सुकेपोखरीमा विस्फोट:मङ्पुमा आगो, सुकेपोखरीमा पुलिसले घर, गाडी तोडेको आरोप

दार्जीलिङ,  24अगस्त।

दार्जीलिङ र कालेबुङपछि सुकेपोखरी बजारमा पनि हिजो मध्य राती विष्फोट भयो। पुलिसले यहाँ ग्रिनेड विष्फोट भएको बताएको छ भने गोर्खा जनमुक्ति मोर्चाले यस विष्फोट काण्डको खुलेर विरोध जनाएको छ। पुलिस सूत्रले बताएअनुसार, बिहीबार बिहान लगभग 2 बजीतिर सुकेपोखरी थानाअघिको एउटा गल्लीबाट कसैले विष्फोटक फ्याँकेर भागेको थियो, जुन विष्फोटक थानाअघि लगाइएको साइन बोर्डमा लागेर भुइँमा झरेर विष्फोट भएको थियो। तर यस विष्फोटमा परेर कसैको ज्यान नगए यसका चोइटाहरुले लागेर केही गाड़ीहरुलाई क्षति पुगेको छ। तर यस विष्फोटपछि सुकेपोखरी बजार अनि गैरीगाउँ क्षेत्रमा व्यापक उत्पात मच्चाएको, कतिपय घर र गाड़ी तोड़फोड़ गरेको अनि पुलिसले हानेको ढुङ्गाले लागेर 86 वर्षीया देवमाया छेत्रीको अनुहारमानै चोट लागेको स्थानीय जनताले आरोप लगाएका छन्। यस घट्नाको गोजमुमोले कठोर शब्दमा विरोध जनाउँदै पुलिस प्रशासनले निर्दोष जनतालाई आतंकित तुल्याउने कार्य गर्न नहुने अपील गरेको छ। गोजमुमो सहसचिव विनय तामाङले भने-गोजमुमो पहाड़मा कुनै अगणतान्त्रिक कार्य नहोस् पक्षमा छ। यसैले दार्जीलिङमा बम विष्फोट हुनसाथ पार्टीले यस विरूद्ध निष्पक्ष उच्च स्तरीय जाँच होस् भन्ने माग गर्दै केन्द्रिय गृहमन्त्रीलाई पत्राचार पनि गरेको छ। यसैले सुकेपोखरीमा भएको विष्फोट काण्डमाथि पनि उचित जाँच हुनपर्छ। उनले भने-यस विष्फोट काण्डपछि पुलिसले सुकेपोखरी क्षेत्रका धेरैवटा घर, गाड़ी आदि तोड़फोड़ गरेको स्थानीय बासिन्दाहरुले बताएका छन्, यसैले पुलिसले यसप्रकारको अनुचित कार्य गरेर जनतालाई आतंकित बनाउन हुँदैन। यसप्रकारको घट्नामा जो दोषी छन्, उनीहरुलाई खोजेर उचित सजया दिनुपर्छ, तर निर्दोष जनताको घर तोड़्ने, उनीहरुलाई आतंकित बनाउने कार्य गर्न उचित होइन। यसबारे सुकेपोखरी गैरीगाउँ निवासी विधशान तामाङले राती 2 बजीको विष्फोट काण्डपछि पुलिसले यस गाउँका कैयौं घरमा तोड़फोड़ मच्चाएको आरोप लगाउँदै भने-रातीको लगभग 2 बजीतिर भयावह आवाज सुनियो। यसको लगभग 15 मिनटपछि बंगला भाषा बोल्ने पुलिसकर्मीहरु गाउँमा आएर घर र गाड़ीहरु तोड़्न शुरू गरेका थिए। यदि यस समय गाउँलेहरु नभागेको भए पुलिसले निर्दोष जनतामाथि गोली पनि चलाउन सक्थ्यो। यसरीनै शरण छेत्रीले पुलिसले आफ्नो घरको ऐना फुटाएर घरभित्र पसेको ढुङ्गाले लागेर आफ्नी 86 वर्षीया आमा देवमाया छेत्री घाइते बनेको बताए। उनले भने-विष्फोटको आवाज सुनेपछि मेरी आमा पनि पलङ्गबाट उठिन् अनि बत्ती बालिन्। बत्ती बाल्नसाथ बाहिरबाट आएको ढुङ्गाले लागेर मेरी आमाको अनुहारमानै चोट लागेको छ। उनले विष्फोट काण्ड गराउने अनि आतंक मच्चाउने काम स्वयं पुलिसले गरिरहेको पनि आरोप लगाएका छन्। पुलिसले यस घट्नामा ग्रिनेड प्रयोग गरिएको प्राथमिक अनुमान लगाएको छ भने यसमा कसको हात छ भन्नेबारे खोजी अभियान शुरू भएको पनि पुलिसले बताएको छ। स्मरण गराइन्छ, गत केही दिनअघि दार्जीलिङको मोटर स्ट्यान्डको मध्यमानै प्रथम विष्फोट भएको थियो, जसमा पुलिसले आईईडी (इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस) प्रयोग गरिएको अनुमान लगाएको थियो भने यसपछि कालेबुङ थानाअघि अनि आज सुकेपोखरीको थानाअघिनै विष्फोट भएको छ। जसमध्ये दार्जीलिङ विष्फोट काण्डमा पुलिसले गोजमुमोका शीर्ष नेतृत्वहरुको संलग्नता रहेको आरोप लगाएको थियो भने कालेबुङ काण्डमा पनि गोजमुमोमाथिनै दोष थोपिएको छ। तर यसपछि लगत्तै गोजमुमो अध्यक्ष विमल गुरूङले विष्फोट काण्डको भर्त्सना जनाउँदै यसमाथि उच्च स्तरीय निष्पक्ष जाँच गराउनुपर्ने माग गर्दै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसमक्ष पत्राचार पनि गरिसकेका छन्। यसपछि गोजमुमोले लगातार पहाड़मा भइरहेका विष्फोट काण्डहरुमा पुलिस प्रशासनमाथिनै शङ्काको दृष्टिले हेरिरहेको छ भने पुलिसले गोजमुमोलाईनै यसमा आरोपी मानिरहेको छ। यसैले जनतामा आतङ्कसँगै अन्यौलता पनि छाइरहेको छ। यसैबीच, अर्कोतर्फ हिजो मध्य रातीनै मङ्पू सिन्कोना बगानको सिन्कोनाका बोक्रा आदि राख्ने गोदाम जलेर खरानी भएको छ। यस गोदाममा आगो लगाइएको हो भन्ने मङ्पूवासी जनताको भनाई छ। ब्रिटिशकालमानै सिन्कोनाका बोक्राहरु राख्न वा सुकाउनको लागि काठले बनाइएको यस गोदामको चारतिर ईंटाका खाँबोहरु थिए, तर आगोले यस गोदामका सम्पूर्ण काठहरु नष्ट भएपछि ईंटाका खाँबोहरु मात्रै बाँचेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन