गोर्खाल्याण्ड : संसद धरनापछि जाप-ले गर्ने ‘दिल्ली चलो’ अभियान

कालेबुङ: गोर्खाल्याण्ड आन्दोलनको निकास दिल्लीमा नै हुने दावी गर्दै जन आन्दोलन पार्टीले दिल्ली चलो अभियान शुरू गर्ने घोषणा गरेको छ।

संसद चलो अभियानपछि केन्द्रलाई चाप सृष्टि गर्न जापले आम जनतालाई देशको राजधानी जाने आह्वान गरेको छ। गाउँ-गाउँबाट आम मान्छे उठेर अब गणतान्त्रिक प्रदर्शनको निम्ति दिल्ली जानुपर्ने आह्वान गर्दै जापले यसको निम्ति प्रचार अभियान शुरू गरेको छ।

पहाड़मा मात्रै आन्दोलन हुँदा नै केन्द्रले एक शब्द नबोलेको दावी गर्दै जापले अघिल्लो अभियानको नाम ‘दिल्ली चलो’- दिएको छ। केही दिनअघि मात्रै जापले संसद घेर्ने कार्यक्रम तय गरेको थियो। यसपश्चात् नै केन्द्रिय मन्त्रीहरूले दार्जीलिङको निम्ति पहिलोचोटि बैठक बोलाएको थियो।

अहिले चाहिँ दिल्ली चलो कार्यक्रमको घोषणा गर्दै जाप ब्यूरो सदस्य तथा अधिवक्ता अमर लामाले भने, ‘अब नेता मात्रै होइन, प्रत्येक जनता दिल्ली पुग्नुपर्छ। राजधानीमा दबाउ नदिएसम्म दार्जीलिङको निम्ति बोलिदिने कोही नआउने स्पष्ट छ। अब हामी आश्वासनमा होइन, काममा विश्वास गर्छौं। गोर्खाल्याण्ड गठनको प्रक्रिया शुरू हुने भनेको दिल्लीमा नै हो । यसैले अब जनताले त्यहीँ पुगेर प्रदर्शन गर्नुपर्छ। जसको फलस्वरूप केन्द्रले दार्जीलिङबारे सोच्न शुरू गरोस्।’

उनले प्रत्येक गाउँबाट आम मान्छेले उठेर दिल्ली जाने रणनीति तयार गर्नुपर्ने जनाउँदै यसको निम्ति जाप युवा प्रतिनिधि अमीर बस्नेत, पङ्कज छेत्री, बीरू तामाङसँग सम्पर्क गर्न सकिने पनि बताए।

उक्त विषयलाई केन्द्र गर्दै जापले गाउँ गाउँ पुगेर प्रचार अभियान शुरू गरिसकेको जनाउँदै उनले अघि भने, “पहाड़मा बन्दले ६० दिन पूरा गरिसकेको छ। तैपनि केन्द्रले एक शब्द बोलेको छैन। दार्जीलिङ आगोमा जलिरहँदा पनि सरकार नबोल्नु हाम्रो निम्ति विडम्बना हो। यसैले अब आम जनताले कसैलाई पर्खिनुको सट्टा आफै अघि आउने समय आएको छ। किनकि यो जन आन्दोलन हो। जनताको दवाबको कारण नै आज- आन्दोलन सेलाउन पाएको छैन। जनताले दिएको त्याग र बलिदान गोर्खाल्याण्डको निम्ति हो। जसको निम्ति केन्द्रलाई बोल्न लगाउन जरूरी छ। हामी यही कुराको प्रचार गर्न गाउँ गाउँ जानेछौँ। बैठकहरू गर्नेछौँ। अबको अभियान दिल्लीमुखी नै बनाउनु पर्छ”।

देशको राजधानीमा नै गणतान्त्रिक प्रदर्शन गरेर सरकारको मौनता तोड़्नु पर्ने जनाउँदै उनले प्रत्येक जनतालाई यसको निम्ति अघि आउने आह्वान गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन