भाषा दिवस मनाउन कवि, कलाकारहरू दिल्लीमा भ्याइनभ्याइ

दिल्लीः कालेबुङका कवि टीका भाइ अनि सुवास सोताङ केहीदिनदेखि दिल्लीमा नै छन्। भीषण वर्षाले रेलमार्ग अवरुद्ध बनेपछि दिल्लीमा हुने भनिएको ‘पहल’ स्थगित छ। जवहारलाल नेहरू युनिभर्सिटीका गोर्खा विद्यार्थीहरूले 25 औं भाषा मान्यता दिवस पालन गरिरहेको छ। जहाँ डा. महेन्द्र पी. लामाले भाषाबारे वार्ता राख्नेछन्।

यसै कार्यक्रमको निम्ति सिलगढीका कवि राजा पुनियानी अनि मनोज बोगटी दिल्ली पुगिसकेका छन्। कवि राजा पुनियानी अनि टीका भाइले यसदिन भाषा मान्यताको औचित्यलाई जोड्दै गोर्खाल्याण्ड आन्दोलनसम्म विचार राख्नेछन्। ‘जेनयुका विद्यार्थीहरूले भाषा मान्यताको औचित्यसितै चलिरहेको आन्दोलनको निकासको बाटोसम्ममा बोल्न बोलाएका हुन्,’ कवि राजा पुनियानीले भने, ‘यसपालीको भाषा मान्यता दिवससमेतलाई आन्दोलनसितै जोडेर निकासको बाटो खोज्नु निक्कै सुखद सोच हो, राम्रो लागिरहेको छ।’ यता सुवास सोताङले भाषा आन्दोलनबारे लेखेको पुस्तकको दोस्रो संस्करण दिल्लीमा नै विमोचन गर्ने भएका छन्। किताब बोकेर उनी दिल्ली आइसकेका छन्।

मनोज बोगटीले कविता सुनाउने भएका छन्। ‘अघिपनि दिल्लीमा कविता सुनाइएको हो,’ कवि बोगटीले भने, ‘यसपल्ट आफ्नै भाइबहिनीहरूलाई सुनाउनेछु।’

यता आफ्ना प्रतिनिधि कविताहरूको पुस्तक विमोचन गरेर दार्जीलिङका कवि मनप्रसाद सुब्बा काठमाडौँबाट आज सोझै दिल्ली उत्रिए। ‘काठमाडौंमा ह्याट्रिक कार्यक्रम भ्याएर हतारहतार दिल्ली आउनु पऱ्यो,’ दिल्ली उत्रिएपछि सुब्बाले भने, ‘आख्यानकार हरिसुमन विस्टसित एउटा अन्तरक्रिया सकेर भोलि भाषा दिवस पनि भ्याउनु छ।’

अहिलेका पुस्ताका चर्चित गायक पुष्पण प्रधान पनि दिल्ली पुगेका छन्। ‘दिल्लीका गोर्खाहरूलाई जन सरोकारका गीतहरू सुनाउनु पाइरहेको छु,’ प्रधानले भने, ‘दिल्लीका मेरा श्रोताहरूसित भेट्न पाउनेछु, निक्कै उत्साहित छु।’

पुष्पण प्रधानसितै उनका साङ्गीतिक टोलीमा देवेन्द्र गौतम, अमोश मुखिया, नरेन बरदेवा पनि साथै छन्।

दार्जीलिङका चर्चित सङ्गीतकार जीवनप्रकाश प्रधान पनि दिल्ली आइपुगेका छन्। उनले पुष्पण टीमसित आफ्ना प्रस्तुतिहरू दिने छन्।

‘गोर्खाहरू आन्दोलनको मुडमा छ, हाम्रो प्रस्तुति यसको प्रभावदेखि अक्षुण्ण रहने छैन,’ उनले भने, ‘यही बाहनामा दिल्लीका आन्दोलनकारीहरूसित पनि भेट्नेछु।’

नेपालमा विभिन्न चलचित्र र एल्बमहरूद्वारा व्यापक चर्चा कमाइरहेकी चर्चित गायिका वानिका प्रधान पनि काठमाडौँबाट उडेर दिल्ली आइपुगिन्।

जेएनयुका गोर्खा विद्यार्थीहरू, भारतीय गोर्खा परिषदलगायत यता गोर्खा जनमुक्ति मोर्चा अनि गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कोअर्डिनेशन कमिटी दिल्ली शाखाले पनि भाषा मान्यता दिवस पालन गर्ने भएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन