दार्जीलिङ मोटर स्ट्यान्डमा शक्तिशाली विष्फोटः विमल गुरूङहरूको हात हुनसक्छः पुलिस अधिक्षकः लेबोङ मोर्चा कार्यालय र गेष्ट हाउसमा लगाइयो आगो

मोहन लामा

दार्जीलिङः हिजो मध्य 12 बजी राती शक्तिशाली विष्फोटले डरलाग्दो थर्कियो दार्जीलिङ शहर। जसले सम्पूर्ण दार्जीलिङमा आतङ्कको माहौल सृजना भएको छ। दार्जीलिङ शहरको मोटर स्ट्यान्डबीचै हिजो मध्य राती शक्तिशाली विष्फोट भएको कारण सम्पूर्ण दार्जीलिङ शहरनै अस्त-व्यस्त बनेको थियो। विष्फोट यति शक्तिशाली थियो, जसको चपेटमा परेर पुरानो सुपर मार्केट र ओल्ड व्यारेक मार्केटका कैयौं दोकानका सटरहरुमा सयौं छेंड़ परेका छन् भने यी दुवैवटा भवनमा रहेका अधिकांश दोकानहरुका ऐनाहरु पनि क्षतिग्रस्त भएका छन्।

यस घट्नापछि घट्नास्थललाई पुलिसले घेराबन्दी गरेर राखेको छ। यस घट्नामा प्रयोग गरिएको विष्फोटकलाई मोटर स्ट्यान्डको सड़कबीचमा राखिएको स्पष्ट भएको छ, जुन विष्फोटक विष्फोट भएकोले सड़कबीचमा लगभग 4 इन्च जति खाल्डो पनि परेको छ। यस विष्फोटले दाजीलिङ शहरलाई गतिलैसित हल्लाएको स्थानीय बासिन्दाहरुले बताएका छन्। दार्जीलिङ पुलिसले यसमा शक्तिशाली इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस प्रयोग गरिएको बताएको छ भने यसको जाँच गर्न जलपाइगढीबाट विशेषज्ञ टोली र बम निरोधक दलका सदस्यहरु पनि आइरहेका छन्।

यसबारे दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीले भने-हिजो राती 12.05-मा मोटर स्ट्यान्डमा शक्तिशाली विष्फोट भयो, यसको लागि शक्तिशाली इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस प्रयोग गरिएको अनुमान लगाइएको छ। यसको जाँच गर्न सिलगढीबाट फरेन्सिक दल अनि बम निरोधक दल पनि आइरहेको छ। जसको प्राथमिक जाँच वा सूचनाको आधारमा यस घट्नामा गोजमुमो अध्यक्ष विमल गुरूङ, युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङ अनि गोजमुमो सदस्य प्रवीण सुब्बा सामेल हुनसक्ने शङ्का गरिएको छ।

किनभने, लगभग 1 महीनाअघि पुलबजार थाना क्षेत्रअन्तर्गत नेजीको एनएचपीसी शिविरबाट जिलेटिन स्टीक चोरी भएको थियो। यसैले जिलेटिन स्टीक चोरीको घट्ना अनि दार्जीलिङ शहरबीचमा शक्तिशाली विष्फोटलाई एकार्कामा दाँज्दा यसमाथि शङ्का गर्ने ठाउँ पाइएको छ। यस विष्फोट स्थलबाट लगभग 30 मिटरभन्दा अधिक दूरीसम्म अवस्थित दोकानहरुका सटरहरुमा पनि डरलाग्दो छेंड़हरु परेका छन्, जसलाई हेर्दा पनि यो विष्फोट धेरै शक्तिशाली रहेको स्पष्ट हुन्छ।

पुलिस अधीक्षक चतुर्वेदीले भने-हिजो राती पुलिसकरे पेट्रोलिङ पनि चलिरहेको थियो, यसै पुलिस पेट्रोलिङ दलमाथि आक्रमण गर्दा पनि यस्तो भएको हुनसक्छ। यस घट्नामा जो पनि दोषी छन्, उनीहरु विरूद्ध अवश्यै सजाय निर्धारित हुनेछ। यता भयावह विष्फोटपछि रातभरि राम्रोसित सुत्न नपाएकी दार्जीलिङ चौकबजार निवासी सरिता तामाङले भनिन्-मध्य राती अचानक केही  पड़्किएको डरलाग्दो आवाज सुनें। तर त्यो आवाज के-को थियो अनि कहाँ भयो भन्नेबारे पत्तो लाग्नै सकेको थिएन। कता-कता पुलिसको आवाज सुनियो। यसपछि डरले रातभरि निंद्रानै लाग्न सकेन। बिहान भएपछि मात्रै मोटर स्ट्यान्डमा यस्तो घट्ना भएको स्पष्ट भयो। यदि यो विष्फोट दिउँसो भएको भए यहाँ धेरैजनाको ज्यान जाने थियो।

किनभने, पहाड़ बन्द रहे पनि मोटर स्ट्यान्डमा लगभग दिनभरि अनि रातीको धेरै समयसम्म मानिसहरुको आउजाउ जारी रहन्छ अनि यस क्षेत्रमा धेरैवटा दबाईका दोकानहरु पनि छन्, जुन दोकानहरु प्रायः दिनभरिनै खुल्लानै रहन्छन्। तर मध्य राती 12 बजीको समय यहाँ यस्तो विष्फोट भएको कारण यस घट्नामा एकैजना पनि प्रभावित भएन। यसैबीच, अर्कोतर्फ हिजो रातीनै गोजमुमो लेबोङ समष्टि कमिटीको कार्यालयमा आगो लगाएर आधासरो क्षतिग्रस्त बनाइएको छ भने बदमताममा वन विभागको गेष्ट हाउस पनि जलाएर ध्वंश बनाइएको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन