जेएनयुका विद्यार्थीहरूले भने-‘बाटो देउ बाटो देउ नौलो युगलाई बाटो देउ, सुनौलो युगलाई बाटो देउ…’

डा. महेन्द्र पी. लामा
कविः राजा पुनियानी
कवि टीका भाइ
कविः मनोज बोगटी

दिल्लीः अचानक मञ्चको लाइट अफ भयो। दर्शक बनेका डा. महेन्द्र पी. लामा, कवि टीका भाइ, राजा पुनियानी अनि मनोज बोगटी त्यही अँध्यारो मञ्चतिरै हेरिरहेका थिए।

यस्तैमा माइकमा आवाज आयो, ‘हो यस्तै अन्धकार छ अहिले दार्जीलिङ।’

2015 देखि पालन गर्दै आइरहेको भाषा मान्यता दिवस यसपालि पनि पालन गरिरहेका गोर्खा विद्यार्थीहरूको मन यसपाली भने उस्तो हर्षित थिएन।

‘पहाड बन्द छ, लाखौँ मानिसहरू संवैधानिक अधिकारको निम्ति सडक उत्रिएका छन्, उनीहरूलाई छानीछानी पुलिसले गोली चलायो। इन्टरनेट बन्द छ, राशनपानीको हाहाकार छ,’ माइकबाट आवाज आइरहेकै थियो, ‘पहाड अन्धकार छ।’

त्यतिखेरै लाइट बल्यो। मञ्चमा थिए लहरै उभिएका विद्यार्थीहरू।

केही क्षणमा नै उनीहरूले गाउन थाले- ‘बाटो देउ बाटो देउ नौलो युगलाई बाटो देउ, सुनौलो युगलाई बाटो देउ…’

यसरी शुरु गरेका थिए जेएनयुका गोर्खा विद्यार्थीहरूले भाषा मान्यता दिवस कार्यक्रम।

दिल्लीमा यस दिन तीनवटा संस्थाले अलगअलग ठाउँमा भाषा मान्यता दिवस पालन गरिरहेको थियो, त्यसमा एउटा उनीहरूकै थियो। जहाँ भाषाको औचित्यसितै छुट्टै राज्य गोर्खाल्याण्डसम्मको आन्दोलन यात्राबारे बोल्न आएका थिए डा. महन्द्र पी. लामा, कवि राजा पुनियानी अनि टीका भाइ। यसै अवसरमा विद्यार्थीहरूसित कव्यिक संवाद गर्न पुगेका थिए कवि मनोज बोगटी पनि।

‘भाषा आन्दोलनको चरित्र नै प्रतिबद्ध र विश्वासिलो थियो,’ निक्कैबेर भाषा सङ्घर्षको नालीबेली खोतलेर डा. लामाले भने, ‘तर दुइवटै छुट्टै राज्यको आन्दोलनको चरित्रमा त्यही प्रतिबद्धता देखिएन, यसै कारण हाम्रो मान्छेले दुःख पाए, पाइरहेकै छन्।’

उनी अनुसार भाषा आन्दोलनमा 80 प्रतिशत तथ्यपरक, बौद्धिक र 20 प्रतिशत भावुकता थियो तर गोर्खाल्याण्डको आन्दोलनमा 20 प्रतिशत तथ्यपरक, बौद्धिक र 80 प्रतिशत भावुकता भरियो। भावुकतामा टुङ्गोतिर लैजाने क्षमता त हुँदैन नै, सुखतिर लैजाने क्षमता कसरी हुन्थ्यो?

लामा स्पष्ट थिए, भारतीय गोर्खाहरूको जुन चिह्नारीको सङ्कट हो, त्यो 1950 को भारत-नेपाल सन्धिको धारा 6 र 7-ले निम्त्याएको समस्या हो। उनले धेरै पार्टी, सङ्घसंस्थालाई यसबारे गम्भीर हुने आग्रह गरे तर कोही गम्भीर बनिदिएनन्।

‘जब जब पनि राम्रो राम्रो अवसर पायौं, आफ्नो कुरा राख्ने, सप्पै गुमाउँदै आयौं,’ भने लामाले, ‘अबको आन्दोलन भावुकताले होइन, तथ्य र बौद्धिकताले नै सफल हुनेछ।’

1950 को भारत-नेपाल सन्धिबारे काम गर्ने प्रबुद्ध समितिमा रहेका लामालाई राजनैतिक दलहरूले यसभित्रका धाराहरूले पारेका समस्याबारे बौद्धिकरूपले कुरा उठाउन् भन्ने लागेको थियो, कसैले पत्तो दिएनन्। उनलाई यसपल्टको आन्दोलन पनि बौद्धिक र राष्ट्रीयरूपको होस् भन्ने लागेको थियो, त्यसमा पनि कसैले पत्तो दिएनन्।

‘जीएमसीसी त लोकल बडी हो, उसले भनेको कुरा पनि लोकल नै हुन्छ र सामाधान पनि लोकल,’ लामा स्पष्ट छन्, ‘पुराना ऐतिहासिक महाभूलहरू सच्याएर अथवा त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने आन्दोलन फेरि पनि अर्को महाभूलतिरै लम्किरहेछ। कस्सैलाई मतलबै छैन, यो अचम्म मान्नुपर्ने कुरा हो तर कसले मान्ने अचम्म?’

लामालाई आन्दोलन नेतृत्व गर्ने सङ्गठन नै लुते लाग्छ। यसको चरित्र कुवातिरै उफ्रिबस्ने लाग्छ। देशभरिका विभिन्न विषयमा पोख्त, अनुभवी र काम गर्न जान्ने र बुझ्ने व्यक्तिहरूलाई समेटेर अघि बढ्नुपर्ने संस्थालाई लोकलस्तरीय बनाएकोमा उनलाई चिन्ता लागेको छ।

उनले ती संस्थामा बसेर काम गर्ने मन पनि बनाएकै हुन्, तर संस्थाको मन नै ठूलो र फराकिलो नदेखेपछि हैरान बनेका हुन्।

आन्दोलनको शक्ति र क्षमतालाई खुम्च्याएर राखिएको, बौद्धिकहरूको निम्ति वातावरण नै नबनाइएको, आन्दोलित संस्थाको चरित्र नै शङ्कास्पद बनेको, गर्नुपर्ने कामतिर नगएर नगर्नुपर्ने कामतिर कुदिरहेको स्थितिलाई उनी निक्कै सङ्कटसम्पन्न मान्छन्।

‘बौद्धिकहरूको काम खै? शिक्षकहरू, अभियन्ता, प्राचार्य, लेखक, उकिल, अवकासप्राप्त उच्चाधिकारीहरूको आवाज कसले थुत्यो?, उनले भने, ‘कै सप्पै मिलेर यसपालिको आन्दोलन पनि तुहाउन चाहान्छन्? प्रिय विद्यार्थीहरू हो, अब गम्भीर हुने समय आयो।’

त्यसो भने के गर्नुपर्ने त?

लामाले सप्पै भनिसकेर यसको उत्तर पनि दिए। ‘संस्थालाई राष्ट्रीय र बौद्धिकसम्पन्न नबनाएसम्म, आन्दोलनको पुरै रुपरेखा लिएर अघि नबढेसम्म, सप्पैलाई समेटेर नबढेसम्म, एक्लैले र लोकल संस्थाले मात्र मुद्दालाई पार तार्न सकिन्न,’ उनी भन्छन्, ‘सप्पै मिलेर इमान्दार र प्रतिबद्धतासित अघि बढेमात्र लक्ष्य पुग्न सकिन्छ नत्र फेरि पुरानै इतिहास दोहोरिनेछ।’

यता राजा पुनियानीलाई यो समस्या दलीय र व्यक्तिगत इगोहरूको उपार्जन हो भन्ने लाग्छ। ‘युद्धमा जाँदा चाहिने अन्तिम हतियार सामान्य दुश्मन मार्न प्रयोग गरिन्छ, जब असली दुश्मन सामु पर्छ, उसकोमा लड्ने शक्ति पनि सकिएको हुन्छ, हतियार पनि,’ उनले विद्यार्थीहरूलाई सुनाए, ‘हो, यस्तै भयो आन्दोलन।’

यता टीका भाइले जनाकांक्षालाई बुझेर मात्र आन्दोलनको आचरण तय हुनुपर्ने भन्छन्। यद्धपि चलिरहेको आन्दोलनलाई दिशा प्रदान गर्न सबैले आफ्नो हिस्साको योगदान गर्नै पर्ने उनलाई लाग्छ।

‘दुइवटा काम गर्नुहोस्, आन्दोलनको चरित्र बुझ्नुहोस् र भइरहेको भूलबारे खबरदार गर्ने विद्यार्थी शक्ति तयार पार्नुहोस्,’ यता मनोज बोगटीले पनि भने, ‘दिल्लीका अन्यभाषी बौद्धिकहरूबाट आइडिया लिनुहोस्, उनीहरूसित अन्तरक्रिया गर्नुहोस् अनि देशमा नै गोर्खाहरूको संस्थालाई बलियो बनाउनुहोस्।’

जेएनयुका गोर्खा विद्यार्थीहरूले कार्यक्रमबाट जे पाउने आशा गरेका थिए उनीहरूले पाए। एक विद्यार्थी भन्छन्, ‘अहिलेसम्मका भाषा मान्यता दिवस कार्यक्रमहरू मध्ये यो नै पहिलो हो, जसले दिमाग हल्लायो।’

वास्तवमा उनीहरूको दिमाग त कवि टीका, राजा र मनोजका कविताहरूले पनि हल्लिएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन