जापको गोर्खाल्याण्ड सद्भभावना यात्रा जलढकामा गोर्खाल्य़ाण्डको नाममा कुनै पनि अन्य व्यवस्था थाप्न दिनेछैनौँ – जाप

कालेबुङः  गोर्खाल्याण्ड सद्भाभावना यात्रामा निक्लेका जन आन्दोलन पार्टीको 40 जनाको युवा टोली विभिन्न ठाँउका पिकेटर्स साथै गोर्खाल्याण्ड प्रेमी जनसाधरणलाई भेट्दै जलढका आइपुगेका थिए। उनीहरूलाई स्वागत जनाउँदै जाप जलढका तोदे ताङता खण्ड समितिले एक जनसभाको आयोजना गरेको थियो। परेङ सरसप मोडमा सम्पन्न सभालाई सम्बोधन गर्दै जाप केन्द्रिय युवा एकाई अध्यक्ष बिसाल राईले भने -हाम्रो गोर्खाल्याण्ड मागको आन्दोलनको प्रभाव आज पनि सरकारमा जीरो छ। त्यसैले आज यतिका दिनसम्म सरकार मौन छ। हामीलाई लाग्दैछ राज्य र केन्द्र मिलेर गोर्खाल्याण्डको आन्दलनकारीहरूलाई घोडा टेकाउने प्रयास गर्दैछ।

उनले अझ भने – अब जनता नाक कान र आँखा खुल्ला राखेर सचेत बन्न पर्छ। जनताले अब मान्ने छैन। जनताको सपना टालटुले व्यवस्था होइन, गोर्खाल्याण्ड हो। शहिदको सही मुल्याङ्कन हुन्छ र सरकारले क्षतिपुर्ती दिन्छ भने त्यो हो गोर्खाल्याण्ड, कुनै अन्य व्यवस्था होइन।

जाप युवा एकाइको टोलीले केही दिन अघि मात्र गोर्खाल्याण्डको औचित्य, आवश्यकता र आधार बताउँदै दिल्लीमा राष्ट्रिय स्तरको राजनैतिक दल, नेतृत्वलाई भेट गरे तापनि गोर्खाल्याण्ड आन्दोलनको प्रभाव भने दिल्लीमा आफुहरूले शुन्य देखेको कारण अबको आन्दोलन दिल्लीमा गर्नु पर्ने अवस्था आएको बताए।

युवा एकाईले दिल्लीमा काङ्ग्रेस, विजेपी, एआइडीएमके, तेलेगु देसम पार्टी, तेलेङ्गाना राष्ट्रिय समिति, बीजु जनता दल, जनता दल युनाईटेड, राष्ट्रवादी काङ्ग्रेस आदि पार्टीका सांसदहरूलाई भेट गरी गोर्खाल्याण्डको मागमा ज्ञापन दिइएको अनि यी प्रतिनिधिहरूको सुझाउ अनुसार पनि गोर्खाल्याण्डको निम्ति दिल्लीमा कार्यक्रम गर्न अनिवार्य रहेको बताए।

यसैले हामी दिल्ली चलो कार्यक्रमको तयारीमा छौं। यसपल्टको शीतकालिन शत्रमा गाँउ गाउँबाट जनता निक्लेर दिल्लीमा केन्द्र सरकारलाई दवाव दिन पर्छ। गोर्खाल्याण्डको निम्ति पठाएको सांसदलाई बोल्न लगाउन पर्छ अनि राष्ट्रिय रूपमा गोर्खाल्याण्डको बहस शुरू गरिन पर्छ। गोर्खाल्याण्डको नाममा भोट माग्ने बीजेपी पार्टीले अब आफ्नो स्ट्याण्ड क्लियर गरोस्- राईले भने।

उनले अब कुनैपनि राजनैतिक दलको स्वार्थको निम्ति जापले व्यवस्था थाप्न नदिने पनि कटिवद्दता जाहेर गरे। यता अर्का वक्ता अमिर बस्नेतले पनि सभालाई सम्बोधन गर्दै गोर्खाहरूले गोर्खाल्याण्ड नभएको कारण भारतमा राजनिति गर्न नपाएको बताउँदै बस्नेतले भने, हामीसित राज्यको मुकुट छैन, हामी अल्प संख्यामा छौं बहुसंख्यकहरूका राज्य छन्। हामी अवहेलित गोर्खाहरूले अहिले गरिरहेको राजनीति होइन आन्दोलन हो। आन्दोलन र राजनीतिमा फरक छ। जब गोर्खाल्याण्ड कुरा उठ्छ त्यसबेला पहाडको राजनैतिक दलहरूको कुनै मतभिन्नता हुँदैन। अहिले आन्दोलनमा छौं, राज्य भएपछि हामी राजनिति गोर्खाल्याण्डमा गर्छौं। एकता नै बल हो यो सम्पूर्ण राजनैतिक दलहरूको एकतालाई कायम राखौं।

उनले जापका युवाहरू दिल्ली गएको औचित्यबारे बोल्दै  पहाडको बन्द, आमरण अनसनकारी, 9 जना शहिद भइसक्दा पनि नबोल्ने सरकारलाई गुहार माग्दै झकझकाउन दिल्ली गएको बताए। गोर्खाहरूको सपना यदि पुरा गर्न सक्छ भने दिल्लीले सक्छ त्यसैले अब जनता दिल्ली जान तत्पर रहन पर्छ। हामी जनताको सपना एवं यसपल्टको गोर्खाल्याण्ड आन्दोलनमा तुहिन दिदैँनौ- उनले भने।

सभालाई युवा एकाई प्रवक्ता सन्दिप कुलुङले सञ्चालन गरेका थिए सदभावना यात्रामा निक्लेका युवाहरूलाई धन्यवाद दिँदै मोर्चा 45 नम्बर समष्टी युवा मोर्चा सचिव दिपक छेत्रीले गोर्खाल्याण्डको आन्दोलन जनआन्दोलन भएको कारण सम्पुर्ण राजनैतिक दलहरूको एकता र सहभागिता रहन पर्ने बताए।

छेत्रीले भने अब आमा ल्याँउछु भने छेमा ल्याउँन पाउँदैन नेतृत्वले किन भने गोर्खाल्याण्ड हाम्रो आमा हो। गोर्खाल्याण्ड बाहेक अन्य कुरा अब हामी मान्दैनौ। गोर्खाल्याण्ड लिएर आउँछ भने हामी लाखौं जनता बागडोग्रा एरपोर्टमा खदा लगाउन जान तयार छौं तर यदि गोर्खाल्याण्ड बाहेक राज्य सरकार अधिनस्थ कुनै पनि व्यवस्था थापेर आउँछ भने लाखौँ जनता खुकुरी लिएर जान पनि तयार छ। अब नेताहरू होसियार हुनपर्छ।

सभामा जाप खण्ड सयोंजक श्यामलाल राई, सचिव कमल खड्का, प्रचार प्रसार सचिव गणेश शर्मा, प्रकाश बस्नेत, युवा सभापति नगेन शर्मा , मोर्चा समष्टी युवा सचिव दिपक छेत्री, राजेश गुरूङ, प्रविन छेत्री आदिको विशेष उपस्थिति रहेको थियो। सदभावना यात्रालाई नरेस राई, पंकज छेत्री, अर्पण गुरूङ, नर्बट लेप्चा आदिले प्रतिनिधित्व गरेका थिए भने सभामा क्षेत्रबासीको व्यापक उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन