राकेश रावतलाई ‘गार्ड अफ् अनर’-सितै दिइयो श्रद्धाञ्जलीः बम विस्फोटकाण्डपछि पुलिस प्रशासन बन्यो कठोर

प्रज्ज्वल छेत्री

कालेबुङ, 21 अगस्त।

राकेश रावतलाई आज पश्चिम बङ्गाल पुलिसद्वारा ‘गार्ड अफ् अनर’-सहित श्रद्धाञ्जली अर्पण गरियो। शनिबार राती कालेबुङ थानामा भएको बम विस्फोटकाण्डमा परेर सिभिक पुलिस राकेश रावतको मृत्यु भएको थियो। उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रावतको शव पोष्टमर्टम गरेपछि आज कालेबुङ ल्याइएको थियो। कालेबुङ जिल्लापाल डा. विश्वनाथ, जिल्ला पुलिस अधिक्षक अजीत सिंह यादव लगायत अन्य पुलिस अधिकारीहरूको उपस्थितिमा स्व. रावतलाई कालेबुङ थाना परिसरमा ‘गार्ड अफ् अनर’-सितै श्रद्धाञ्जली अर्पण गरियो।

पुलिस प्रशासनद्वारा श्रद्धाञ्जली अर्पण गरिएपछि स्व. रावतको शव यहाँको इस्टमेनरोडमा अवस्थित उनको निवासमा लगिएको थियो। आज नै उनको अन्तिम संस्कार पनि गरियो। स्व. रावतको परिवारमा बाबा-आमा अनि दुई दाजु अनि एकजना भाइ रहेका छन्।

‘यो अत्यन्त दुःखदायी घटना भएको छ, ड्यूटीमा रहेकै समय हामीले आफ्नो छोरालाई गुमाएका छौँ’- राकेशका बाबा अशोक रावतले भने, ‘घटनाको सही जाँच हुनुपर्छ।’

उनले बम विस्फोटकाण्डको सही जाँच हुनुपर्ने भन्दै स्व. रावतले ड्यूटीकै समय आफ्नो प्राण गुमाएका कारण सरकारद्वारा परिवारपक्षलाई सहुलियतस्वरूप सरकारी नोकरी दिनुपर्ने पनि माग गरेका छन्।

केही समयअघि स्थानीय दिपा रावतसित राकेश रावतको मङ्गनी भएको थियो भने आगामी दिसम्बर महिनामा उनीहरूको बिवाह हुने निश्चित थियो। जतिबेला बम विस्फोटकाण्ड भयो त्यसबेला पनि उनी आफ्ना मङ्गेतरसित फोनमा कुरा गरिरहेका थिए। त्यसै समय अचानक बम पड्किएको आवाज आएको दिपा रावतले बताइन्।

कालेबुङ थानामा भएको बमकाण्डपछि कालेबुङको स्थिति एकाएक अझ तनाउपूर्ण बन्दै गइरहेको छ। पुलिस प्रशासन अझ कठोर बनिरहेको छ। कालेबुङ थाना परिसरमा व्यापक रूपमा सुरक्षा बल परिचालन गरिएको छ। थाना परिसर भएर बाहनहरू मात्र होइन मानिसहरूलाई पनि हिँड्नमा रोक लगाइने काम भइरहेको छ।

पुलिस प्रशासनले थाना परिसरमा ब्यारिकेट लगाएर गस्ती दिइरहेको कारण हिजोदेखि मोर्चाको जुलूस जिल्लापाल कार्यालय अघिसम्म जान सकिरहेको छैन। यसअघि दैनिक रूपमा नै मोर्चाको जिल्लापाल कार्यालय घेराउको कार्यक्रम चलिरहेको थियो। आज मोर्चाले जुलूसलाई विपरित दिशातर्फ मोड्दै 10 माईल परिसर घुमेर फर्केपछि डम्बरचोकमा नै पथसभाको आयोजना गरेको थियो। पथभालाई सम्बोधन गर्दै विधायक सरिता राईले बम विस्फोटकाण्डको उच्च स्तरीय जाँच हुनुपर्ने माग दोहोऱ्याइन्। उनले यो मोर्चा अनि गोर्खाल्याण्डलाई बद्नाम गर्ने षड्यन्त्र रहेको हुनसक्ने बताउँदै मोर्चाको सिद्धान्तभित्र हिँसाको राजनीति नरहेको बताइन्। उनले आज पुनः यदि पश्चिम बङ्गाल सरकारद्वारा वार्ताको आधिकारिक निमन्त्रणा पाएको खण्डमा वार्तामा जाने कुरा पनि दोहोऱ्याइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया