पहाड़का राजनैतिक पार्टीहरुले आ-आफ्नो लिँड़ेढिप्पी छोड, बन्दमाथि पुनर्विचार गर- माकपा

दार्जीलिङः माकपा (मार्क्सवादी कम्युनिष्ट पार्टी) दार्जीलिङ जिल्ला कमिटीले पहाड़का गोर्खाल्यान्ड आन्दोलनमा ओर्लिएका सबै पार्टीहरुलाई पहाड़ बन्दमाथि पुनर्विचार गर्ने अपील गरेको छ। यसका साथै माकपाले दार्जीलिङ पहाड़मा भएका अलग-अलग विष्फोट काण्डको भर्त्सना गर्दै यसमाथि पुलिस प्रशासनले निष्पक्ष बनेर जाँच गर्नुपर्छ भन्ने माग पनि गरेको छ। आज माकपा दार्जीलिङ जिल्ला कमिटी सचिव मण्डली सदस्य केबी वातरले भने-दार्जीलिङ पहाड़को शान्त परिवेश बिगार्नको लागिनै पहाड़मा विष्फोट काण्डहरु भइरहेका छन्। तर पुलिसले सही अपराधीको खोजी गर्नको साटो गोजमुमो अध्यक्ष विमल गुरूङ विरूद्धनै एफआईआर दर्ता गर्नु पुलिसको सही निर्णय भएन। पुलिसको यस्तो गलत निर्णयले यस विष्फोट काण्डका मूल अपराधीहरु भाग्न सफल बन्नेछन्, यसैले पुलिस प्रशासनले निष्पक्ष बनेर यस विष्फोट काण्डको जाँच गर्नुपर्छ।

उनले गोर्खाल्यान्ड आन्दोलनकारीहरूलाई राज्यको पुलिस प्रशासनले हिंसात्मक कार्य गर्न उक्साइरहेको आरोप लगाउँदै भने-गोर्खा जाति देशभक्त जाति हो, यस जातिले कुनै पनि स्थितिमा राष्ट्रविरोधी कार्य गर्न सक्तैन। यदि कुनै षड़्यन्त्रकारीहरुले यसप्रकारको कार्य गर्न उकास्दैछ भने पहाड़का गोर्खा सन्तान अनि गोर्खाल्यान्ड राज्य गठनका पक्षधर सम्पूर्ण पार्टीहरूले गम्भीर बनेर सोंच्नुपर्छ। यस आन्दोलनलाई गणतान्त्रिक अनि शान्तिपूर्ण ढङ्गले अघि बढाउनुपर्छ। उनले अझै अघि भने-राजनीतिमा एक कदम अघि अनि दुइ कदम पछिको नीतिलाई पनि अवलम्बन गर्न आवश्यक छ। कुनै समय राजनैतिक पार्टीहरुले जनहितमा दुइ कदम पछि सर्ने निर्णय पनि लिनुपर्छ अनि कहिले एक कदम अघि बढ्नु पनि पर्छ।

यसैले पहाड़का राजनैतिक पार्टीहरुले आ-आफ्नो लिँड़ेढिप्पीलाई छोड़ेर जनताको हितमा अनिश्‍चितकालीन पहाड़ बन्दमाथि पुनर्विचार गर्नैपर्छ। किनभने, पहाड़का धेरै जनताको आर्थिक अवस्था डाँवाडोल बनिसकेको छ, खाद्यान्नको संकट विकट बन्दै गइरहेको छ। यस्तो स्थितिमा जनतलाई सबै क्षेत्रमा राहत दिनको लागि यस बन्दमाथि पुनर्विचार गर्नुपर्छ। उनले राज्यको तृणमूल काङ्ग्रेस सरकारले पहाड़का आन्दोलनकारी राजनैतिक पार्टीहरुसित वार्ता गर्ने माहौलनै बनाउन नचाहेको बताउँदै भने-राज्य सरकारले पहाड़को स्थितिलाई यस्तै राखेर पहाड़का जनताको समस्या समाधाननै गर्न चाहेको छैन। यसैले पहाड़ समस्यामाथि केन्द्र सरकारलेनै ध्यान दिनुपर्छ अनि यसमाथि शीघ्र हस्तक्षेप गर्नुपर्छ। उनले भने-गोर्खाल्यान्ड कानून व्यवस्थाको समस्या हो। यो एक राजनैतिक समस्या हो र यसलाई राजनैतिकरूपमानै समाधान गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन