एउटा दललाई होइन जीएमसीसीलाई नै बोलाउनुपर्छ, केवल ममता व्यानर्जीसित मात्र वार्तामा बस्नेछौः बन्द खोल्ने नखोल्ने हक मोर्चाकै  हो-जीएमसीसी

कालेबुङः यहाँको एक होटलमा बैठक बसेको गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटीले कुनै एउटा दललाई होइन जीएमसीसीलाई नै बोलाए मात्र वार्तामा बस्ने निर्णय लिएको छ।

जीएमसीसीभित्रका घटक दलको कुनैलाई बोलाउनु कुनैलाई नबोलाउनुमा राजनैतिक षडयन्त्र रहेको बुझेर नै यस्तो निर्णय लिएको जीएमसीसीका संयोजक कल्याण देवानले बताएका छन्।

सबै दल जीएमसीसीभित्र रहेर आन्दोलन गरिरहेको छ, देवानले भने, यसकारण राज्यले यसबारे वार्तामा बोलाउँछ भने जीएमसीसीलाई नै बोलाउनुपर्छ। अँ, सबै दललाई व्यक्तिगतरूपले निमन्त्रणा आयो भने फेरि 27 अगस्त जीएमसीसीले बैठक गरेर वार्तामा जाने नजानेबारे निर्णय गर्नेछ। तर अहिलेलाई भने सबै दल रहेको जीएमसीसीलाई नै निमन्त्रणा पठाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो।

अर्कोतिर चलिरहेको अनिश्चितकालीन बन्द मोर्चाले डाकेको अनि पछिबाट जीएमसीसीले यसलाई निरन्तरता दिएको भए पनि बन्द खोल्ने नखोल्ने भन्नेबारेको निर्णय भने जीएमसीसीले नगर्ने पनि देवानले बताए।

बन्द मोर्चाको कार्यक्रम हो। यसलाई जारी राख्ने वा खोल्नेबारे मोर्चाले सकरात्मकरूपमा जे निर्णय गर्छ, जीएमसीसीको त्यसैमा सहमति र समर्थन रहनेछ, देवानले भने, आजको बैठकमा उप्रान्त एकला एकलै कार्यक्रम नगरेर जीएमसीसीकै व्यानरमा संयुक्तरूपले आन्दोलनको कुनै पनि कार्यक्रम गर्ने निर्णय पनि लिएको छ।

देवानले जीएमसीसीले बम विस्फोट काण्डबारे पनि कमिटीले विरोध जनाउने बताए। उनले आन्दोलनलाई राष्ट्रद्रोही बनाउन विस्फोट गरिएको अनि यसमा जो पनि संलग्न छ, उसलाई पक्रिएर दण्ड दिइनुपर्ने माग पनि गरेका छन्।

एनआईले निष्पक्षरूपमा यसबारे जाँच गर्नुपर्छ, जो संलग्न छ उसैलाई मात्र पक्रिनुपर्छ, उनले भने, दोषी खोज्नमा जीएमसीसीले पुलिसलाई पूर्णरूपले सहयोग गर्नेछ।

उनले पुलिस प्रशासनले संवेदनशील क्षेत्रमा सीसीटिभी जडान गर्नुपर्ने पनि अनुरोध गरेका छन्। 

बैठकमा चर्चाको केन्द्रमा गोजमुमो र गोरामुमो

देवानले आजको बैठकमा गोरामुमो र जोगमुमोका निर्णय र पत्रबारे व्यापक छलफल भएको बताए। गोरामुमो आफैमा जीएमसीसीको घटल दल हो, जसले मुख्यमन्त्रीलाई पत्र पठाएपछि अहिले वार्तामा जाने कि नजाने भन्ने कुरामा जीएमसीसीको टाउको दुखेको छ। टाउको यसकारण दुखेको छ कि ममता व्यानर्जीले केवल चारवटा दललाई मात्र निमन्त्रणा पठाएको छ। यता गोजमुमो सहसचिवले मुख्यमन्त्रीलाई पत्र लेखेर मोर्चा पनि वार्तामा बस्छौं भनिसकेका छन्, तर आन्दोलन हाँकिरहेको जीएमसीसीलाई भने राज्य सरकारले पत्तो दिएको छैन।

बैठकमा आएका गोरामुमो नेता निरज जिम्बाले आफ्नो दलले गृहमन्त्री राजनाथ सिंहको अनुरोधलाई सम्मान गर्दै सङ्घीय राजनैतिक प्रणालीभित्र बसेर निर्वाह गर्नुपर्ने धर्मलाई केन्द्र गरेर नै संवादको बाटो बनाउन गोरामुमोले मुख्यमन्त्रीलाई पत्र पठाएको जनाए।

जबसम्म राज्य सरकारसित संवाद हुँदैन तबसम्म केन्द्रसित संवाद नहुने भएकैले हामीले पत्र पठाएका हौं, जिम्बाले भने, हामीले पत्रमा जीएमसीसीलाई बोलाउन भन्न सकेनौं, यसकारण आन्दोलनकारी दलहरूलाई बोलाउनु भनेर लेखेका हौं।

यता विनय तामाङले वार्तामा बस्ने स्वीकृति रहेको पत्र लेखेको सम्बन्धमा कल्याण देवानले ममता व्यानर्जीले पहाडप्रति देखाएको सकरात्मक पहलप्रति सकरात्मक जवाब दिएको बताउँदै कुनै पनि एकजना नेता वा पार्टीले वार्तामा नबस्ने, बस्यो भने जीएमसीसी नै बस्ने आजको बैठकमा निर्णय लिइएको बताए।

के जीएमसीसीलाई निम्तो आएन भने जाँदैन? भन्ने प्रश्नको उत्तर दिँदै देवानले भने, सबै पार्टीले निम्तो पाए त्यो जीएमसीसीले नै पाएको हुनेछ।

गैर सरकारी सङ्गठन समवेश हुने छैन

यता निरज जिम्बाले वार्तामा केवल राजनैतिक दलमात्र जाने गैरसरकारी सङ्गठन गोर्खाल्याण्ड आन्दोलनको स्टेग होल्डर नरहेकोले उनीहरूलाई समावेश नगरिएको बताएका छन्। क्रामाकपा नेता अरूण घतानीले जब जनताको आकांक्षा रहेको छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुन्छ तब मात्र पहाडमा शान्ति बहाली र विकास हुने भएकोले यही कुरा बताउन वार्तामा जानुपर्ने बताए। यद्धपि क्रामाकपालाई निम्तो नआएकोले वार्तामा जाने-नजानेबारे केही बोल्न नसकिने पनि उनले बताएका छन्।

दागोपाप र जीटीए दुवै धोका भएको अनि अब गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता हुनुपर्ने माग वार्तामा उठाउने छौँ, देवानले भने, शान्ति र विकासको कुरा निम्तोमा छ, हामी शान्ति र विकास छुट्टै राज्यले मात्र हुन्छ भन्ने कुरा निर्धक्क वार्तामा राख्नेछौँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया