जीएमसीसीको बैठकमा गएन जापः राज्यले बोलाएको वार्तामा जाने-नजाने अझै अस्पष्ट

कालेबुङः जन आन्दोलन पार्टीले आज भइरहेको गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी(जीएमसीसी) को बैठकमा अङ्शग्रहण गरेन। जन आन्दोलन पार्टीका प्रवक्ता टाँसी शेर्पाले आज उक्त निर्णयबारे अवगत गराउँदै बैठकको मसौदा नै औचित्यहीन रहेको बताएका छन्।

“बैठकको निम्ति हामीलाई संयोजक कल्याण देवानले अवगत गराएका थिए। उनले बैठक डाक्नुको मुख्य कारणहरू 29 तारीखको बैठक अनि बन्द विषय रहेको बताए। उक्त दुवैवटा मसौदा जीएमसीसीको नरहेकाले गर्दा नै हामीले बैठकमा भाग नलिने निर्णय लिएका हौं”-टाँसी शेर्पाले भने। उनले बताएअनुसार 29 तारीख राज्यले बोलाएको बैठक जीएमसीसीलाई होइन तर अलग-अलग राजनैतिक दलहरूलाई पत्राचार गरेर निम्ताइएको हो। जसमा कतिपय राजनैतिक दलहरूलाई नबोलाइएकोले जाने-नजाने निर्णय राजनैतिक दलहरूको आफ्नो रहेकोले जीएमसीसीले यस कुरामा बैठक गर्नु औचित्यहीन रहेको छ।

पहाडमा डाकिएको बन्द खोल्ने-नखोल्ने निर्णय गोजमुमो अनि विमल गुरूङ बाहेक अन्य कसैले पनि गर्न सक्दैन भनेर गोजमुमोले अघिबाटै निरन्तर रूपमा भन्दै आइरहेकोले अनि जीएमसीसीले पनि अघिबाटै बन्द खोल्ने-नखोल्ने निर्णय गोजमुमोमाथि छोडिसकेकोले उक्त विषयमा चर्चा गर्नु पनि औचित्यहीन रहेको शेर्पाले बताए।

“जीएमसीसीको हामी साथमा छौं, रहनेछौं तर यस्ता औचित्यहीन कुराहरूमाथि चर्चा गर्न बैठक डाकिन्छ भने हामी त्यसमा सहभागिता जनाउने छैनौं”-उनले भने। कतिपय कुराहरूमा जीएमसीसीको निर्णयदेखि आफूहरू असन्तुष्ट रहेको पनि उनले आज स्पष्ट रूपमा बताए। “जीएमसीसी डिसिसन बनाउने होइन तर सजेसन दिने कमिटी जस्तो मात्र भएको छ”- उनले यसरी जीएमसीसीको कार्यप्रणालीमाथि पनि असन्तुष्टी व्यक्त गरे।

जाप आफै 29 तारीख राज्यले बोलाएको बैठकमा जाने-नजाने भन्नेबारे अझसम्म पार्टीले निर्णय नलिएको यद्यपि प्रत्येक ब्लकहरूमा पार्टीले जनसाधारणको मत लिएर यसको निर्णय लिने तय भइसकेको बताए। भोलिदेखि नै पार्टीको ब्लक कमिटीहरूले जनसाधारणको मत बटुल्ने अनि सोही अनुसार निर्णय लिइने उनले बताए। जापलाई राज्य सरकार पक्षबाट पत्र भने आइसकेको जानकारी पनि उनले दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन