राज्यलाई अपील नगर्ने आह्वानः दुइजनाको पक्राउ

दार्जीलिङः वार्ताको लागि राज्य सरकारअघि अपील गर्न नहुने क्रामाकपाको अड़ान छ। पार्टीले भनेको छ-यदि राज्य सरकार आफैले गोर्खाल्यान्ड राज्य गठनको लागि वार्ता बोलाउँछ भने त्यसलाई स्वीकार गर्नुपर्छ, तर राज्यले वार्ता बोलाउनुपर्छ भन्ने अपील गरिरहन आवश्यक छैन। हामीले गोर्खाल्यान्डको माग उठाएर कुनै भूल गरेका छैनौं अनि वार्ताको लागि राज्य सरकारसमक्ष अपील गरिरहनु पनि हुँदैन। आज क्रामाकपा नेता सुनिल छेत्रीले यहाँको चौकबजारमा आयोजित पथसभालाई सम्बोधन गर्दै यसो भनेका हुन्।

यसरीनै क्रामाकपा नेता अशोक गजमेरले पनि जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-लाई अलग राज्य गोर्खाल्यान्डको लागि आगामी आन्दोलनात्मक कार्यक्रम तय गर्ने आह्वान गर्दै यसको लागि जनता तयार रहेको बताए। उनले भने-गोर्खाल्यान्डको लागि जनता अझै गम्भीर छन् भन्ने विषय गत 20 अगस्तको घट्नापछि जनतामा आएको जोश र उत्साहबाट स्पष्ट भएको छ।

20 अगस्त भाषा दिवसको अवसरमा चौकबजारमा जनसभा भइरहेको थियो, तर त्यस दिन पुलिसले यस कार्यक्रममाथिनै आक्रमण गरेको थियो। यसपछि 21 अगस्तदेखि हुने जनसभा अनि जुलूसमा जनताको सहभागिता पूरै घटेर जाने धेरैले सम्भावना प्रकट गरिरहेका थिए, तर जनताले व्यापक संख्यामा सहभागिता जनाएर गोर्खाल्यान्डप्रति आफ्नो प्रतिवद्धता दर्शाएका छन् अनि गोर्खाल्यान्डको लागि गोर्खा समुदाय साँच्चै इमान्दार छन् भन्ने स्पष्ट भएको छ। यसैले अब पहाड़का नेताहरुले गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरे, उनीहरुलाई जनताले सुकुनादेखि पहाड़ पस्नै दिने छैनन्।

यसैले नेता सतर्क रहनुपर्छ, जनतालाई धोका दिने कार्यलाई कदापि स्वीकार गरिनेछैन। उनले भने-अहिले जीएमसीसीले आन्दोलनको कुनै कार्यक्रम तयार पारेको छैन, जसको कारण जनताले सही कार्यक्रमको जानकारीनै पाएका छैनन्, यसैले अब आगामी दिनमा हुने कार्यक्रमहरु जीएमसीसीलेनै तय गर्नुपर्छ। सिंहमारी नवीन ग्राम निवासी सुवास विश्‍वकर्म (34) र राजबाड़ी निवासी दीपसिंह रसाइली (19)-लाई पुलिसले पुरानो मामिलामा पक्राउ गर्यो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया