म दमाई’  भनेर आफूलाई निश्चित परिभाषासहित चिनाउँछन्-

 

एउटा जानकारी दिउँ है बाजे

कि मेरो थुकले भिजेको धागोले सिएको हो

तिमीले लगाइराखेको सुरुवाल

जुन ुरुवाल लगाएर तिमी

वेद पढ्छौ

गीता, रामायण पढ्छौ

चालिसा रू पनि केक्के कक्के पढ्छौ

अनि सलुत्त भँडार पसेर पितृलाई धुप हाल्छौ

जुन शीरमा अडिएको टोपीमा

अझ पनि मेरो औँलाको डाम

फेरि पनि तिम्रो शास्त्रमा

मेरो नाम किन बदनाम ?

उक्त कवितामा छुवाछूतको अन्यायपूर्ण नियम र सामाजिक अन्तर्विरोधप्रति कविको आक्रोश देखिएको छ। जुन विसङ्गतिपूर्ण व्यवस्थाले कविमा नैराश्य पनि उत्पन्न हुन्छ, अनि यो अत्यन्त स्वाभाविक पनि हो। दमाईलाई शुभकार्यमा राम्रो साइत मानिन्छ भने जातलाई किन तल्लो दर्जामा राखियो? यिनलाई अस्पृश्य वर्ग भनी चिन्हित गरिएको? जातको आधारमा बहिष्कृत यिनी यस वर्ण व्यवस्थादेखि शारीरिक, सांस्कृतिक शोषणको सिकार हुँदै आइरहेका छन्। यसैको विरोधस्वरूप आफ्नो जातीय अस्मिताको प्रश्नको समाधान खोज्छन् कवि। उमेश आफ्ना समकालीन कविहरूभन्दा केही भिन्न छन्। यिनी वास्तवमा समाजको हेपाइबाट पिल्सिएका छन्, जात जातमा विभाजित यस समाजले तल्लो जात, पानी नचल्ने जात भनेर हियाएको अनुभूति आगो भएर कविको छातीमा बलिरहेको कुरा गर्छन् कवि राजा- ‘यस्तै विषमजात व्यवस्थाको नकारात्मक पक्षको शिकार एक व्यक्ति कवि भएर उदाएका हुन् उमेश। पानीमाथि र पानीमुनिको नस्लीय मिथ र यथार्थको प्रहारको जिउँदोजाग्दो उपज हुन् उमेश। आमा-बाबाको अन्तर्जातीय प्रेम बिहेको सजाय भोगेका छन् उमेशले।’ कवि उमेशबाट यी कविताहरू त्यसै जन्मेका होइनन्। आफ्नो भोगाइ र उत्पीडनहरू एक एक शब्दमा चित्रित पाइन्छ।

यही उचनिच, जातपातको भेदभावपूर्ण व्यवस्था देखेऱ कवि राजा पुनियानी पनि चुप लागेर बस्न सकेनन् र कविताको शीर्षक ‘मैले छोएको पानी चल्दैन’-मा लेख्छन्-

 हो मैले छोएको पानी चल्दैन चल्दैन चल्दैन

हजुर जुन मन्दिर डल्लै धुनुहुन्छ दूधले म भूलैले पसिगएको खण्डमा

त्यही मन्दिरको अग्लो गजुर/त्यस्तै मस्जिदको शानदार मिनार/उस्तै गिर्जाको गोलो गुम्बज

मै डकर्मीले ज्यानको बाजी हालेर ठड्याएको हुँ।

त्यहाँ बज्ने बडेमानको घन्टी पनि मै नाथुले झुण्ड्याइदिएको हुँ।

उद्धृत कवितापंक्ति कवि राजा पुनियानीको ब्लगबाट लिइएको हो जसमा लिम्बालेले स्थापित गरेका दलित सबाल्टर्न उपनिवेशी संरचनामा आधारित नभएर हिन्दु समाजमा पाइने जातमा आधारित छ जसले सामाजिक, सांस्कृतिक अनि आर्थिक संरचनाप्रति तिखो व्यङ्ग्य गरेको छ (मुखर्जी, 2010:3)। हिन्दु ब्राह्माणहरू केन्द्रमा रहेर दलितहरूको अस्तित्व परिधिमा रहनाका साथै दलितहरूले छोएको पानी नचल्ने छुवाछूतको, जातगत भेदभावप्रति कविताको सचेत पात्र दलित स्वयम्-ले निन्दा गरेको छ। विडम्बना कहाँ छ भने जुन मन्दिर, मस्जिद र गुम्पामा उसको प्रवेश निषेध गरिएको छ तीहरूसम्बन्धित हरेक कार्य उसको हातबाट सम्पन्न भएको छ। तब कसरी उसले छोएको पानी चल्दैन? कवि राजाको यस्तै भावसँग आफ्नो स्वर मिलाउँदै, विरोध गर्दै कवि आहुतिरचित कविताले भन्छ-

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ

ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्द आउँछ

आँखा जुधाउने आँट गर धर्माती मान्छे

कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर

कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या

जलाउने साहस गर

म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ। (‘गहुँगोरो अफ्रिका’, पृ. VII)

यिनी स्वयम् यस अमानवीय प्रथाको धोर विरोध गर्छन्। अवैध सपना (सन् 2016)-को भूमिकामा राजा पुनियानीले भारतीय नेपाली साहित्य दलित विमर्शको ढिलो प्रवेशमाथि बढो चित्तपर्दो प्रसङ्ग उठाएका छन्- ‘भारतमा चलेका मुख्य डिस्कोर्समध्ये एक दलित लेखन। भारतमै मूल करेन्ट भएर बगिरहेको ‘दलित विमर्श’ पहाडको साहित्यमा नघुस्नु उदेककै विषय हो।दार्जिलिङे समाज मुजा परेको छ। जात-जातको सङ्कीर्ण राजनीतिले। जातको मुक्तिको सवाल आफ्नो ठाउँमा जायज हो। तर टुमौटे सरकारी साहुलियतको लोभ र जनजाती बन्ने अवसरवादी भोकले किनारीकृत जातको, सीमान्तीकृत समुदायको सरंक्षण-सम्बर्द्धन हुनैसक्ने ग्यारन्टी कसैले दिनसक्तैन’। परिणामस्वरूप यहाँ पनि दलित चेतना लिएर कविता तथा अन्य विधाहरू लेखिएका छन् तर खुलेर चर्चा गर्ने हिम्मत कसैले गर्दैनन् वा सङ्कोच मान्छन्।

कवि लेखनाथ छेत्री स्वयम् उच्च जातका भए पनि यिनको कवितामा दलित स्वर प्रखर रूपले प्रयोग भएको पाइन्छ। यस दृष्टिले हेर्दा  दलितको सभ्य समाजमा विद्यामान भेदभावपूर्ण नियम, सानु जात भनेर चिन्हित गरिएको र ऊ त्यस परिवारमा जन्मेर बिना दोष, उसलाई जातको कारणले दोषी मानिन्छ। बिना कारण ऊ समाज सामु अपराधी ठहर गरिन्छ जहाँ उसको कुनै भूमिका रहेको हुँदैन। उसको प्रश्न र विरोध ईश्वरदेखि पानी माथिको जातसम्मलाई औँला ठर्‍याउँदै गरिएको छ-

जन्मनेबित्तिकै मेरो निधारमा

जात ठोकिराखेर मर्ने मेरो बाउलाई

कि किन मेरा छोराछोरीलाई

म जातविहीन घोषित गर्न सकिरहेको छुइनँ। (‘जात’, पृ. 24)

‘चुच्चेढुङ्गाको बयान’ कवितामा राजा पुनियानीले सामाज व्यवस्थाअनुसार गरिएको यो वर्णव्यवस्थाको तिखो निन्दा गर्दै मान्छे केवल मान्छे हो भन्छन्। उसको आदिम रूप कहिल्यै बिर्सन हुँदैन भन्ने अडानका साथ यिनी जातपातको भेदभावलाई निमिट्यान्न पार्न सबै एकजुट भएर अघि बढ्ने आग्रह गर्छन्-

आदिम भनेको तिमी आदिम हुनु हो।

आदिम भनेको तिमी फेरि एकचोटि तिमी नै हुनु हो।

त्यहाँ जहाँ कुनै जात जाति धर्म गोष्ठी परिवार वर्ण वर्ग थिएन।

जहाँ ज्ञान र भोक साथ-साथ हिँड्छन्।

जहाँ तीर र गीत एक साथ बस्छन्।

जहाँ काम र आराम एकैसाथ डुल्छन्।

जहाँ जीवन र मृत्यु एकैसाथ सुत्छन्।

यो तिम्रो जराको कुरा हो।

लु त एकचोटि खुट्टा उचालेर हेर।

अब बेला भो हिँड्ने। (उद्धृत कविता राजा पुनियानीको ब्लगबाट लिइएको हो।)

रेमिका थापा पनि आफूलाई आदिम संसारमा पुर्‍याउँदै भन्छिन्-

इतिहासको आदिम वीर्यको गन्ध

कस्तो स्याँट्ठै गह्नाउँछौँ हामी

माटोको गन्ध! (‘भुइँ टेकेर बाँच्नेहरू-6’, पृ.31)

वैचारिक क्रान्तिले नै सामाजिक परिवर्तन ल्याउँछ। तर त्यसको निम्ति सबै मनहरूबाट पहल हुन आवश्यक छ। जसले पहल गर्छ उसले यसरी कल्पनामा नै भए पनि अस्पृश्यतादेखि माथि उठेर केवल एउटा मान्छेसित प्रेम गरेको हुन्छ-

फेरि पनि सारा शास्त्रको आँखा छलेर।

व्यक्त भइरहन्छ प्रेम।

आरान चलाइरहेको कामीसँग

कल्पनामा डुल्छ भने

डुल्छ, त्यो पुजारी बाहुनको छोरी। ( लेखनाथ, ‘प्रेमिल जेहाद’, पृ.35-36)

कवि यहाँ स्वयम् दलित देखिन्छन्। आकासमा उड्दै गरेको चरालाई मान्छेलाई जस्तै उसको जात नसोध्नु भन्ने व्यङ्ग्यको साथ यिनी यो पनि भन्छन् कि मान्छे म ठुलो र तँ सानो भनेपनि अन्तमा ऊ माटोमा मिल्ने छ वा आगोले उसलाई जलाएर खरानी बनाउनेछ। छुवाछूतलाई पूर्णतः उन्मुलन गर्नेपर्ने कविको आग्रह छ।

रवि रोदनरचित कविता ‘बिसे नगर्चीको टाउको’-ले भन्छ-

मालिकको अनुहार, मानौँ, भूगोल थियो उसको लागि

वा मुलुक थियो

त्यही बँचाइराख्न फुक्थ्यो

नरसिंहा/सनई।

मालिक बँचाउन

बिसेले सुकाउँदै आयो आफ्नै रगत र पसिना

सिउँदै आयो सपनाको धागोले

जब अलिकति च्यातिन्थ्यो मालिकको मानचित्र

अथवा मालिकको अनुहार। (पृ.6)

यसरी काम गर्नेहरूलाई तल्लो जात भनेर वर्गीकृत गरिने व्यवस्थाप्रति विरोधका स्वरहरू उठ्न थालेका छन्। दलित चेतनाले कवितामा जीवन मूल्यको माग गर्छ जो यस कवितामा पाइन्छ।

दलितहरूले आफूलाई जस्तै परिस्थितिमा पनि सगर्व आफ्नो जात लेख्ने र उच्चारण गर्ने बनाउनुपर्छ। जस्तै,

रक्सी घोकेर

छोरा उमार्न नसकेकी स्वास्नीको कोख थुक्ने

सन्तमान सुनारलाई

त्यही दिन आफ्नो मर्दाङ्गी जुँगामाथि

हठात् सन्देह जागेर आयो

जुन दिन मधुरो उज्यालोमा

उसकै पसिनामा आफ्नो पखेटा चोबेर

छोरीले लेखिदिई-

मेरो नाम पुतली सुनार हो

मेरो बाबाको नाम सन्तमान सुनार हो। (लेखनाथ, ‘पुतली’, पृ.59)

यी कविहरू आफ्ना कवितामा छुवाछूतको विरूद्धमा पात्रहरूको नामपछि जात निर्धक्क लेखिदिन्छन्। यस अस्पृश्यताले समाज र देशलाई खण्ड खण्डमा विभाजन गर्छ। दलितहरूलाई टेकेर, टोकेर नोकरशाह वा ब्युरोक्याटहरू माथि चढेको र अग्लिएको देख्छन् कवि मनोज बोगटी-

सरकारले मुतेको नगर धुने मेतर

कानून, नीति र संविधानको गुप्ताङ्ग छोप्न

पत्लुङ सिलाउने दर्जीलाई त टोक्छ टोक्छ

मन्दिरको भगवानलाई पनि टोक्छ।

… यसरी रूख भइसकेको

भुइँमान्छेको हाँगा समातेर उठ्छ सरकार

जब सरकार माथि उठ्छ

भुइँमान्छे भुइँमा छोडिन्छ। (बोगटी, सं 2071: ‘भुइँमान्छे र ब्युरोक्र्याट’, पृ. 50)

दलित वर्गलाई ठुलाबडाहरूले सधैँ भुइँमान्छे नै सम्झन्छ। यिनीहरूको सहारा लिएर सरकारले सधैँ आफूलाई माथि उठाउँछ र अस्पृश्यलाई भुइँमा छोडिदिन्छ टेक्नलाई, उभिनलाई, उठ्नलाई। हरेक सरकारले दलितहरूलाई सामाजिक, आर्थिक, राजनीतिक अनि शैक्षिक दृष्टिले किनारामा आफ्नो सेवाको निम्ति छोडी राख्छ। मूलधारामा प्रवेश निषेध गरिएका एकजना पात्र भुइँमाने दर्जीलाई देशले कहिल्यै सम्झेको छैन। उदाहरणार्थ,

उस्ताद बिस्मिल्लाह खानको विहाग सुनेर

पिल्पिलाउँदै गरेका हाम्रा दमाई दर्जिनीहरू।

खोइ मुम्बई टीभीले देखाउँदैन त

आफ्नो मान्छेको आइटम शो!

राजधानीको विराट फेसन वीक्-मा कतै देखिएन

आफ्नो मान्छेको कलेक्सनमा चौबन्दीहरूको परेड। (रेमिका, ‘भुइँ टेकेर बाँच्नेहरू-4’, पृ. 27)

यसरी हरेक आयामहरूमा हाम्रा प्रतिभाहरू किनारीकृत गरिएको यथार्थ चित्रण उक्त कवितामा पाइन्छ। उत्पीडित, शोषित, अवहेलित अस्पृश्य यस वर्गको सामाजिक, राजनीतिक विसङ्गतिबोध बोगटीको अर्को कविता ‘फोहोर मान्छेको गन्ध’-मा यसरी देखाइएको छ-

…मर्निङवाकमा निस्किएको नगरपालिका

र पिच्छ थुक्छ म्यास्टिक ओछ्याएको

सडकको खटिरा लागेको अनुहारमा।

उनीहरू बोराभित्र देशले थुपारेको मैला हाल्छन्

र पुलमुनिको घरमा थुपार्छन्।

देश सफा गर्न उनीहरू आफ्नो घर मैला पार्छन्। (बोगटी, सं. 2071:49)

यो कस्तो अन्याय हो देशलाई सुग्घर राखेर त्यही देशको एउटा हिस्सामा फोहोर थुपार्ने अमानवीय व्यवस्था? यसको विरोध गर्ने कसले? यसरी देश आडम्बर र विसङ्गतिहरू बिच बाँच्ने अभिनय गरिरहेको छ। तर बालक दलितलाई यो थाहा हुँदैन ऊ एउटा विकृत समाजको हिस्सा हो जहाँ उसका इच्छा र सपनाहरू फुल्न पाउँदैन, फल्न पाउँदैन कारण ऊ तल्लो जातको भनेर उसलाई ठुलो जातले प्राप्त गर्ने सम्पूर्ण साहुलियतहरूबाट बहिष्कृत गरिएको छ। उसले यति सानो उमेरमा अरूहरूको जुत्ता सफा गरेर उज्यालो बनाउँछ तर उसको उज्ज्वल भविष्यबारे के कसैले सोचेको छ?  यस समाजमा उसले आफ्नो खुसी होइन अरूलाई खुसी दिन बाँचेको छ। अरूको सेवामा उसको अस्तित्व निर्भर छ। कवि पवित्र लामाको छोटूको कथा यस्तै छ-

ठक्-ठक्-ठक्-ठक्

ब्रशले आफ्नो सपनाहरूलाई ठोक्दै छोटू

सिग्नलको जेब्रा क्रसिङका किनारमा सबेको छ

दर्जनौँ भ्राम्यमान छोटूहरू

कहिले सडक किनार फुटपाथमा

कहिले स्टेशनहरूमा र

कहिले बजारका भीडभाडहरूमा

चम्काइरहेछन् काला-खैरा सपनाहरू

सभ्यताका पाउहरूमा।

छोटूको सीप यसघरि

कालै लिपिएको छ उसको हातभरि

अनि कता-कता अनुहारमा पनि…

ठक्-ठक्-ठक्-ठक्

छोटू जिन्दगीको तालमा

दादरा र कहारवाँ ठोकिरहेछ। (‘गणतन्त्रको स्वैरकल्पना’, पृ.49)

यहाँ गणतन्त्र एउटा देशको निम्ति देखाउने हात्तीको दाँत जस्तै भएको छ। कारण यहाँ दलितहरूको निम्ति स्वतन्त्रता, समानता अनि न्याय केहीको प्रावधान छैन। माथि उद्धृत पंक्तिहरूमा कविले धेरै विसङ्गति कुराहरू देखाएकी छन्। तसर्थ यिनी छोटूलाई स्वैरकल्पनाको संसारमा लिएर जान्छिन् जहाँ छोटूले एउटा भव्य साङ्गीतिक अनुष्ठानमा उस्तादहरूसित बसेर जिन्दगीलाई स्केलमा मिलाउन सकेको र उसले सङ्गीतमय संसारमा आफ्नो चिन्हारी स्थापित गर्न सकेको छ। अर्थात् उसले यथार्थमा नपाएको समान शिक्षा, समान न्याय त्यस स्वैरकल्पनाको गणतन्त्रमा पाउन सफल भएको छ। कविले उसलाई निस्सासिँदो सामाजिक व्यवस्थाबाट केही क्षणलाई भए पनि उन्मुक्ति दिएकी छन्। दलित चेतनाको दृष्टिले यस कवितालाई सशक्त दृष्टान्त मान्न सकिन्छ।

गणतन्त्रको मूल हतियार हडताललाई कवि उमेश शक्तिको रूपमा देख्छन्-

हडताल भनेको भरियाको नाम्लो हो

हडताल भनेको मिस्त्रीको कर्नी हो

हडताल भनेको लोहारेको सनासो हो

हडताल भनेको दर्जीको सियो हो

हडताल भनेको मोचीको कुर्सि हो

हडताल भनेको कुल्लीको ेंडा हो

यो हडताल भनेको

ओठं सिलाउने धागो हो। (‘हडताल-2’)

यस कवितामा राजनीतिक व्यङ्ग्य पाइन्छ। हडतालको अर्थ चुप बस्नु हो।कवि उमेशको घोर विरोध नै सरकारको असमानतापूर्ण व्यवस्थामा छ चाहे त्यो कृषकसित जोडिएको होस् वा सडकसित। यिनी दोष केवल सरकारको नीतिलाई दिन्छन्। कवितामा राजनीतिक चेतना धेर पाइन्छ। दुईवटा देश-एउटा देशले दलित र अर्को देशले सम्पन्नता बुझाएको छ।

अन्तमा, भारतीय नेपाली कवितामा दलित चेतनाको अवधारणा भर्खरै सुरु भएको छ। यसमाथि व्यापक विमर्श हुन अझै बाँकी छ कारण दलितहरूको साहित्यिक सङ्घर्षको यात्रा अब आरम्भ भइसकेको छ। दलित वर्ग सधैँ सङ्घर्षशील समाजको अभिन्न अङ्गको रूपमा देखिन्छ। यो सङ्घर्ष आज पनि यथावत् छ।

सम्पादकीय द्रष्टव्य –

ड. लामा केही दशक यता देखा परेका सशक्त समालोचक हुनुहुन्छ। यिनी कविता पनि लेख्छिन्। सिक्किम विश्वविद्यालयमा नेपाली विभागमा सेवारत ड. लामाको विद्यावारिधि शोध भानुभक्तका कृतिमाथि भएको हो, जसका निम्ति यिनलाई नेपालले समेत सम्मान जनाइसकेको छ। ‘दिदृक्षा’ यिनको पहिलो समालोचना कृति हो भने यिनले बाल साहित्य, नारी लेखनमाथि काम गरिसकेको छन्। ट्र्याकबाट निस्केर केही छुट्टै काम गर्न रूचाउने लामाको उपर्युक्त निबन्ध यिनको आउँदो शीघ्र प्रकाश्य समालोचना किताब ‘कविता डिस्कोर्स’ – बाट लिइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन